सवारीसाधनसँग तर्सिएर दर्जन बढी भेडाबाख्रा मरे

सवारीसाधनसँग तर्सिएर भाग्दा मनाङमा दर्जन बढी भेडाबाख्रा मरेका छन् । हिमाली क्षेत्रमा चिसो बढेसँगै भेडिगोठबाट बेँसी झर्ने क्रममा नासों गाउँपालिका–३ खोत्रोमा सवारीसाधनसँग तर्सिएर भाग्दा भीरबाट मर्स्याङ्दी नदीमा खसेर भेडाबाख्रा मरेका हुन् ।

सदरमुकाम चामे गाउँपालिका–१ र २ का नरेन्द्र घले, नन्दबहादुर गुरुङ र नलबहादुर गुरुङ लगायतले सञ्चालन गरेको सिद्धार्थ भेडा फार्मका नौ भेडा र दुई बाख्रा मरेका छन् । भेडीगोठबाट बेँसी झर्ने क्रममा गत मङ्गलबार खोत्रो आइपुगेको र चामेतर्फबाट आएको जीप र विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकलको बीचमा परेपछि तर्सिएर भाग्दा ३१ भेडाबाख्रा भीरबाट खसेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले जानकारी दिनुभयो ।

प्रमुख कुसुमका अनुसार भीरबाट ३१ भेडाबाख्रा खसेकोमा दुईवटा बाख्रा र नौवटा भेडा घटनास्थलमै मरेका छन् । सडक छेउमै रहेको भीरबाट करिब १५ मिटर तल खस्दा भेडा बाख्रा मरेका उहाँले बताउनुभयो । खबर प्राप्त भएसँगै कार्यालय प्रमुख कुसुमसहित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका टोली घटनास्थल पुगेर अनुगमन समेत गरेका थिए । स्थलगत अनुगमनको क्रममा घटना सत्य भएको र बाँकी घाइते भेडा बाख्राको उपचार समेत गरिएको कार्यालय प्रमुख कुसुमले बताउनुभयो ।

मरेका भेडाको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो । आकस्मिक रुपमा पशुपालक किसानलाई क्षति पुगेकाले क्षतिपूर्ति दिने र किसानलाई व्यवसाय पुनःस्थापना कार्यक्रमबाट सम्बोधन हुनेगरी आवश्यक प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ ।

व्यावसायिक भेडाबाख्रापालन हुँदै आएको सिद्धार्थ भेडा फार्ममा हाल ५०० भेडाबाख्रा छन् । गर्मी मौसममा समुद्री सतहबाट तीन हजार मिटरमाथि उचाइमा पुग्ने मनाङका भेडीगोठ चिसो बढेसँगै बेँसी झार्ने गरिन्छ । किसानले भेडीगोठबाट भेडाबाख्रालाई लमजुङको खुदी, भुलभुलेसम्म झर्ने गर्दछन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker