उजाडिएका गाउँबस्तिलाई पर्यटकीय गतिविधिसंगै जोड्दै बन्दिपुर

पर्यटनबाटै रोजगारी र समृद्धि हाँसिल गर्ने गाउँपालिकाको अभियान

  • नारायण खड्का (दमौली)

ऐतिहासिक, धार्मिक, साँस्कृतिक, प्राकृतिक लगायत विविध आयमले भरिपूर्ण हाम्रा गाउँबस्ति पछिल्लो समय उजाडिदै गएका छन् । राज्यले उपलब्ध गराउनुपर्ने न्यूनतम् आधारभूत आवश्यकाताहरु समेत सहज रुपमा उपभोग गर्न नपाउँदा मानिसहरु बसाइसराइ गरी अन्यत्र जाँदा अधिकांश ग्रामीण बस्तिहरु उजाडिका छन् । समयमै राज्यको उचित ध्यान नपुग्दा उजाडिएका गाउँबस्तिलाई पर्यटकीय गतिविधिसंग जोड्दै गाउँमा नै रोजगारीको वातावरण सृजना गर्ने अभियानमा अहिले तनहुँको बन्दिपुर गाउँपालिका लागि परेको छ । पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दिपुर गण्डकी प्रदेशकै नमुना ग्रामीण पर्यटकीय गन्तव्यका रुपमा समेत परिचित छ । यो परिचयलाई बन्दिपुर बजारमा मात्रै सिमित नराखी नजिकैका गाउँबस्तिसम्म पुर्‍याउने र उजाडिएका गाउँबस्तिलाई पुनः हरभर बनाउने अभियान गाउँपालिकाको छ ।

बन्दिपुरबाट करिब ५ किलोमिटरको दुरीमा वडा नं. ३ को रामकोट गाउँ छ । मगर समुदायको बसोवास रहेको यो ऐतिहासिक गाउँ पनि हो । मगर समुदायको भाषा, संस्कृति, परम्परागत रितिरिवाजले भरिपूर्ण यो गाउँका बासिन्दा पछिल्लो समय सुविधाको खोजीमा बसाइसर्न थालेपछि गाउँ उजाडिदै गएको छ । सुविधा खोज्ने नाउँमा बसाइँसराइको क्रम बढ्न थालेपछि त्यसलाई रोक्न गाउँपालिकाले मुख्यमन्त्री नमुना गाउँका रुपमा विकास गर्न आवश्यक पूर्वाधार र सेवासुविधाहरु विस्तार गर्न थालेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा बताउँछन् ।

‘पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सहकारी र पूर्वाधार : समृद्ध बन्दिपुर निर्माणको मूल आधार’ भन्ने उद्घोषका साथ अगाडि बढेको बन्दिपुरले पर्यटनबाट नै रोजगारी सृजना गरी समृद्धि हाँसिल गर्ने लक्ष्य लिएको अध्यक्ष थापाले बताए । गाउँपालिकाले रामकोट गाउँमा होमस्टे सञ्चालनका लागि स्थानीय उत्पादनलाई जोड्दै विभिन्न सीपमुलक तालिमहरु सञ्चालन गरेको छ । स्थानीय कला, संस्कृति, कृषि, पशुपालनलाई समेत पर्यटनसंग जोड्दै लगिएको छ ।

रामकोटका ३० जना महिला मिलेर गाउँमा होमस्टे समेत सञ्चालन गरेको रामकोट सामुदायिक होमस्टे सञ्चालक समितिकी अध्यक्ष दिलसरा आले बताउँछिन् । गाउँमा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढ्दै गएपछि गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले गत वर्ष १० लाख रुपैयाँ र यस वर्ष थप १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट गाउँको बाटो तथा घरका आँगनमा ढुंगाछाप्ने, सरसफाई, खानेपानीको व्यवस्थापन, सडकबत्ति जडानका साथै स्थानीय बासिन्दालाई उत्पादनसंग जोड्न विभिन्न सीपमुलक तालिम सञ्चालन गरिएको अध्यक्ष आलेले बताइन् । उनले भनिन्, ‘तालिमहरु सञ्चालन भएपनि गाउँमा युवाजनशक्ति नहुँदा कार्यक्रम अगाडि बढाउन समस्या आउने गरेको छ । गाउँछाडेका युवापुस्तालाई गाउँ फर्काउन पाए पुनः गाउँमा चहलपहल हुन्थ्यो होला ।’

यस्तै, गाउँपालिकाले रामकोट गाउँलाई केन्द्र बनाएर व्यास नगरपालिका र आँवुखैरेनी गाउँपालिकालाई साइकल लेनबाट जोडेर संयुक्त रुपमा ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम अगाडि बढाएको छ । आगामि १० वर्षभित्र पर्यटनबाटै समृद्धि हाँसिल गर्ने अभियानका साथ अगाडि बढेको गाउँपालिकाले दमौलीदेखि बन्दिपुर हुँदै छिम्केश्वरीसम्म साइकल लेन निर्माण तथा पर्यटन प्रवर्द्धन गर्ने गरी करिब ९ किलोमिटर दुरीको साइकल लेन निर्माण गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए ।

‘गाउँपालिकाले कोरोना कहरका कारण रोजगारी गुमाएर बसेका युवाहरुलाई राहतको सट्टा रोजगारी कार्यक्रम सञ्चालन गरी करिब ११ लाख रुपैयाँको लागतमा नौ किलोमिटर साइकल लेन निर्माण गरेको हो’, उनले भने, ‘बन्दिपुर आएका पर्यटकको बसाइ लम्ब्याउनका लागि पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।’

गाउँपालिकाले चीनको ग्रेटवालको झल्को दिने गरी वडा नं. २ स्थित थानीमाई मन्दिरबाट पदमार्ग पर्खाल निर्माण, टुँडीखेलमा सिसाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गर्ने योजना अगाडि सारेको छ । कृषिलाई पर्यटनसंग जोड्ने योजनाका साथ कृषिमा आधुनिकिकरण गर्ने उद्देश्यले चक्लाबन्दी कार्यक्रमलाई पनि अगाडि बढाएको गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङ बताउँछिन् ।

‘सीपलाई उत्पादनसंग जोड्दै महिलाहरुलाई नेतृत्वदायि भूमिकामा अगाडि बढाउन उपाध्यक्षसंग महिला कार्यक्रम सञ्चालन गर्दा उपलब्धी मुलक भएकाले यस्ता कार्यक्रमलाई प्रथमिकताका साथ अगाडि बढाइएको छ’, उनले भनिन्, ‘९६ घर परिवार मगर समुदायको बसोवास रहेको रामकोट गाउँको अहिले काँचुली फेरिदै गएको छ ।’

नयाँ मान्छे गाउँमा आउँदा घरभित्रै बस्ने यहाँका महिलाहरु अहिले आफ्नो नाम भन्ने तथा गाउँको समस्याका विषयमा बोल्न सक्ने भएका छन् । सरसफाईमा नमुना बन्दै गएको गाउँका सबै घर र बाटोमा ढुंगा छाप्ने तथा सडक बत्ती राखिएका छन् । स्थानीय पनि आफ्नो समुदायको भाषा संस्कृतिको संरक्षण गर्दै गाउँमै स्वरोजगार बन्ने लक्ष्यका साथ अगाडि बढेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker