आदिकवि भानुभक्त क्याम्पसमा संविधानका विषयमा छलफल
भञ्ज्याङ समाचारदाता/दमौली

सातौं संविधान दिवस-२०७९ को अवसरमा आदिकवि भानुभक्त क्याम्पस कानुन विद्यार्थी समाज र व्यास नगरपालिका वडा नं.-१, वडा कार्यसमितिको संयुक्त आयोजनामा ‘मेरो संविधान मेरो गौरव’ विषयक छलफल गरिएको छ ।
कार्यक्रममा ब्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले करिब ७० वर्षको प्रयत्नपछि ०७२ सालमा जारी लोकतान्त्रिक संघीय गणतान्त्र नेपालको संविधान सबै नेपालीको सुन्दर भविष्यको सुनिश्चितता गरेको बताए । उनले भने, ‘राजनीति र कानुनको इतिहासमा जनताका प्रतिनिधिहरुबाट लेखिएको यो पहिलो संविधान अत्यन्त लचिलो र जनमुखी रहेको छ ।’
कार्यक्रम वडा नम्बर १ का वडाअध्यक्ष रमेशचन्द्र हड्खलेको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, नेपाली कंग्रेसका प्रदेशका आमन्त्रित सदस्य डा शेषरमण न्यौपाने, क्याम्पस सञ्चालक समितिका सदस्य खर सिं दरै लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा भित्र रहेका सम्पूर्ण टोल विकास संस्था, आमा समूह, सामुदायीक बन, मन्दिर संरक्षण समिति, विद्यालय र संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको क्याम्पसका कानुन विद्यार्थी समाजका सचिव करुणा पाठकले जानकारी गराए ।