आधुनिकतामा हराउँदै हाम्रो आत्मनिर्भर समाज
सुरेशकुमार पाण्डे

हाम्रो सामाजिक सोच र चिन्तन प्रणाली क्रमशः अवसरवादी बन्दै गएको देखिन्छ। मानिसको विचार नकारात्मक दिशातर्फ उन्मुख हुँदै गएको छ। छोराछोरीले थोरै पढेपछि आफूलाई कृषि र शारीरिक श्रमबाट टाढा राख्न थाल्नु, खेतीपातीलाई हीन काम ठान्नु र बजारमा स–साना तलबका नोकरीमा समय खेर फाल्नु हाम्रो समाजको कमजोर पक्ष हो ।
पहिले गाउँघरमा प्रत्येक परिवारले केही न केही गाईभैंसी, बाख्रा, कुखुरा पाल्थे । अहिले भने एक–दुई घरमा मात्र त्यस्ता पशुपालन देखिन्छ। गाईभैंसी पाल्ने चलन लगभग हराइसकेको छ तर विदेशी नस्लका कुकुर पाल्ने प्रतिस्पर्धा बढ्दै गएको छ। दुध, दही, घ्यू, पनीर, मोहीजस्ता वस्तु गाउँमै उत्पादन हुने गर्थे, अहिले ती सबै बजारमा खरिद गर्नुपर्ने भएको छ । तरकारी, माछा, मासु र अण्डासम्म पनि छिमेकी मुलुकबाट आयात हुन्छ । सियोदेखि कपडासम्म, कारदेखि साधारण वस्तुसम्म सबै कुरा विदेशबाट आउँछ। निर्यात भनेको हाम्रो युवाशक्ति मात्रै हो– त्यो पनि अरूको देशमा अरूको नियम र ज्यालामा ।
यदि सरकारले सिंचाइ र कृषि पूर्वाधारमा लगानी गरेको भए युवाहरू आफ्नै गाउँमा खेतीपाती गरेर आत्मनिर्भर जीवन बाँच्न सक्थे। तर सरकारले किसानको समस्या समाधान गर्नुभन्दा विदेशी श्रम सम्झौतामा ध्यान दियो। यसबाट शासक वर्गलाई दुई फाइदा मिल्यो– पहिलो, रेमिट्यान्स, र दोस्रो, आफ्ना नातागोता र कार्यकर्तालाई मेनपावर व्यापारमा संलग्न गराउने अवसर। युवाहरू विदेश पठाएर उनीहरूलाई देशको सरोकारबाट टाढा राख्ने नीति पनि सफल भयो ।
छिमेकी मुलुकहरूलाई पनि यसबाट फाइदा पुग्यो। उनीहरूले आफ्ना अविकसित वा फाल्तु सामानको बजार पाए, नेपालको अर्थतन्त्रमाथि प्रभाव जमाउन सके, र अन्ततः देशलाई आफ्नो अधीनमा राख्ने मौका पाए । देशको विकास अवरुद्ध भएपछि उनीहरूलाई मनपरी चलाउन सजिलो भयो ।
हामी गर्वका साथ भन्छौं– “हाम्रो देश कहिल्यै गुलाम भएन।” तर सुगौली सन्धि र गोरखा भर्ती प्रणालीले हाम्रो स्वतन्त्रता र आत्मसम्मानमा गहिरो चोट पु¥यायो । त्यसबेलादेखि नै देशको स्वाभिमान खुम्चिँदै परनिर्भर बन्ने प्रक्रिया सुरु भयो । शासकहरूले यो बुझेर पनि बेवास्ता गरे ।
आज पनि नेपालीले आफ्नै भूमिमा पसिना बगाउनेभन्दा परदेशमा रगत बगाउन रुचाउँछन् । यो प्रवृत्तिले हाम्रो समाजलाई झन् कमजोर बनाइरहेको छ। शासन प्रणाली अपांग छ, नेताहरू लोभी र पदलोलुप छन्– यही कारण आजको अवस्था दयनीय बनेको हो ।
विज्ञान र प्रविधिको युगमा जब विश्व आकास र पातालमा नयाँ आविष्कार गर्दैछ, हाम्रो समाज अझै झारफुक, बोक्सी र अन्धविश्वासमा अल्झिएको छ। मेहनत नगरी चमत्कारबाट सम्पन्न हुने चाहना राख्ने रोगले नयाँ पुस्तासम्म असर गरेको छ । प्रगतिशीलताको नाममा छाडापन बढेको छ भने संस्कारको नाममा पुरानो घोर रूढीवाद अझै बलियो छ ।
एउटा वर्ग पुराना गलत परम्परालाई ‘संस्कार’ भन्दै टेकेर बसेको छ भने अर्को वर्ग ‘प्रगतिशील’ बन्ने नाममा पारिवारिक र सामाजिक जिम्मेवारीबाट पलायन भइरहेको छ। महिलाको स्वतन्त्रता र समानताको कुरा गर्नेहरू प्रगतिशील मानिन्छन्, तर त्यो प्रगतिशीलता जिम्मेवारी र मर्यादासँग सन्तुलित हुनुपर्छ। कसैले विद्यालय वा कलेज पढ्यो भने उसले खेतीपाती वा पशुपालन गर्ने कुरा अपमानको रूपमा लिन्छ । बजारमा थोरै ज्यालाको नोकरी गर्न तयार हुन्छ तर आफ्नै खेतबारीमा श्रम गर्न लजाउँछ। यो मानसिकता परिवर्तन नहुन्जेल समाजमा आर्थिक र सामाजिक सन्तुलन सम्भव छैन ।
भारतजस्ता देशका पढेलेखेका मानिस पनि आफ्नै खेतबारीमा काम गर्छन् । इन्जिनियरदेखि डाक्टरसम्मले खेती र पशुपालनलाई जीवनशैलीको हिस्सा बनाएका छन् । त्यहाँ शिक्षा आत्मनिर्भरता र श्रमप्रतिको सम्मानका लागि लिइन्छ, अहंकारका लागि होइन ।
तर हाम्रो समाजमा शिक्षित भनिने वर्ग श्रमविहीन र निर्भर बनिँदै गएको छ । पहिलाका शिक्षक र कर्मचारीहरू घरको काम गर्थे, बिहान घाँस काटेर विद्यालय जाने र बेलुका गाईबस्तुको हेरचाह गर्ने चलन थियो। त्यसबेला गाउँमा दूध, दही, घ्यू र मोहीको अभाव थिएन । आज ती सबै वस्तु किनेर पनि सजिलै पाइँदैनन् ।
यो अवस्था परिवर्तन नगरे हाम्रो समाज झनै दयनीय बन्नेछ। आत्मनिर्भरता, श्रमको सम्मान र व्यवहारिक शिक्षा बिना देश र समाज दुवै बलियो बन्न सक्दैनन् ।










