तनहुँमा कोरोना विरुद्धको खोप कार्यक्रम शुरु, १ हजार ६७९ स्वास्थ्यकर्मीलाई खोप लगाइदै

- भञ्ज्याङ समाचारदाता (दमौली)
कोभिड-१९ विरुद्धको पहिलो चरणको खोप कार्यक्रम तनहुँमा पनि शुरु गरिएको छ । भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई उपलब्ध गराएको कोरोना भाइरसको दश लाख मात्रा खोप मध्येबाट प्रदेश सरकारले तनहुँलाई १८९ भायल खोप उपलब्ध गराएको छ ।
प्रदेश सरकारबाट उपलब्ध खोप प्रमुख जिल्ला अधिकारी सागर आचार्यले दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेल र स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीलाई हस्तान्तरण गरेसंगै बुधबारबाट तनहुँमा पहिलो चरणको कोभिड विरुद्धको खोप कार्यक्रम शुरु गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरी र म्याग्दे गाउँपालिकाकी स्वास्थ्यकर्मी पार्वती श्रेष्ठले महिला तर्फबाट पहिलो खोप लगाएर कार्यक्रम शुभारम्भ गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय तनहुँले तय गरेको खोप केन्द्रमा पहिलो खोप लगाउँदै स्वास्थ्यकर्मी चौधरीले मनमा केही भय पनि थियो तर, खोप लगाएपछि आफ्नो स्वास्थ्यमा केही समस्या नआएकाले ढुक्का भएको बताए ।
खोप लगाउनु दश मिनेट अगाडिसम्म पनि त्रासकै अवस्था थियो र खोप लगाएको केही समयसम्म स्वास्थ्यमा समस्या देखिन्छ कि भन्ने भय पनि थियो । तर, त्यस्तो केही नभएको र खोप सुरक्षित भएकाले ढुक्क भएर सबैलाई खोप लागाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । पहिलो चरणको खोप लगाएकाहरुलाई चार हप्तापछि पुनः खोप दिइने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । १८ वर्ष भन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई कोरोना विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।
माघ १९ गतेसम्म जिल्लाका १ हजार ६७९ स्वास्थ्यकर्मीलाई खोप लगाइदै छ । खोप लगाउनका लागि दमौलीमा तीन वटा खोप केन्द्र तयार गरिएको छ । व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र ऋषिङ गाउँपालिकाका स्वास्थ्यकर्मीलाई माघ १४ र १५ गते, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र घिरिङ गाउँपालिकाका स्वास्थ्यकर्मीलाई माघ १६ र १७ गते, भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका र देवघाट गाउँपालिकाका स्वास्थ्यकर्मीलाई माघ १८ र १९ गते खोप लगाउन कार्यक्रम तय भएको प्रमुख अधिकारीले बताए।
तनहुँको व्यास नगरपालिकाका ५५८, म्याग्दे गाउँपालिकाका ८२, ऋषिङ गाउँपालिकाका ९८, शुक्लागण्डकी नगरपालिकाका २६७, भिमाद नगरपालिकाका १७७, घिरिङ गाउँपालिकाका ६१, भानु नगरपालिकाका १७१, आँवुखैरेनी गाउँपालिकाका ७३, बन्दिपुर गाउँपालिकाका १०५ र देवघाट गाउँपालिकाका ८७ जनालाई खोप लगाइदैछ ।
जिल्लाका सबै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खट्टनिे सुरक्षाकर्मी, सरसफाइकर्मी लगायतलाई खोप लगाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । यस्तै, खोप लगाएपनि स्वास्थ्यमा केही समस्या आयो भने तत्काल उपचारको व्यवस्था तथा खोप लगाउने व्यक्तिलाई ३० मिनेटसम्म स्वास्थ्यकर्मीको निगरानीमा समेत राखिने उनले बताए ।
तनहुँका १० वटै पालिकामा गरी अहिलेसम्म १२ हजार ४१९ जनाको स्वाब नमुना संकलन गरी पिसिआर परीक्षण गर्दा १ हजार ४३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमति मध्ये १ हजार ३६८ जना निको भएका छन् भने ४४ जना होमआइसोलेसनमा बस्दै आएका छन् । यस्तै तनहुँमा कोरोना संक्रमणका कारण ८ महिला र १६ पुरुष गरी २४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले विवरण सार्वजनिक गरेको छ ।