बाख्रा पालेरै जीविकोपार्जन
भञ्ज्याङ समाचारदाता/म्याग्दे

चिमखानाका कृष्ण खड्काले बाख्रा पालेरै नै जीविकापार्जन गर्दै आएका छन् । म्याग्दे गाउँपालिका-५, स्थित चिमखानका कृष्णले बिगतदेखिनै बाख्रा पालेर जीविकोपार्जन गर्दै आएका हुन् ।
कृपा कृषि तथा पशु फर्म दर्ता गरेर वाख्रा पालन गरेका कृष्ण खड्काले २८ वटा बाख्रा पालेका छन् । घरमा श्रीमती, छोरा र बुवाआमा सहित कृषिमा लागेको खड्का बाख्रा पालनमा लागेको वर्षौ भईसक्यो ।
‘जहाँ गएपनि केही न केही गर्नुपर्दछ, त्यो भन्दा आफ्नो गाउँमा नै बाख्रा र कृषि पेशामा लागेको हुँ’, कृष्णले भने, ‘लगातारको प्रयासले हाम्रो जीविकोपार्जन बाख्रा पालनबाट सहज भएको छ । घरमा खाली बस्नुपरेको छैन । आम्दानीको श्रोत राम्रो बनेको छ ।’
‘काममा दत्तचित्त भएर लागे पैसा कमाउन विदेश जानु नपर्ने रहेछ’, कृषक कृष्णले भने, ‘मासिक ७ हजार भन्दा बढि वाख्रा पालनमा खर्च हुने गर्छ । आफ्नै जग्गामा बाख्राका लागि घाँस लगाएको छु । स्थानीय जातका बाख्राको मुल्य राम्रो हुने र जोखिम पनि कमहुने हुँदा व्यवसाय सन्तोषजनक छ ।’
उनले भने, ‘खर्च कटाएर राम्रै आम्दानी हुने र वजारमा कुनै समस्या आएको छैन । सरदरमा मासिक ३० हजार रुपैयाँ बराबरको आम्दानी हुने गरेको छ ।’ कृषक कृष्णले बाख्रा मात्र होइन, व्यवसायिक रुपमा तरकारी खेती पनि गर्दै आएका छन् । करिव ५ रोपनी क्षेत्रफलमा काउली खेती गरेका कृष्णले तरकारी बिक्रीबाट पनि राम्रो आम्दानी लिने गरेका छन् ।
वजार नजिक भएको र विषादीरहित तरकारी बेच्न आफै जाने हुँदा आम्दानी पनि राम्रौ लिने गरेका छन् । हालसम्म कुनै पनि संघसस्थाबाट अनुदान रकम नपाएको बताउने कृषक कृष्णले म्याग्दे गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षको टोलीलाई बताए । कृषकलाई प्रोत्साहन गर्नका लागि विभिन्न कार्यक्रम ल्याउनुपर्ने समेत कृष्णले बताए ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृष्णको कृषि र उत्पादनको प्रशंसा गरे । सबैले आफुलाई चाहिने न्युनतम् आवश्यकता उत्पादन तथा बिक्री गर्न सकियो भने कमाउन विदेशिनु नपर्ने अध्यक्ष श्रेष्ठले बताए ।