“म बदलिए मेरो देश बदलिने छ” भन्ने मान्यतासहित सामाजिक काममा खट्टएिका सुदीप

तनहुँको व्यास नगरपालिका-२ बागबजारका सुदीप गफ्फारको पहिचान फेरिँदै छ । कहिले खोलामा फोहर टिप्ने अभियान त कहिले सामाजिक सुरक्षा भत्ता लिन जाने ज्येष्ठ नागरिकको सहजताका लागि सवारी साधन उपलब्ध गराउनमा खट्टनिे उनेको अहिलेको दैनिकी छ।
सार्वजनिक, धार्मिक तथा पर्यटकीय क्षेत्रमा थुप्रिएका फोहर व्यवस्थापन गरी स्थानीयस्तरमा परिचित उनि हिजोआज जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवा लिन आउने ज्येष्ठ नागरिकलाई निःशुल्क भोजन गराउने अभियानमा व्यस्त छन् । राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गर्न बिहान ६ बजेदेखि उक्त कार्यालयमा आउने ज्येष्ठ नागरिक भोकभोकै बस्नुपरेको देखेपछि उनले शुक्रबारदेखि निःशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिरहेका छन् । उनले भने, ‘सामाजिक काममा आफूलाई व्यस्त राख्न पाउँदा निकै आत्मसन्तुष्टि हुन्छ, त्यसैले यस्तै काम गर्ने बानी लागिसक्यो । यहीक्रममा अहिले जिल्ला प्रशासनमा आउने नागरिकलाई निःशुल्क खाना उपलब्ध गराइरहेको छु ।’
यहाँ दैनिक चार सयभन्दा बढी सेवाग्राही राष्ट्रिय परिचयपत्रका लागि आउने गरेका छन् । त्यसमध्ये एक सयले मात्रै सेवा पाउँछन् । बिहानैदेखि पोलो कुर्न बस्नुपर्ने र खाना खाने समय नमिल्ने भएकाले गफ्फारले कार्यालय नजिकैको चौतारामा निःशुल्क खाना खुवाउने व्यवस्था मिलाएका छन् । उनले भने, ‘सेवा लिन आउनेहरू बिहानैदेखि भोकभोकै बस्नुपरेको रहेछ, त्यसैले शुक्रबारदेखि सेवा लिन आउने सम्पूर्णलाई खाना खुवाउने व्यवस्था मिलाएको छु । यो अभियान अर्न्तर्गत शुक्रबार ९०, आइतबार तीन सय र सोमबार ३५० जनाले निःशुल्क खाना खाएका छन्, मंगलबार र बुधबार पनि यो अभियान जारी रहृयो ।’
सुरूमा एक्लै अभियानमा लागे पनि अहिले विभिन्न व्यक्ति तथा संघसंस्थाले हातेमालो गरेको उनले बताए । गफ्फर भन्छन्, ‘मलाई देश तथा विदेशमा रहनुभएका शुभचिन्तकले खानाको व्यवस्थापनका लागि आर्थिक सहयोग गरिरहनुभएको छ । प्रशासनमा जबसम्म भीड हुन्छ र यो समस्या रहन्छ, तबसम्म निःशुल्क खाना खुवाइरहने छौँ ।’
उनले नेपालमा सामाजिक काम गर्ने पवित्र सोच भएकाहरूलाई स्रोतको अभाव नहुने उनको भनाइ छ । उनले भने, ‘काम गर्ने सोच मनभित्रैबाट आउनुपर्छ, कसैलाई देखाउनका लागि मात्र गरिने कामले सन्तुष्ट दिँदैन । यो काम गर्नुपर्छ भनेर लागेपछि पूरा गरेरै छाड्ने बानी छ । यो अभियानमा म एक्लो छैन । देश विदेशबाट सहयोग पाइरहेको छु ।’
गफ्फारले ‘म बदलिए मेरो देश बदलिने छ’ भन्ने मान्यतासहित समाजसेवाका अभियान अगाडि बढाइरहेका छन् । सबैभन्दा पहिले आफू बदलिनुपर्छ अनि अरुलाई बदलिनका लागि सहयोग पुग्छ भन्ने सन्देश फैलाउन आफूले समाजसेवालाई रोजेको गफ्फरको भनाइ छ। गफ्फारले केही समयअघि दमौली बजार क्षेत्रको फोहर व्यवस्थापन नहुँदा चोक-चोकमा गएर छरिएको फोहरमैला एकत्रित गरी सहयोग पुर्याएका थिए । त्यस्तै उनले धार्मिक पर्यटकीयस्थल कालिका, मानुङकोट लगायतका क्षेत्रमा सरसफाइ गर्दै आएका थिए।
गत वैशाख २९ गते बुल्दीखोलामा र जेठ ५ गते चुँदीखोलामा उनकै नेतृत्वमा बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको थियो । दमौलीस्थित बुल्दीखोला सरसफाइ अभियानका क्रममा सात हजार किलोग्राम फोहर संकलन भएको थियो भने बन्दीपुर र भानुको सिमानास्थित चुँदीखोलामा पाँच हजार किलो फोहर संकलन भएको थियो ।
व्यास नगरपालिकाका पूर्वप्रवक्ता मोहनकुमार श्रेष्ठले गफ्फारले आफूलाई सामाजिक अभियान्ताका रूपमा प्रमाणित गरेको बताए । उनले भने, ‘हिजोका दिनमा एउटा सामान्य युवाको रूपमा परिचित उहाँ अचेल युवा अभियन्ता तथा समाजसेवीका रूपमा आफ्नो पहिचान बनाउँदै हुनुहुन्छ । समाज बदल्ने सोच लिएर अगाडि बोकेका युवालाई हामी सबैले साथ दिनुपर्छ ।”
तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइ सभापति सुकनारायण मल्लले पनि सरकारी निकायले गर्नुपर्ने काम एउटा युवाले गर्नु सराहनीय भएको बताए । उनले धेरैजसो युवा विदेशीएको र घरमा भएका युवासमेत व्यक्तिगत कार्यमा व्यस्त रहेका बेला गफ्फारले समाज परिवर्तन, ज्येष्ठ नागरिकको सेवा र सरसफाइजस्ता अभियान अगाडि बढाइरहेका भन्दै यसबाट अरु युवाले पनि सिक्नुपर्ने सुझाव दिए ।










