एक वर्षमा तनहुँका तीन लाख पशुमा पूर्ण खोप

तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका दश पालिकामा तीन लाख ७७ हजार २४ पशुलाई पूर्ण खोप लगाएको हो । रोगका कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका सबै पालिकाका पशुमा खोप लगाइएको केन्द्रका प्रमुख डा राजेश चौधरीले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारले प्रदेशलाई पूर्ण खोपयुक्त बनाएर संक्रामक रोग निमूल पार्ने लक्ष्य राखेको छ । तनहुँमा व्यावसायिक पशुपालन बढिरहेकाले यहाँबाट विभिन्न जिल्लामा पशुजन्य पदार्थको आयातनिर्यात हुने भएकाले पूर्ण खोप अभियान सञ्चालन गरिएको चौधरीको भनाइ छ ।
पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार तथा नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्ण खोप कार्यक्रम प्रभावकारी बन्ने चौधरीले उल्लेख गरे ।
चौधरीका अनुसार जिल्लाका ८५ वडाका ३४ हजार नौ सय ३० घरधुरीले पालेका पशुमा पूर्ण खोप लगाइएको छ । उहाँका अनुसार सबैभन्दा बढी बाख्रामा पूर्ण खोप लगाइएको छ । बाख्रापालनतर्फ कृषकको आकर्षण बढेसँगै धेरै बाख्राहरूमा पूर्ण खोप लगाइएको चौधरीले बताए । त्यसपछि गाई, भैँसी, बङ्गुर, कुकुर, भेडा र बिरालोमा पूर्ण खोप लगाइएको छ ।
चौधरीका अनुसार दुई लाख २५ हजार ५१५ बाख्रा, ५६ हजार हजार ३१९ गाइ, ५३ हजार ९७९ भैँसी, २२ हजार ६३५ बङ्गुर, १७ हजार ८८९ कुकुर, ५२६ भेडा र ४३१ बिरालोलाई पूर्ण खोप लगाइएको छ ।
व्यास नगरपालिकाका ८० हजार ५२७, शुक्लागण्डकी नगरपालिकाका ३६ हजार ४३२, भिमाद नगरपालिकाका ६० हजार ६४३, भानु नगरपालिकाका ४९ हजार ३७, घिरिङ गाउँपालिकाका २५ हजार नौ सय, ऋषिङ गाउँपालिकाका ३४ हजार १२८, बन्दीपुर गाउँपालिकाका २१ हजार ७६६, आँबुखैरेनी गाउँपालिकाका १९ हजार ९२५, देवघाट गाउँपालिकाका २७ हजार ६२२ र म्याग्दे गाउँपालिकाका २१ हजार ४१ पशुमा पूर्ण खोप लगाइएको केन्द्रले जनाएको छ ।
पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि ९२ खोपकर्ता र गणक नियुक्ति गरिएको थियो । खोपकर्तालाई अभिमुखीकरण गरी सम्बन्धित वडामा खटाइएको केन्द्रले जनाएको छ ।










