वर्ष २०८२ : ५२ दिन शनिवार र थप २९ दिन विभिन्न पर्व, जन्म जयन्ती र दिवस गरेर ८१ दिन सार्वजनिक बिदा हुने

गणतन्त्र, सहिद र प्रजातन्त्र दिवस लगायतका बिदाका दिन सार्वजनिक सेवा प्रवाह गर्नुपर्ने

काठमाडौं । आगामी वर्ष २०८२ मा शनिवार बाहेक थप २९ दिन मुलुकभरि सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको शनिवार बाहेक २९ दिन सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयको प्रस्तावमा भएको निर्णय अनुसार आगामी वर्ष २०८२ मा ५२ दिन शनिवार बिदा रहेकोमा शनिवार बाहेक थप २९ दिन पनि मुलुकभरि सार्वजनिक बिदा दिने निर्णय भएको छ । जसमा ५२ शनिवार बाहेक थप ३२ दिन पर्व, जन्म जयन्ती र दिवसको बिदा भए पनि ३ वटा विभिन्न सार्वजनिक बिदाका दिन शनिवार नै परेका कारण २८ दिन मात्रै शनिवार बाहेक वर्षभरि मुलुकभरि नै बिदा कायम हुने गरी सार्वजनिक बिदा हुने भएको हो ।

यसरी हिसाब गर्दा मुलुकभरमा ५२ दिन शनिवार र थप २९ दिन विभिन्न पर्व, जन्म जयन्ती र दिवस गरेर ८१ दिन मुलुकभरिमा लागू हुने गरी सार्वजनिक बिदा हुने भएको छ । दशैका ६ दिन र तिहारका ५ दिन बाहेक वैशाख १ मा नयाँ वर्ष, वैशाख २९ मा चण्डी पूर्णिमा, असोज ६ मा घटस्थापना, कात्तिक १० मा छठ पर्व, मंसिर १८ मा धान्य पूर्णिमा, पुस १० मा क्रिसमस डे, पुस १५ मा तमू ल्होसार, माघ १ मा माघी पर्व, माघ ५ मा सोनम ल्होछार, फागुन ३ मा महाशिवरात्री, फागुन ६ मा ग्याल्पो ल्होसार, फागुन १८ मा हिमाली जिल्लामा मनाइने फागु पूर्णिमा र फागुन १९ गते तराईका जिल्लामा मनाइने फागु पूर्णिमाको दिन मुलुकभरि सार्वजनिक बिदा हुने गरी बिदा दिइने निर्णय भएको छ ।

यस्तै इस्लाम धर्मावलम्बीको पर्व (इद उल फित्र)मा एक दिन र इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इद उल अजहा)मा थप एक दिन गरेर दुई दिन मुलुकभरिका लागि थप बिदा दिने निर्णय भएको छ । २ दिनमा कुन दिन बिदा दिने भन्ने निर्णय भने गृह मन्त्रालयले मुस्लिम आयोगको सिफारिसमा गर्नेछ ।

आगामी साउन २४ गते रक्षा बन्धन साउन ३१ गते श्रीकृष्ण जन्माष्टमी र दशैको अन्तिम दिन असोज १८ गते सार्वजनिक बिदा दिने निर्णय भए पनि यी तिनै दिन शनिवार परेकाले दोहोरो बिदा हुनबाट जोगिएको छ ।

अगामी वर्षमा मुलुकभरि सार्वजनिक बिदा हुनेमा दशै बिदा ६ दिन, तिहार बिदा ५ दिन र अरू विभिन्न पर्व बिदा १३ दिन गरेर पर्व बिदा २४ दिन हुनेछ । जसमा दशैको अन्तिम दिन भने शनिवार बिदा रहेको छ ।

यस्तै जन्म जयन्ती बिदा २ दिन र विभिन्न दिवसका आसवरमा ६ दिन गरेर थप ८ दिन मुलुकभरि सबैलाई हुने गरी सार्वजनिक बिदा दिइएको छ । जसमा वैशाख १८ मा विश्व मजदुर दिवस ९मे १०, जेठ १५ मा गणतन्त्र दिवस, असोज ३ मा संविधान दिवस, माघ १६ मा सहिद दिवस, फागुन ७ मा बिहीबार राष्ट्रिय प्रजातन्त्र दिवस र फागुन २४ मा अन्तर्राष्ट्रिय महिला दिवसको दिन मुलुकभरि सबैलाई हुने सार्वजनिक दिवस बिदा हुने भएको छ । यस्तै वैशाख २९ मा बुद्ध जयन्ती र पुस २७ मा पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस)का अवसरमा पनि मुलुकभरि नै बिदा हुने गरी सार्वजनिक बिदा दिइने निर्णय भएको छ ।

