ठाडोभाका लोकगीतको उद्भव स्थल र सर्जकहरु
देव बस्न्यात

१, परिचय
मूलत गण्डकी प्रदेशको लमजुङ, तनहुँ, गोरखा, कास्की र स्याङजा जिल्लाहरुमा ठाडोभाका गीत गाउने गरिन्छ । लोकगीत त्यसमा पनि ठाडोभाका लोकगीतको चर्चा हुने बित्तिकै ठाडोभाका लोकगीतका पारखिहरुले सम्झने नामहरु देउबहादुर दुरा, पञ्चसुब्बा गुरुङ, मनिराम दुरा, लक्ष्मी दुरा, पेचेरेदुरा, भेडिखर्के साइला उर्फ दीर्घराज अधिकारी, बुद्धिमान दुरा ‘धम्पु’, शङ्कर परियार, ज्ञानुथापा, उत्तम गुरुङ, राधाभण्डारी र मञ्जु बिकको नामहरु अगाडि आउने गर्दछन् । अन्य विधाका लोकगितहरु भन्दा खान्दानी मानिने ठाडोभाका लोकगीत गाउनेहरुको संख्या भने अहिले आएर हृवात्तै घटेको पाइन्छ । अहिलेको परिवेशमा चालिस वर्ष भन्दा तलका उमेर समुहका युवायुवतीहरुले ठाडोभाका गीत गाउन चाहँदैनन् र जान्ने चाहाना पनि गर्दैनन् ।
लमजुङका देउबहादुर दुरा र पञ्चसुबा गुरुङ (१९४७-२०३३)ले जन्माएर हुर्काएको ठाडोभाका गीत भेडिखर्के साइला, पेचेरे दुरा र मनिराम दुराहरुले गोडमेल गरेका हुन । हर्रक वर्षको शिवरात्री मेला, फागुपूर्णिमा, ठूलोएकादशी र चैतेदशैंमा लाग्ने मेलाको उठान कर्पुटार बजार र बैठान साविक रुपाकोट गाउँपालिका टुहुरेपसल तनहुँको पुतलीबजारमा हुने गर्दथ्यो । ठाडोभाका दुरा, गुरुङ, मगर र मियाँहरुको साझा सम्पति भएता पनि विशेष गरेर देउबहादुर दुरानै यस भाकाका प्रवर्तक भएकाले र दुराहरुले यस भाकालाई मलजल गरेकाले अलि बढी दुराहरुको हक लाग्ने गरेको पाउँदछौं ।
२, ठाडोभाका भन्नाले के बुझिन्छ ?
गण्डकी प्रदेशमा गाइने लोकगीतहरुमा ठाडोभाका, रोइला, झ्याउरे र चुडकागीतहरु सबैको रोजाइमा पर्दछन् । दुराहरुले उठान गरेको लोकभाका हुनाले यसलाई दुराभाका, कर्पुटारमा गाइने हुँदा कर्पुटारे भाका, लमजुङ जिल्लामा गाइने भाका हुँदा लमजुङे भाकाको साथसाथै यसलाई पुतलीबजार भाका पनि भन्ने गरिन्छ । यसैले ठाडोभाका गीतको अर्को पर्यायवाची नाम दुराभाका पनि हो । यो भाकाको जन्मस्थलो पनि लमजुङ्गको दुराडाँडा हो । जुन सर्वत्र सुपरिचत पनि छ । ठाडोभाका गीतको जन्मभूमि इशानेश्वर महादेव मन्दिर कर्पुटार मानिन्छ । गीतको फेद टुप्पा मिलाएर सटिक रुपमा उभिएर नाचेर गाइने गीत भएकाले यस गीतलाई ठाडोभाका भनिएको हो भन्ने पनि सुन्नमा पाइन्छ ।
ठाडोभाका लोकगीत यानीमाया र सुनीमाया भाका भन्दा छिटो, छरितो र छुडकिलो पाराले गाउने गरिन्छ । ठाडोभाका गीतमा चड्के र फूर्तिलो पारामा गाउने र नाच्ने गरिन्छ । यसको किसिमको गीतलाई गिताङ्गेहरुले दुइचरणमा गाउने गर्दछन् । छुडकिलो र फूर्तिलो पारामा पहिलो चरणमा गीतको उठान गर्ने र पछिल्लो चरणमा कुराको चुरोलाई मिठो पाराले अभिव्यक्ति गर्ने शैलीलाई ठाडोभाका गीत भन्ने गरिन्छ । छुडकिलो र फुर्तिलो रुपमा गाइने गीत नै ठाडोभाका गीत भनिन्छ । ढिलो भाकाको गीतले आधिपत्य जमाइ रहेको बेला छोटो लयमा चट्ट चट्ट गाउन मिल्ने अर्थात गीतको लयलाई नघुमाइकनै ठाडो तरिकाले श्रोता तथा दर्शक समेत सबैको मन जित्ने गरी गाइने लोकप्रिय गीत भएकाले पनि यसलाई ठाडोभाका गीत भन्ने गरिएको हो ।
३, कसरी सुरुभयाे ठाडाेभाका लाेक गीत ?
वि.सं. १८७४ साल तिर बागलुङ वलेवाका मानवीर खत्री र बाग्लुङ राङखानीका गोर्या श्रीसले सालैज्यू भाकाको सुरुआत गरेका थिए भनि कालीभक्त पन्तले “हाम्रो सांस्कृतिक इतिहासमा” उल्लेख गरेका छन् । वि.सं. १९१४ तिर धौलागिरीबाट कास्की जिल्लाको हंशपुर बसाइ सरी आउँदा बौद्धसिंह गुरुङले यो भाकासंगै ल्याएका हुन भनिन्छ । उनैका संगतमा त्यहाँका मोतीलाल गुरुङ र बखतबहादुर गुरुङले गीतको भाकालाई परिमार्जित गरेर कर्पुटारमा ल्याएका हुन भन्नेहरुको मतपनि पाइन्छ । कताकता यस्लाई स्याङजा तिरको शालैज्यु भाकाको बहिनी पनि भन्ने गरेको पाइयो। यसैले आँधीखोले, शालैज्यु, विनाशालैज्यू, सुनीमाया र यानीमाया लगायतका सबै भाकाहरुलाई एउटै भाका परिवार भित्र राखेर हेर्ने गरको पाइन्छ ।
४, को हुन दुरा जाति ?
शारीरिक दृष्टिले दुराहरु मंगोल नश्ल अन्तर्गतका हुन । यसैले दुराहरु भारतबाट नेपाल पसेको इतिहास बनाइनु निर्रथक मात्र होइन यतिहास माथिको बेइमानी पनि हो । भारतबाट नेपाल प्रवेश गरेको देखाइनु बाहुनबादको धुर्त्याई पनि हो । कतैकतै रुद्राभोटबाट बसाइ सरी आएकाले रुदराबाट शब्द अपभ्रँश भई दुरा थर कायम भएको मान्ने गरिन्छ । वास्तवमा दुराहरु नेपालकै आदिवासी सन्तती हुन् । तिनै दुराहरु रुद्राभोट, दुल्लुदैलेख, पर्वत र कास्कीबाट पूर्वान्मुख हुँदै लमजुङ आएर बसोबास गरेका वंशज हुन । लमजुङका खजेगाउँ चिहानपाटा, दुराडाडा, दुराथोक, दुरापंधेरा, पाल्पाको दुराबारी, कास्कीको दुराचौर, अर्घौं र दुरा गाउँ, रामेछाप दुराहरुको निसानी हुन । आफ्नै भाषा, आफ्नै भेष भएका दुराहरुको जनसंख्या नेपाल भित्र ५३९४ जना रहेको छ ।
कुल जनसंख्याको ७४ प्रतिशत दुराहरु लमजुङको विभिन्न स्थानमा, १६ प्रतिशत तनहुँको व्यास नगरपालिकाका, व्यास-१ भादगाउँ, व्यास-४ जुडीपानी, व्यास-६ शिःसाघाट, व्यास-७ सत्रसय, व्यास-९ क्यामिन, व्यास-११ राम्चे, धरम्पानी, चिसापानी, तनहुँसुर, रामथुम्की र बाँकी नेपालको अन्य १२ जिल्लाका विभिन्न भूभागमा रहेका छन् । अवसर र रोजगारीको सिलसिलामा बृटिस तथा भारतीय गोरखा राइफलमा भर्ति हुने रहरमा दुराहरुले गुरुङ र मगर थर लेखाउँदा र बिस्तारै खस भाषालाई मातृभाषा अप्नाउँदा दुराहरुको जनसंख्या र भाषा लोप हुँदै गएको छ । रोजगारीको सिलसिलामा विदेश पुग्ने ६० घर दुरा परिवारका २४० जना दुराहरु बृटेन, अमेरिका र हङकङमा समेत भेटिन्छन् । (श्रोतः दुरा समुदायको मौलिक थातथलो र अमूर्त सांस्कृतिक सम्पदा-यम बहादुर दुरा २०७९ कार्तिक १२ को लोक सम्वाद) ।
५, ठाडोभाकाका जन्मदाता देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङ
