भुजेल बस्तीमा एक घर एक धारा र एक शौचालय अभियान
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिकाले भुजेल बस्तीमा एक घर एक धारा र एक शौचालय अभियान चलाएको छ । गाउँपालिकाको वडा नं. २ र ५ मा रहेका भुजेल समुदायको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ गाउँपालिकाले यो अभियान अगाडि ल्याएको हो ।
वि.सं. २०६३ सालमा अस्थायी शौचालय निर्माण गरिएको उक्त बस्तीमा पानीको अभावका कारण जथाभावी शौचालय हुँदा दुर्गन्ध हुन थालेपछि खानेपानी र पक्की शौचालय संगसंगै निर्माण गर्ने कार्यक्रम अगाडि ल्याएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।
भुजेल बस्तीमा सहज रुपमा खानेपानीको पहुँच पुर्याउन प्रदेश खानेपानी कार्यालय पोखराको आर्थिक सहयोगमा खानेपानी व्यवस्था गर्न लागिएको छ । दुबै वडाका लागि तीन लाख रुपैयाँ दरले ६ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताए ।
उक्त वडाको पर्व तर्फको करिब एक किलोमिटर दुरीमा रहेको थाङ्नेखोलाबाट पानी ल्याउन पाइप बिच्छाउने र नयाँ टयाङ्गकी निर्माण गरी पानी बितरण गरिने शर्माले बताए ।










