मुग्लिन-पोखरा सडक विस्तार : चरा संरक्षण गर्न सरोकारवालाहरुको ऐक्यबद्धता
डिपि अधिकारी/बन्दिपुर

मुग्लिन-पोखरा सडक विस्तार आयोजना सञ्चालनका क्रममा चरा संरक्षण गर्न सरोकारवालाहरुले ऐक्यवद्धता जनाएका छन् । सडक विस्तारका क्रममा सडक सिमा भित्र रहेका चराहरुको बासस्थान रहेका रुखहरु कटान गरिएपछि चराचुरुङ्गीहरुको बासस्थानको विषयलाई लिएर चासो र चिन्ता ब्यक्त गरिएपछि सरोकारवालाहरुले चराको बासस्थान संरक्षणमा ऐक्यवद्धता जनाएका हुन् ।
मुग्लिङ-पोखरा सडक आयोजनाका प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, डिभिजन वन कार्यालय तनहुँ, भानुभक्त प्राणी उद्यन कार्यालय, सामुदायीक वन उपभोक्ता समिति, चरा विज्ञ लगायतका सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुको आइतबा बन्दिपुर-५ याम्पामा आयोजित अन्तरक्रिया कार्यक्रममा आगामी दिनमा संरक्षणका लागि चाल्नु पर्ने कदमका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले, मुग्लिङ-पोखरा सडक आयोजनाका इञ्जिनियर विष्णु प्रसाद पाण्डे, भानुभक्त प्राणी उद्यन कार्यालय छिर्कनका प्रमुख भोजराज पन्थ, चरा विज्ञहरु कृष्ण भुसाल, मित्र पाण्डे, सामुदायीक वन उपभोक्ता समितिका पदाधिकारी लगायतले चराचुरुङ्गी संरक्षणको विषय महत्वपूर्ण विषयवस्तु भएकाले सबैले चासो दिन र सहकार्य गर्न आवश्यक रहेको बताएका थिए ।
मुग्लिङ-पोखरा सडक विस्तारमा कटान गर्न बाँकी रहेका रुख मध्ये सकेसम्म चराको बासस्थान रहेका रुख कटान नगर्ने प्रतिबद्धता ब्यक्त गरिएको छ । वन्यजन्तु र वनस्पती एक आपसमा विशेष महत्व रहने हुँदा चराको संरक्षणमा ध्यान दिनु पर्ने भन्दै चराको संरक्षण हुन नसकेमा मानव सभ्यतामा समेत असर पर्ने हुँदा स्थानीय तह र सम्बन्धित वन उपभोक्ता समितिले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिइएको थियो ।

मुग्लिङ-पोखरा सडक विस्तारका क्रममा २०७८ माघ १९ गते तनहुँको शुक्लागण्डकीमा अति संकटापन्न सानो खैरो गिद्धको बच्चा सहितको गुँड रहेको सिमलको रुख ढालिएपछि चरा संरक्षणका लागि संरक्षणकर्मीहरुले एडिबीलाई समेत गुहारेका थिए । यस क्षेत्रमा १६९ प्रजातिका चरा रहेकोमा ७ प्रजातिका चरा विश्वमा दुर्लभ मानिएको छ । लोपोन्मुख अवस्थामा रहेका सानो खैरे गिद्ध, डँगर गिद्ध, सुन गिद्ध, बगाले बगेडी, सेतो गिद्ध र गोमायु महाचिल यस क्षेत्रमा भेटिएका छन् ।
सडक विस्तारको क्रममा तनहुँको आँबुखैरेनीदेखि कोत्रेसम्म हाल सम्म करिब ६ हजार रुख कटान भैसकेको छ भने केही रुख कटान गर्न बाँकी छ । कटान गरिएका रुख डिभिजन वन कार्यालयलाई नबुझाउँदा वर्खाको बेला काठ-दाउरा कुहिने हुँदा राजश्वमा कमि आउने भएकाले तत्काल घाटगद्धी गरी वन कार्यालयलाई बुझाउन सरोकारवालाहरुले माग गरेका छन्।
यस्तै, कटान गरिएका रुखको सोधभर्ना स्वरुप वृक्षरोपण गर्नुपर्ने ब्यवस्था भएपनि साउन महिना शुरु भैसक्दा समेत वृक्षरोपण गर्ने क्षेत्रको टुँगो नलागेकाले अन्यौलकै अवस्था रहेको सरोकारवालाहरुले स्वीकार गरेका छन् ।










