भूमि आयोग तनहुँका विज्ञ सदस्य कार्कीद्वारा राजिनामा
भञ्ज्याङन्यूज

राष्ट्रिय भूमि आयोग तनहुँका विज्ञ सदस्य श्रीराम कार्कीले पदबाट राजिनामा दिएको घोषणा गरेका छन् । २०७८ साल चैत ४ गते राष्ट्रिय भूमि आयोग तनहुँमा विज्ञ सदस्यको जिम्मेवारी पाएका कार्कीले बिहीवार दमौलीमा पत्रकार सम्मेलन गरी आयोगको सदस्यबाट राजिनामा दिएको घोषणा गरेका हुन् ।
आयोगको सदस्यका रुपमा नियुक्त पाउँदा उनी नेकपा -यस)बाट राजनीतिमा सक्रिय थिए भने गएको साउन ५ गते उनले उक्त पार्टी परित्याग गरी पुनः नेकपा एमालेमा प्रवेश गरेका थिए। राजनीतिक धर्म र निष्ठा ठानि आफुले जिम्मेवारीबाट राजिनामा दिएको उनले बताए । सम्बन्धित पार्टीलाई आफ्नो स्थानमा नियुक्त गर्ने निर्णयमा कुनै वाधा नपुर्याउने प्रतिवद्धता समेत उनले जनाएका छन् ।
तत्कालीन समयमा नेकपा एकीकृत समाजवादीको तर्फाट आयोगको सदस्यको जिम्मेवारी प्राप्त गरेको बताउँदै उनले भने, ‘अर्को पार्टी प्रवेश गरेपछी नैतिकताका आधारमा आफुले पदबाट राजिनामा दिएको हुँ । कानुनत् मैले राजिनामा दिनुनै पर्ने प्रावधान त्यस्तो केही छैन त्यही पनि मैले स्वाभीमान र नैतिकताका आधारमा राजिनामा दिएको छँ ।”
एमाले प्रवेश गरेपछि साउन ३० गते जिल्ला भूमि आयोग तनहुँलाई औपचारिक रुपमा लिखित पत्र बुझाएको बताउँदै उनले भने, ‘पूर्ववत् पार्टीबाट मेरो राजनीतिक चरित्र र व्यक्तिगत इमान्दारीता माथि अफवाह फैलाउने काम भयो, यसमा गम्भिर ध्यानाकर्षण भएको छ ।’
आफुले पहिला नै भूमि आयोगको सदस्य पदका सम्बन्धमा पार्टीलाई जानकारी गराएको भएपनि रिसिवी साधेर अनेकौं टिकाटिप्पणी गरिएको उनको आरोप छ । उनले भने ‘मेरो विरुद्धमा पत्रकार सम्मेलन गरी अनावश्यक टिप्पणी गरिएको त्यसलाई म सिधैं इन्कार गर्दछु । आफ्ना विरुद्धमा भ्रम नफैलाउन अनुरोध गर्दछु ।’
यसबीचमा तनहुँका १० वटै स्थानीय तहमा भूमिहीन, दलित, भूमिहीन सुकुम्वासी र अव्यविस्थत बसोबास समस्या हल गर्न स्थानीय पालिकाहरुसँग समन्वय गर्दै काम गरेको उनले बताए । उनका अनुसार व्यासको १४ नं वडाबाट जग्गा नापजाँचको काम समेत अगाडि बढाइएको छ । त्यस्तै भानु, शुक्लागण्डकी र व्यास नगरपालिका तथा देवघाट गाउँपालीकामा नापजाँचका कामहरु तीव्रताका साथ अगाडि बढेको छ ।
यस्तै बन्दीपुर र म्याग्दे गाउँपालिकाले निस्सा वितरण सम्पन्न गरेका छन् । ऋषिङ्ग, घिरिङ्ग गाउँपालिका तथा भिमाद नगरपालिकाले भूमिहीन सुकुम्वासीको लगत संकलन गरेको छ । आबुँखैरेनी गाउँपालिकाले भने आफ्नो सबै वडामा नापजाँच सम्पन्न गरी वडा नं २ वटा भूमिहीन, दलित र भूमिहीन सुकुम्वासीहरुको लालपूर्जा बाड्ने काम अन्तिम चरणमा पुर्याएको उनले बताए ।










