आज १८औं गणतन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइदै

विविध कार्यक्रम गरी आज १८औं गणतन्त्र दिवस हर्षाेल्लास साथ मनाइँदैछ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट महानुभाव सहभागीमा कार्यक्रम हुँदै छ भने जिल्लामा पनि विविध कार्यक्रम आयोजना गरिएको छ ।
यस अवसरमा गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि संघर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको स्मरण गरिनेछ ।
कार्यक्रममा गणतन्त्रको महत्त्व झल्कने विभिन्न झाँकी प्रदर्शनी गरिने छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटलगायतबाट मार्चपास हुनेछ। गणतन्त्र दिवस–२०८२ अङ्कित ब्यानर प्रदर्शन र पुष्पवृष्टि गर्ने कार्यक्रम छ ।

मुलुकमा सामाजिक न्याय, स्वाधीनता र समृद्धि सुनिश्चिता गर्न तथा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलन र संघर्षमा धेरै नेपालीजनले जेलनेल र यातना सहन परेको थियो ।
तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरूद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेकपा(माओवादी)ले गरेको सशस्त्र संघर्षका उपलब्धिका रूपमा मुलुकमा गणतन्त्र घोषणा गरिएको हो ।
विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखिको निरङ्कुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो । उक्त ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ । राजनीतिक दल, प्रदेश सरकार, स्थानीय तह र विभिन्न संघसंस्थाले समेत गणतन्त्र दिवसका अवसरमा यसको महत्त्व उजागार गर्ने विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
यस्तै, गणतन्त्र दिवसका अवसरमा नेकपा (एमाले)ले आजै राजधानीमा भृकुटीमण्डपमा ‘गणतन्त्र उत्सव’ आयोजना गरेको छ । त्यसैगरी नेकपा (एकीकृत समाजवादी)ले पनि यस वर्षको गणतन्त्रका अवसरमा विभिन्न सामाजिक एवं रचनात्मक कार्य गरी मनाउन मातहतका कमिटिलाई निर्देशन दिएको छ ।
यस्तै, गणतन्त्र दिवस तनहुँमा विविध कार्यक्रम आयोजना गरिएको छ । गणतन्त्र दिवस समारोह समिति बुधबार गणतन्त्र दिवस विशेष रेडियो परिसंवाद, विशेष समाचार र सम्पादकीय प्रशारण प्रकाशन, सम्बन्धित धार्मिक संस्थाको संयोजनमा विभिन्न मठमन्दिर, गुम्बा, मस्जिद, चर्च लगायतका स्थानमा पूजापाठ तथा प्रार्थना गर्ने, तनहुँ उद्योग वाणिज्य संघ र व्यास १, २, ३ र ४ वडाको संयोजनमा महत्वपूर्ण सार्वजनिक स्थानमा सरसफाइ, शिक्षा विकास तथा समन्वय इकाइ, व्यास नगरपालिका शिक्षा शाखा र सामाजिक विकास कार्यालयको संयोजनमा माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ ।
यस्तै, दिवसका अवसरमा बुधबार सामाजिक विकास कार्यालयको संयोजनमा जनज्योति माविमा बौद्धिक अपाङ्गता विद्यार्थीलाई पोशाक वितरण, व्यास नगरपालिकाको संयोजनमा अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । आज जिल्ला समन्वय समिति र व्यास नगरपालिकाको संयोजनमा राष्ट्रिय गान, झण्डोत्तोलन, सहिदहरुप्रति सम्मान कार्यक्रम, प्रभातफेरी, फलफूल वितरण, दीप प्रज्ज्वलन, नागरिक स्वास्थ्य परीक्षण गरी गणतन्त्र दिवस मनाउने कार्यक्रम तय गरिएको छ।









