पिसिआर परीक्षण गर्न माग गर्दै तनहुँ जलविद्युत आयोजनाका मजदुर आन्दोलित

पिसिआर परीक्षण गर्न माग गर्दै तनहुँ जलविद्युत आयोजनाका मजदुर आन्दोलित भएका छन् । आयोजनाको दोस्रो प्याकेज अन्तर्गत सिनो हाइड्रोका मजदुरले आज दिउँसोदेखि आन्दोलन गरेका हुन् ।

एक मजदुरमा कोरोना सङ्क्रमण पुष्टिभएपछि सबै मजदुरको पिसिआर परीक्षण गर्न माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले ऋषिङ गाउँपालिका–१ झापुटारस्थित आयोजनाको कार्यालयमा धर्ना समेत दिएका छन् ।

आयोजनाका प्रमुख अच्युत घिमिरेले आइतबार बिहान मजदुरहरुको पिसिआर परीक्षण गर्ने सहमति भएपनि पुनः आन्दोलन भइरहेको जानकारी दिनुभयो । “कोरोना सङ्क्रमण देखिएका व्यक्तिको नजिकको सम्पर्कमा रहेकाहरुको परीक्षण गर्ने सहमति भएको थियो,” उहाँले भन्नुभयो, “सहमति लगत्तै मजदुरहरु पुनः आन्दोलित भएका छन् ।”

सिनो हाइड्रोतर्फ २ सय ५० मजदुर छन् । तीमध्ये नजिकको सम्पर्कमा आएकाको पिसिआर परीक्षण गर्ने सहमति भएपनि पुनः आन्दोलन गर्दा उहाँहरुको माग के हो भन्ने बारेमा बुझ्न नसकिएको आयोजना प्रमुख घिमिरेले बताउनुभयो । आयोजनाले बिहीबार एक सय जनाको परीक्षण गरेकामा एक जना मजदुरमा कोरोना सङ्क्रमण देखिएको थियो ।

आयोजनाको प्याकेज दुई अन्तर्गत सिनो हाइड्रोले विद्युतगृहको काम गरिरहेको छ । ऋषिङ–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको ‘केवल टनेल’को काम पूरा भएसँगै सिनो हाइड्रोले विद्युतगृहको काम शुरु गरेको छ । विद्यृतगृह निर्माणका लागि १ सय ८८ मिटर केवल टनेलको काम केही समय अगाडी मात्रै सम्पन्न भएको थियो । सिनोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।

एक सय चालिस मेगावाट क्षमताको आयोजनाको प्रशारण लाइन निर्माणको काम पनि शुरु भएको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माणका लागि काम शुरु भएको हो । उक्त कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । प्रशारण लाइनका लागि चालु आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ ।

पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्र उपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेज अन्र्तगत एक सय चालिस मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ ।

आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार १ सय ६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगृत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ ।

आयोजनाको कुल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker