नेकपा एसका नेताहरुलाई एमालेमै फर्काउन उपमहासचिव गुरुङ सक्रिय
भञ्ज्याङ समाचारदाता/पोखरा

नेकपा एकीकृत समाजवादीबाट मंगलबार राजीनामा स्वीकृत भएपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै नेता चुडामणि जंगलीले भनेका थिए, ‘अब पार्टीमै लागेर राजनीति गर्ने भए एमालेमै फर्किएर गर्छु ।’
उनीसहित नेकपा एसका संस्थापक नेताद्वय मुकुन्द न्यौपाने र केदार न्यौपानेले पनि एमाले फर्किने संकेत गर्दै आएका छन्। केदारको राजीनामा स्वीकृत भइसकेको छ भने न्यौपाने छलफलमा छन् ।
यतिवेला उनीहरुसहित नेकपा एसका थप नेताहरुलाई एमालेमा फर्काउन उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सक्रिय देखिन्छन् । उपमहासचिव गुरुङ गण्डकी प्रदेशमा एकीकृत समाजवादीका बलिया मानिएका नेताहरुलाई एमालेमा फर्काउन छलफल तथा भेटघाट गरिरहेका छन् ।
एमाले स्रोतका अनुसार पोलिटब्युरो सदस्य एवं गण्डकी प्रदेश सचिव प्रतापलाल श्रेष्ठ, तनहुँका अध्यक्ष श्रीराम कार्की, एकीकृत समाजवादी तनहुँका पूर्वअध्यक्ष शंकरनारायण श्रेष्ठ एमालेमै फर्कने गरी छलफलमा छन् । ‘उहाँहरु आउन खोजिरहनु भएको छ, एमालेबाट कुन पद दिने छलफल भइरहेको छ । बिहीबार बस्ने पार्टीको सचिवालय बैठकले यस विषयमा निर्णय गर्ला’, स्रोतले भन्यो ।
गुरुङले एकीकृत समाजवादी तनहुँका नेताहरूसँग भेटेको तस्वीर बुधबार उनको सचिवालयबाट सार्वजनिक भएको छ । उक्त तस्वीरमा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ, जिल्ला अध्यक्ष श्रीराम कार्कीसहित मनमाया श्रेष्ठ, मंगलप्रसाद श्रेष्ठ, रनसिंह नेपाली लगायतलाई देख्न सकिन्छ । उक्त भेटघाट केही दिनअघिको हो ।
एकीकृत समाजवादीले तनहुँ १ मा बैशाख १० गते हुने उपनिर्वाचनमा टिकट नपाउने भएपछि केही नेताहरु एमाले फर्केर भए पनि चुनाव लड्न चाहन्छन् । एमाले पनि अर्को पार्टीबाट भित्र्याएर भए पनि उक्त क्षेत्रमा जीत निकाल्ने दाउमा देखिन्छ।
तनहुँ १ मा एमालेबाट किरण गुरुङ र पूर्वआइजीपी सर्वेन्द्र खनाललाई सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ । ‘किरणले चाहेको खण्डमा किरणले नै टिकट पाउने सम्भावना छ । तर, पार्टीलाई बलियो बनाउन अन्य पार्टीबाट ल्याएर पनि उक्त क्षेत्र सुरक्षित राख्ने कि भन्ने पनि छ’, एमाले स्रोतले भन्यो ।










