वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’

वालिङ (स्याङ्जा) : स्याङ्जाको वालिङ नगरपालिका– १४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत विद्यालयले दिवा खाजामा प्रयोग गर्ने सामग्री विद्यालयमै उत्पादन गर्दै आएको छ ।

वालिङ नगरपालिकाको ‘एक विद्यालय एक करेसाबारी अभियान’ अन्तरगत सिक्दै कमाउँदै कार्यक्रममार्फत विद्यालयले मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आइरहेको छ । विद्यालयले शैक्षिक सत्र २०८१ देखि यो कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक मित्रलाल खनालले जानकारी दिनुभयो । नगरपालिकाले यो कार्यक्रम सञ्चालनका लागि शैक्षिक वर्ष २०८१ मा रु एक लाख उपलब्ध गराएको थियो भने चालु शैक्षिक वर्षका लागि रु एक लाख उपलब्ध गराउने गरी सम्झौता भइसकेको उहाँले बताउनुभयो ।

सरकारले कक्षा १–५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि प्रति विद्यार्थी रु १५ उपलब्ध गराउँदै आएको छ । कक्षा १–८ सम्म सञ्चालनमा रहेको यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो ।“विद्यालयसँगै जोडिएको स्थानीयको तीन रोपनी जग्गा भाडामा लिएर शिक्षक विद्यार्थी मिलेर मौसमी तथा बेमौसमी जातका तरकारी उत्पादन गर्दै आएका छौँ” उहाँले भन्नुभयो, “यहाँ उत्पादन भएको तरकारी विद्यालयको दिवा खाजामा प्रयोग गर्छौँं ।”

दिवा खाजामा प्रयोग गरेर रहेको उत्पादनलाई बिक्री गरी चामल, चना लगायतका अन्य खाद्यान्न विद्यालयले खरिद गर्दै आएको छ । कक्षा ६, ७, ८ का विद्यार्थी र शिक्षकहरुले कक्षा खाली भएका बेला, बिदाका दिनमा सामूहिकरुपमा करेसाबारीमा तरकारी लगाउन सिक्ने गरेका छन् ।

मलखाद बोक्ने, खनजोत गर्ने अथवा भारी कामका लागि कामदार खोज्ने र हल्का काम शिक्षक विद्यार्थीबाट हुने गरेको छ । करेसाबारीमा टनेलभित्र र बाहिर गरी मौसमी र बेमौसमी तरकारी अन्तरगत करेला, घिरौँला, काँक्रा, खुर्सानी, गोलभेडा, काउली, बन्दा, आलु, प्याज, लसुन उत्पादन गर्दै आएको छ ।

विद्यालयले गत शैक्षिक सत्र २०८१ मा रु ८० हजारको गोलभेडा लगायतका तरकारी बिक्री गरेर आम्दानीसमेत गर्न सफल भएको उहाँले बताउनुभयो । यसवर्ष दिवा खाजामा प्रयोग गर्न मिल्ने खालका तरकारीसँगै व्यावसायिकरुपमा अकबरे खेती गरिएको छ । अहिले विद्यालयको करेसाबारीमा एक हजार बोट अकबरे खुर्सानी लगाइएको छ ।

विद्यार्थीले पढाईसँगै दैनिक जीवनमा प्रयोग हुने ज्ञान सीप विद्यालयमै सामूहिकरुपमा सिक्न पाएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र खाण ठकुरीले बताउनुभयो ।“विद्यालयमा सिकेको सीप आफ्नो घरमा आएर पनि प्रयोग गर्न विद्यार्थीहरु सक्ने भएका छन्” उहाँले भन्नुभयो, “यसबाट विद्यार्थी तथा अभिभावकहरुमा सकारात्मक सन्देश गएको छ, सिक्दै कमाउँदै कार्यक्रम प्रभावकारी भएको छ ।”ग्रामीण भेगमा रहेको उक्त विद्यालयमा ७६ जना विद्यार्थी र ११ जना शिक्षक तथा कर्मचारी रहेका छन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker