बन्दिपुरको विकासका लागि बीस वर्षे गुरुयोजना

कृष्ण न्यौपाने/दमौली

प्राकृतिक सुन्दरता, भूबनोट र मौलिक सांस्कृतिक विशेषताले पहाडकी रानी उपनाम पाएको तनहुँको बन्दिपुर गाउँपालिकाले यहाँ पुग्ने जसलाई पनि लोभ्याउने गर्दछ । विसं २०२५ मङ्सिर १ गते सदरमुकाम दमौलीमा स्थानान्तरण हुनुअघि बन्दिपुर तनहुँ जिल्लाको सदरमुकाम पनि थियो । समुद्र सतहबाट एक हजार ३० मिटर उचाईमा अवस्थित बन्दीपुर मगर, गुरुङ र नेवार समुदायको कला, संस्कृति, प्यागोडा शैलीका मठमन्दिर, प्राचीन कलात्मक घर, ढुङ्गा बिछ्याइएका बाटोघाटोले आकर्षाको केन्द्रविन्दु बनिरहेको छ ।

पृथ्वी राजमार्गको डुम्रेबजार हुँदै दक्षिणी भागमा फैलिएको गाउँपालिकामा छ वटा वडा छन् । बन्दीपुरको कूल क्षेत्रफल १०२ वर्गकिमि हो। विसं २०६८ को जनगणना अनुसार यहाँको कूल जनसंख्या २० हजार १३ रहेको छ । गाउँपालिकाले पर्यटन, कृषि एवं पशुपालन र व्यापारको क्षेत्रमा ठूलो सम्भावना बोकेको छ । यहाँका बहुसङ्ख्यक बासिन्दा कृषि पेशामा संलग्न छन् । आर्थिक क्रियाकलापबाट स्थानीय वासिन्दाको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले गाउँपालिकाले पर्यटन, कृषि र पूर्वाधारलाई प्राथमिकतामा राखेर गुरुयोजना बनाएको छ । राज्यका निर्देशक सिद्धान्तको आधारमा गाउँपालिकाले गर्ने विकासका योजनालाई केन्द्रित गर्न वाञ्छनीय देखिएकाले गाउँपालिकाले एकीकृत विकास गुरुयोजना बनाएर अघि बढेको बताउनुहुन्छ गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा ।

“भोलिको बन्दिपुर कस्तो बनाउने भन्ने कुरा आजैबाट तयारीका साथ लाग्नुपर्दछ र त्यो तयारी स्वरुप हामीले गाउँपालिकाको बीस वर्षो एकीकृत गुरुयोजना तयार गरेका छौँ,” उहाँले भन्नुभयो, “बन्दिपुर विकासको मूल आधार नेपाली विशेषताको कृषि र प्राकृतिक तथा सांस्कृतिक पर्यटनलाई लिइएको हुँदा हामी आधुनिक कृषिप्रणाली र पर्यावरणीय पर्यटनको संख्यात्मक वृद्धिमात्र नभएर गुणात्मक विकास गर्न चाहन्छौँ ।” अध्यक्ष थापाका अनुसार गाउँपालिकाले समग्र बन्दिपुरको विकासको सम्भावना पर्यटनबाट देखेको छ ।

पर्यटनलाई कृषि र जीविकोपार्जनका अन्य व्यवसायसँग एकीकृत गर्न सकेमा गरिबीबाट मुक्त हुन सक्ने विश्वास उहाँको छ । गाउँपालिकाले निर्माण गरेको गुरुयोजनाले पर्यटन, कृषि तथा पशुपंक्षीपालन, लघुउद्यम, भौतिक पूर्वाधार र सांस्कृतिक सम्पदाको संरक्षणलाई एकीकृत गर्दै समृद्ध बन्दीपुर र सुखी बन्दीपुरवासीको परिकल्पना गरेको थापाले बताउनुभयो ।

