तनहुँ र चितवन जोड्ने घुमाउने घाट पुलको नयाँ ठेक्का लगाउने तयारी

तनहुँ : नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको घुमाउने घाटबाट तनहुँको आँबुखैरेनी जोड्ने गरी निर्माण थालिएको पुल वर्षौंसम्म अलपत्र परेपछि अब नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइने भएको छ । पुल निर्माणको पुरानो ठेक्का तोडिएसँगै सडक डिभिजन कार्यालय दमौलीले बाँकी कामका लागि नयाँ ठेक्का प्रक्रियाको तयारी थालेको हो ।
वि.सं. २०७० मा ठेक्का सम्झौता भएर निर्माण सुरु भएको पुल लामो समयदेखि अधुरो अवस्थामा छ । चालु आर्थिक वर्षमा नयाँ ठेक्का आह्वानका लागि रु. १ करोड ५० लाख बजेट विनियोजन गरिएको सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी इन्जिनियर राजेन्द्र कार्कीले जानकारी दिए ।
नयाँ निर्माण कम्पनी छनोट गर्नुअघि यसअघि निर्माण भएको संरचना सुरक्षित र प्रयोगयोग्य अवस्थामा छ कि छैन भन्ने प्राविधिक अध्ययन भइरहेको छ । पुलका दुवैतर्फ निर्माण गरिएका आधार पिल्लरको ‘स्ट्रक्चर हेल्थ’ परीक्षण भइरहेको कार्यालयले जनाएको छ ।
इन्जिनियर कार्कीले भने, ‘अहिले पहिले निर्माण भएको संरचनाको प्राविधिक अवस्था परीक्षण भइरहेको छ । त्यसको प्रतिवेदनका आधारमा बाँकी काम अघि बढाउने प्रक्रिया अगाडि बढ्छ ।’
पुरानो निर्माण कम्पनी मृतसञ्जीवनी निर्माण सेवा, मकवानपुरसँग सडक डिभिजन कार्यालयले २०८३ वैशाख २९ गते ठेक्का सम्झौता अन्त्य गरेको थियो। कम्पनीसँग २०७० असार २८ गते मूल्य अभिवृद्धि करसहित रु. ११ करोड २६ लाखमा पुल निर्माणको सम्झौता भएको थियो ।
सम्झौता भएको लामो समयसम्म पनि निर्माणले अपेक्षित गति लिन नसकेपछि आयोजना अन्योलमा परेको थियो । निर्माणका क्रममा कम्पनीले तयार गरेको डिजाइनमा समस्या देखिएपछि पानीको सतहलाई आधार बनाएर डिजाइन पुनरावलोकन गर्नुपर्ने अवस्था आएको थियो । त्यसपछि निर्माण कम्पनीले थप रकम आवश्यक पर्ने दाबी गरेको थियो ।
तर, सुरुको बोलपत्रकै आधारमा जिम्मेवारी लिएको निर्माण कम्पनीले डिजाइन परिवर्तन भएपछि थप रकम माग गरेकाले सम्झौताअनुसार काम अघि बढाउन नसकिएको सडक डिभिजन कार्यालयको भनाइ छ । निर्माण कम्पनीले हालसम्म करिब रु. ३ करोड ३६ लाख बराबरको रकम भुक्तानी लगेको बताइएको छ ।
पुल निर्माणमा भएको ढिलाइका कारण चितवनतर्फको घुमाउने घाट र तनहुँतर्फको आँबुखैरेनीबीचको आवागमन सहज बनाउने योजना लामो समयदेखि अधुरो रहँदै आएको छ । पुरानो ठेक्का अन्त्य भएपछि अब बाँकी संरचनाको अवस्था मूल्याङ्कन गरी आवश्यक कामको लागत र प्राविधिक पक्ष टुङ्ग्याएर नयाँ ठेक्का लगाउने तयारी गरिएको हो ।
ठेक्का सम्झौता तोडिएपछि निर्माण कम्पनीविरुद्ध सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ तथा सम्झौताका प्रावधानअनुसार कारबाही प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ । यसअन्तर्गत कार्यसम्पादन जमानत जफत, कालोसूचीमा राख्न सिफारिस, हर्जाना असुल तथा बाँकी कामको मूल्याङ्कन गरी सरकारी बाँकीसरह रकम असुल गर्ने प्रक्रिया अघि बढ्न सक्नेछ ।
घुमाउने घाटमा पुल निर्माण सम्पन्न भएपछि तनहुँ र चितवनबीचको सडक सम्पर्क थप छोटो र सहज हुने अपेक्षा गरिएको छ । पुल बनेपछि घुमाउनेबाट बुद्धसिंह मार्ग हुँदै दमौलीसम्मको दूरी करिब ३२ किलोमिटरमा जोडिनेछ। हाल भने घुमाउनेबाट दमौली आउन मुग्लिन–आँबुखैरेनी हुँदै लामो दूरीको बाटो प्रयोग गर्नुपर्ने अवस्था छ । पुल निर्माण पूरा भए बुद्धसिंह मार्ग हुँदै दमौली र त्यसपछि पोखरातर्फ जाने यात्रु तथा मालवाहक सवारीलाई समेत सहज हुनेछन् ।
चितवनको नारायणगढ क्षेत्र र तनहुँ हुँदै पोखरा जोड्ने वैकल्पिक सडक सञ्जालका दृष्टिले समेत यो पुललाई महत्वपूर्ण मानिएको छ । लामो समयदेखि अधुरो रहेको पुलको नयाँ ठेक्का प्रक्रिया अघि बढ्न थालेपछि स्थानीयवासी तथा सडक प्रयोगकर्तामा निर्माण पूरा हुने अपेक्षा बढेको छ ।










