भानुमा जलवायु परिवर्तन अनुकुलन सम्बन्धी गोष्ठी सञ्चालन

- डिपी अधिकारी (डुम्रे)
तनहुँको भानु नगरपालिका-१ को कल्याणटार स्थित परिवर्तनशील महिला सामुदायिक बिकास समाजले हरियो वन कार्यक्रमको सहयोगमा रैथाने बीउ र कृषि तथा जैविक विविधता संरक्षणका लागि जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयनमा स्थानीय तहसंगको समन्वय तथा परामर्श विषयक एक दिने गोष्ठी सम्पन्न गरेको छ ।
कार्यक्रममा भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौलीले नगरपालिकाले विभिन्न चुनौतीहरुको सामना गर्नु परिरहेकोले सोचे अनुसारको काम गर्न नसकेको बताउँदै उनले नगरबासिसंग हातेमालो गरी अगाडि बढ्ने प्रतिवद्धता जनाए ।
‘शुरुका दिनमा हरेक क्षेत्रमा सहमति जुटाउन चुनौती, कहिले चितुवा आतंकको चुनौती, पछि कहिले कोरोनाको चुनौती, कहिले नगरपालिका स्थान्न्तरणको चुनौती आई पर्यो’, नगरप्रमुख गौलीले भने, ‘कोरोनाको त्रास कायमै रहेकाले यसपालीको दशैंमा जो जहाँ छौं त्यहिं भिडभाड नगरी मनाउन र स्वास्थ्यको मापदण्ड पालनामा ध्यान दिनुहोला ।’

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख आशा थापा मगरले कृषकका लागि नगरपालिकाले गर्नुपर्ने काम परिवर्तन समाजले गर्न लागेको भन्दै खुशी ब्यक्त गरिन । उनले नगरपालिका र वडा कार्यालयसँग समन्वय गरी योजना अघि बढाउन सुझाब दिइन्।
समाजकी अध्यक्ष कान्छिमाया तामाङको सभापतित्वमा आयोजित कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष सिताराम हड्खले, वडा नं. १३ का अध्यक्ष राम बहादुर बानियाँ, वडा नं. ५ का कार्यवाहक अध्यक्ष दिपक थापा, भानु नपाका कृषि शाखा प्रमुख खितकुमार श्रेष्ठ, पशु शाखाका राजन सेंढाइ, समाजका सल्लाहकार दामोदर मिश्र, राज गुरुङ लगायतले कृषकहरुले फलफूल तथा तरकारी उत्पादन गर्दा विषादी रहित बनाउनु पर्नेमा जोड दिए । उनिहरुले रैथाने बाली संरक्षणमा कृषक लगायत सरोकारवाला निकायले विशेष ध्यानुपर्ने पनि सुझाएका थिए ।
संस्थाकी पिएमसी संयोजक मिलन भुजेलले किसानलाई ब्यवसायीक बनाउनु पर्नेमा जोड दिंदै कृषिसँग सम्बन्धित विषयमा सचेतना मूलक कार्यक्रम अगाडि बढाउँदै लगिएको जानकारी गराइन् । परियोजना संयोजक चेत बहादुर थापाले संस्थाले गर्ने कामको विद्यमान चुनौती तथा अवसरहरु, परियोजना कार्यान्वयनका लागि स्थानीय तहसँगको समन्वय तथा कार्यगत सम्बन्धको प्रयास बारे सहजिकरण गरेका थिए ।