सुरुमा देउबहादुर दुरा केटा र पञ्चसुब्बा गुरुङ केटी बनेर ठाडोभाका गीत गाएकाले उनीहरु यस भाकाका स्रष्टा तथा जन्मदाताहरु मानिन्छन् । केटा केटा बीचको गीतले दर्शकमाझ भरपुर मनोरञ्जन दिन नसकी गीतमा रौनकता नआए पछि उहाँहरुले नै यस भाकालाई मलजल गर्न लक्षिमी दुरालाई गीत गाउन सिकाएका थिए । लक्षिमी दुरा यस भाकामा गीत गाउन पारङ्गत पनि भइन । यस भाकालाई हृदयदेखि मलजल पनि गरिन । दैवको लिला उनी धेरै समय बाँचिनन् । एकदिन मुखिया कर्णबहादुर दुराको घरमा लगाइएको सत्यनारायण पूजामा देउबहादुर र पेचेरे दुराको भेट भयो । त्यही ठाडोभाका गीतको खाल जम्न गयो । लक्ष्मीको खट्किएको अभावलाई पेचेरे दुराले पुरा गर्दै गइन । ठाडोभाकाका स्रष्टा देउवहादुर दुराले विजारोपण गरेको ठाडोभाका लोकगितलाई मलजल गर्ने हस्तिहरुमा गण्डकी अञ्चल दुराडाँडाकै मनिराम दुरा, पेचेरे दुरा जमानसिंह दुरा, खुजुरी दुरा, भक्ति दुरिनी, पञ्चसुव्वा गुरुङ्ग, भैरवबहादुर रानाभाट, भदराम दुरा, स्यानी दुरा, दशरथ दुरा, राइटर दुरा, हस्तबहादुर दुरा, भक्तिमाया दुरा, सकुन्धरा दुरा, धनसिरी दुरा, पदमबहादुर दुरा, अमरध्वज गुरुङ, नन्दमाया दुरा, बालकुमारी दुरा, भीमबहादुर दुरा थानसिङ्गका देवबहादुर गुरुङ्गहरु हुनुहुन्छ । यस भेकका गायक गायिकाहरुले ठाडोभाका गीतका स्रष्टा देउबहादुर दुराको सम्झनामा गाएका प्रशंसा युक्त उहाँको गीत लहरीहरु प्रशस्त भेटिन्छन् । तिनै मध्येको एक टुक्रा यस्तो भेटिन्छ ।
लेकै नाँच्ने डाँफे मोनाल मधेश नाँच्ने मजुर ।
बेलाउती काँचो, ख्याल होइन साँचो मधेस नाँच्ने मजुर ।
बर्मा गयो कर्म संगै नेपाल गयो कपालसंगै
हा..हा..हा. कपाल काट्ने छुरा
लमजुङ्गको दुराडाँडा बस्ने देउबहादुर दुरा,
गीत गाउनलाई मसहुर, कस्ले सक्छ हजुर ?
बेलाउती काँचो, ख्याल होइन साँचो कस्ले सक्छ हजुर ?
भुँडी सुन्निएर थला परेका देउबहादुरको उपचार गाउँमा हुन सकेन । आखिर उहाँको हेरचाह र उपचारार्थ उहाँकै दिदी बालेको घर भोर्लेटार (धुल्पुर) लगिएको थियो । देउबहादुरलाई लागेको रोगलाई गाउँघर तिर खौटे (खबाटे आजकल टिवी) भन्ने गरिन्छ । वि.सं. १९४७ फागुन ८ गते जन्मेर कहिल्यै नमर्ला जस्तो देखिने देउबहादुर दुरालाई पनि माछाको भुरा जस्तै कालले आहार बनाएरै छाड्यो । अन्ततः अन्दाजी ४० (४७/४८ पनि) वर्षको (एकिन हुन नसकेको) उमेरमा सम्भवत वि.सं १९९१ (१९९४-१९९८ को बीचमा पनि)मा कर्पुटारको पूर्व र भोर्लेटारको पश्चिममा बहने मिदिमकै काखमा आफ्नो दिदी बालेको घरमा देउबहादुर दुराले जीवनको भारी बिसाएका थिए ।
पिता वृषलाल गुरुङ र माता पूर्णकुमारी गुरुङका सुपुत्र हुनुहुन्छ पञ्चसुब्बा गुरुङ । पञ्चसुब्बा गुरुङ देउबहादुर दुराका बालसखा हुन । पञ्चसुब्बा गुरुङ नभएको भए ठाडोभाका गीत लमजुङ र तनहुँका पाखा पखेरामा मौलाउँथ्यो या मौलाउँथेन भन्न सकिन्न तर यस भाकालाई मूर्तरुप दिन देउबहादुर दुरालाई भरपुर सहयोग भने गरेका थिए । ठाडोभाका लोकगीत गण्डकीका पाखा पखेरामा फिजाउन देउबहादुर र पञ्चसुब्बा गुरुङ त्रेताकालीन अयोध्या नरेश दशरथका पुत्रहरु राम र लक्ष्मण जस्तै दाजुभाइको रुपमा देखिएका थिए भने मनिराम दुरा र भैरव बहादुर दुरा लवकुशको रुपमा देखिएका थिए । वि.सं. १९४७ मा जन्मिएका पञ्चसुब्बा गुरुङले ठाडोभाका गीत संरक्षण सम्वर्धनमा योगदान गर्दागर्दै वि.सं. २०२२ सालमा नै यस धरतीबाट बिदा लिन पुगेका थिए ।
ठाडोभाका लोकगीतको चारधाम
ठाडोभाका लोकगीतको जन्म भएता पनि यसको उर्वरभूमि तथा गीत-संगीतको चारधाम भनेकै लमजुङको कर्पुटार, साविक रुपाकोट गाउँपालिका तथा हालको भानु न.पा. ११ पुतलीबजार, मिर्लुङ पोखरीछाप, शिःसाघाट समेत पर्दछन् भने कुन्छा ठूलोढुङ्गा कालीगण्डकीको मुहान नजिकको मुक्तिनाथ धाम हो ।
अन्त्यमा
कर्पुटार, पुतलीबजार, मिर्लुङ ठूलोढुङ्गा र शिःसाघाट बजारमा भेटिएका ठाडोभाका लोकगीतका सर्जकहरुमा स्वरसम्राट भेडिखर्के साइला, कालु दुरा, खुजरे दुरा, कैली दुरा, लक्ष्मी दुरा, भक्तिमाया दुरा, मैरानी भन्ने पञ्चा दुरा, केशबहादुर दुरा, डा. (कम्पाउण्डर) देबीबहादुर गुरुङ, दशरथ दुरा, स्यानी दुरा, पदमबहादुर दुरा, पेचेरे दुरा पुतली दुरा, पुतली र्सर्किनी, आफले घर्ती र आफली घर्तिनी, श्रीमाया र्सर्किनी, रुपा मियाँ, चतुरे मियाँ, सान्नानी मियाँ, मानबहादुर बरुवाल, दीपबहादुर थापा शमशेरबहादुर अधिकारी, चन्द्रबहादुर अधिकारी, भीमबहादुर बस्न्यात, सलामदिन मियाँ, ज्यामिरबोटे मियाँ, जुठी गुरुङ, सुनमाया गुरुङ, नरध्वज गुरुङ, सुनबहादुर दुरा, हस्तबहादुर दुरा, तारानाथ बिमली, देबबहादुर पुलामी र किशोर दुरा रमेका थिए । अहिले आएर बुद्धिमान दुरा धम्पु, यमबहादुर दुरा, गौमाया दुरा, चीजमाया दुरा, बिमाकुमारी दुरा, सकुन्धरा दुरा, सोममाया दुरा, भदाराम दुरा, डिलबहादुर अधिकारी, राजु परियार, शङ्कर परियार, विष्णुकुमारी दुरा (डुम्रे), उत्तम गुरुङ, शिला आले, सोनी गुरुङ, बामदेब भट्टराइ, देखमान दुरा, सन्तुमायाँ सिञ्जाली मगर, इसुफदिन मियाँ, राधा भण्डारी, सेती गुरुङ, बुद्धिराज मिश्र, बुद्धिसागर खनाल, तिलबिक्रम अधिकारी, शुशिला भन्ने कृष्णमायाँ दुरा, अनिता गुरुङ, रामप्रसाद गौली, केशरबहादुर अधिकारी लगायतले ठाडोभाका लोकगीतको बिंडो धानेका छन् । ठाडोभाका लोकगीत मौलाओस हाम्रो शुभेच्छा छ ।
श्रोत सर्न्दर्भ ?
– असन बजार पत्रिका, बासुदेव पौडेल
– गोकर्र्णोश्वर अनलाइन १० फागुन २०७८
– लोक संस्कृतिको घेरामा लमजुङ, धर्मराज थापा
– चन्द्र प्रकाश पौडेल, भानु-११ जामुने
– विष्णुहरी पौडेल, भानु-११ हाल कलङ्की काठमाडौं ।