त्यो बाहेक सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र ३ दिन, महिला कर्मचारीका लागि मात्र २ दिन, शिक्षण संस्थाका लागि मात्र एक दिन, काठमाडौं उपत्यकालाई मात्रै जात्रा बिदा ४ दिन, अपाङ्गता भएका कर्मचारीका लागि मात्रै एक दिन र सम्बन्धित धर्मावलम्बीका लागि मात्रै ३ दिन बिदा दिइने निर्णय भएको छ । जेठ २१ मा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस राष्ट्रिय रूपमा मनाइने भए पनि कार्यालय खुल्ने गरी मनाइने उल्लेख छ । विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले व्यवस्थापन र समायोजन गर्न सक्ने सरकारले निर्णय गरेको छ ।

केहि पर्वमा सार्वजनिक बिदा भए पनि सार्वजनिक सेवा प्रवाह गर्नुपर्ने

सरकारले विभिन्न पर्वमा सार्वजनिक बिदा दिए पनि कतिपय बिदाको दिनमा भने सार्वजनिक सेवा प्रवाह गर्नका लागि सम्बन्धित मन्त्रालय वा निकायले आवश्यक व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । जसमा चण्डी पूर्णिमा, उभौली पर्व, रक्षा बन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापन, धान्य पूर्णिमा, उद्यौधी पर्व, योमरी पुन्हि, क्रिसमस डे, तमू ल्यहोसार, माघे संक्रान्ति, सोनम ल्होसार, महाशिवरात्री, ग्याल्पो ल्होसार, इद उल फित्र, इद उल अजहाका दिन सार्वजनिक सेवा प्रवाह गर्न सम्बन्धित मन्त्रालय वा निकायले आवश्यक व्यवस्था मिलाउनुपर्नेछ । साथै गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा र घोडेजात्रा बिदा, गणतन्त्र दिवस, सहिद दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस बिदा, बुद्ध जयन्ती, पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस)का दिनमा पनि सार्वजनिक सेवा प्रवाह गर्न सम्बन्धित मन्त्रालय वा निकायले आवश्यक व्यवस्था मिलाउनुपर्नेछ ।

यी दिनमा नागरिकता सम्बन्धी सेवा, राहदानी सम्बन्धी सेवा, कन्सुलर सम्बन्धी सेवा, भन्सार तथा राजस्व सम्बन्धी सेवा (राजस्व अनुसन्धान समेत), क्वारेन्टाइन सम्बन्धी सेवा, सवारी अनुमतिपत्र, सवारी साधन दर्ता तथा नवीकरण लगायतका यातायात व्यवस्थापन सम्बन्धी सेवा, उद्योग, वाणिज्य र कम्पनी प्रशासन सम्बन्धी सेवा प्रवाह गर्नुपर्नेछ ।

यस्तै वैदेशिक रोजगार सेवा, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धी सेवा, मालपोत तथा नापी सम्बन्धी सेवा, स्थानीय तहबाट प्रवाह हुने सार्वजकि सेवा, भेटेनरी सेवा, खानेपानी सम्बन्धी सेवा, विद्युत सम्बन्धी सेवा प्रवाह गर्नुपर्नेछ ।

यस्तै सडक तथा ढल मर्मत सम्भार सम्बन्धी सेवा, खाद्य, गुणस्तर परीक्षण, विभिन्न निकाय तथा शिक्षण संसथाबाट सञ्चालन हुने परीक्षा सम्बन्धी कार्य, वैदेशिक अध्ययन अनुमति (एनओसी) सम्बन्धी सेवा पनि दिनुपर्नेछ ।

सरकारको निर्णय अनुसार नेपाल प्रहरीबाट प्रदान गरिने चारित्रिक प्रमाणपत्र सम्बन्धी सेवा, सम्बन्धित मन्त्रालय वा निकायले तोकेका सार्वजनिक सेवासँग सम्बन्धित अन्य सेवा, प्रदेश सरकार र स्थानीय तहले तोकेका सार्वजनिक सेवा प्रवाह सम्बन्धी अन्य सेवा, बैंकिङ तथा बीमा सम्बन्धी कारोबारको सेवा पनि सार्वजनिक बिदाको दिन प्रवाह गर्र्नुपर्नेछ ।

अस्पताल, दूरसञ्चार, प्रहरी, अध्यागमन, काराकार, फोहोरमैला व्यवस्थापन, फायरव्रिगेड, टक्सार, सार्वजनिक सेवा प्रसारण संस्था (रेडियो नेपाल, नेपाल टेलिभिजन), मुद्रण विभाग, हुलाक, शान्ति सुरक्षा, विपद् आदी जस्ता रोजाना र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयले सार्वजनिक बिदाका दिनमा समेत दैनीक काम नरोकिने गरी सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको छ ।

अत्यावश्यक र आकस्मिक सेवा सञ्चालन गर्ने निकाय तथा कार्यालयमा कार्यरत कर्मचारीको लागि आलोपालो गरी सट्टा बिदाको व्यवस्था त्यस्ता निकाय तथा कार्यालय स्वयंले मिलाउनुपर्ने भनिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker