रत्नहारी अस्पताल र रुम्सी होमस्टेबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता

दमौली : तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकस्थित रत्नहारी मेमोरियल अस्पताल र व्यास नगरपालिका वडा नं १४ मा रहेको रुम्सी होमस्टे सञ्चालक समिति बीच स्वास्थ्य सेवा सहकार्य सम्झौतामा गरिएको छ । सम्झौता अनुसार होमस्टे सञ्चालक र उनीहरूका कर्मचारीहरूले अस्पतालका सम्पूर्ण सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
त्यस्तै औषधिजन्य वस्तुहरूमा ५ प्रतिशत छुटको सुविधा समेत उपलब्ध गराइने भएको छ । अस्पतालले प्रत्येक वर्ष होमस्टे सञ्चालित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने सम्झौता गरिएको छ ।
अस्पतालका व्यवस्थापक लिलबहादुर थापाले र होमस्टे सञ्चालक समिति अध्यक्ष सन्तोष राना मगरले हस्ताक्षर गरेका छन् । अस्पतालका व्यवस्थापक थापाले भने, “स्वास्थ्य सेवा र पर्यटन प्रवर्द्धनलाई एकसाथ अघि बढाउने यो सम्झौता महत्त्वपूर्ण छ । स्थानीय तथा पर्यटकहरूलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं ।”
त्यस्तै रुम्सी होमस्टे सञ्चालक समितिका अध्यक्ष रानाले भने, “पर्यटकहरूको स्वास्थ्य सुरक्षाका लागि अस्पतालसँगको सहकार्य लाभदायक हुनेछ । यसले हाम्रो क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान दिने विश्वास लिएको छ ।”
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत रुम्सी गाउँलाई नमूना गाउँ घोषणा गरिएको छ । गण्डकी प्रदेश सरकारले ६५ लाख र व्यास नगरपालिकाले ३५ लाख रुपैयाँ लगानी साझेदारी गरेका छन् । परियोजना अन्तर्गत ११० घरधुरीमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ भने ३० घरधुरीमा होमस्टे पूर्वाधार विकास गरिएको छ ।
रुम्सी गाउँ आफ्नो प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा, र ग्रामीण जीवनशैलीका लागि परिचित छ । यहाँका होमस्टेले पाहुनालाई अग्र्यानिक खाना, लोकल कुखुराको परिकार, र परम्परागत मगरहरुको आतिथ्यता प्रदान गर्छन् ।
होमस्टे सञ्चालक समितिका अध्यक्ष सन्तोष राना मगरका अनुसार, यहाँका पाहुनाहरू ग्रामीण परिवेश, पारिवारिक वातावरण, र स्थानीय परिकारबाट निकै प्रभावित हुन्छन् । दमौलीबाट गाडीमा एक घण्टाको दूरीमा रहेको यो गाउँ आन्तरिक पर्यटकहरूको गन्तव्य बन्दै गएको छ ।