गाउँपालिकाले संस्थागत विकास, सुशासन र सार्वजनिक सेवा क्षेत्र, कानूनी तथा नीतिगत व्यवस्था उपक्षेत्र, पालिकाको संस्थागत संरचना विकास तथा सुधार उपक्षेत्र, सुशासन, पारदर्शीता र जवाफदेहिता उपक्षेत्र, आर्थिक विकास क्षेत्र, कृषि, बागवानी, पशुपंक्षीपालन उपक्षेत्र, जनपर्यावरणमैत्री पर्यटन विकास उपक्षेत्र, उद्योग व्यवसाय प्रबर्द्धन र उद्यमशीलता विकास उपक्षेत्र, सामाजिक विकासका लागि सार्वजनिक उत्तरदायित्व क्षेत्र, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, युवा, खेलकूद र संस्कृति लगायतलाई आधार मानेर गुरुयोजना बनाएको छ ।

पर्यटन तथा सत्कार उद्योग क्षेत्रलाई बन्दीपुर गाउँपालिकाले आर्थिक समृद्धिको महत्वपूर्ण अवसरका रुपमा लिएको छ । अठारौँ शताब्दीतिर हालको गण्डकी प्रदेशमा रहेका विभिन्न ससाना राज्यले भोटदेखि भारतसम्म व्यापार गर्ने नाकाका रुपमा बन्दीपुर बजार विकास भएको मानिन्छ । विशेषगरी दुइ सयवर्षको हाराहारीमा निर्माण गरिएका घर सांस्कृतिक धरोहरका रुपमा रहेका छन्।

“पर्यटनका माध्यमबाट रोजगारीका अवसर वृद्धि गरी जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएका छौ,” गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले भन्नुभयो, “त्यसका लागि पर्यटन पूर्वाधार निर्माण अहिलेदेखि नै शुरु भइसकेको छ ।” बाह्य पर्यटकको सम्भावना अनुरुप वृद्धि हुने पोखरा र चितवन गन्तव्यलाई लक्षित गरी आउने पर्यटकमध्ये ३० प्रतिशतको अतिरिक्त गन्तव्यका रुपमा बन्दिपुरलाई पाँच दिनको पर्यटन बसाइ स्थलका रुपमा विकास गर्ने परिकल्पना गरिएको गुरुङ बताउनुहुन्छ । पर्यटन र अतिथि सत्कार क्षेत्रको व्यावसायिक विकास गरी पाँच वर्षको अवधिमा कम्तिमा दश हजार मानिसका लागि थप प्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । औषत वार्षिक दुइ लाख २४ हजार पर्यटकले बन्दिपुरमा औषत पाँच दिन बिताउनेछन् । उनीहरुले औषत दैनिक रु पाँच हजार बराबर रकम खर्च गर्ने प्रक्षेपण छ ।

“बन्दिपुर आउने अधिकांश पर्यटक एकैदिनमा फर्किने गरेका छन्, उनीहरुलाई कम्तिमा दुइ रात र तीन दिन बन्दीपुरमै बस्ने बनाउन बीस वर्षो गुरुयोजना बनाएर अगाडि बढेका छौँ,” उहाँले भन्नुभयो, “त्यसका लागि पर्यटकीय पूर्वाधार पहिलो शर्त हो ।” गाउँपालिकाले बन्दिपुर गाउँपालिका-४ र ५ जोड्न रानीवन क्षेत्रमा साइकल लेन निर्माण गरेको छ ।

मगर र गुरुङ गाउँलाई जोड्न र पर्यटकलाई आकर्षित गर्न गाउँपालिकाले ९ किमि साइकल लेन निर्माण गरेको छ । साइकल लेन मार्फत वडा नं ४ को गुरुङ जातिको कोरिखा होमस्टे र वडा नं ५ को मगर जातिको रामकोट होमस्टे जोडिन्छ । गाउँपालिकाले टुँडिखेलमा शिशाको दृश्यावलोकन विन्दु निर्माण गर्ने तयारी गरेको छ । जमिनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकन विन्दु निर्माण गरिनेछ । चीनको ग्रेटवालको झल्को दिने गरी गाउँपालिकाले मिनी ग्रेटवाल पनि निर्माण गरिरहेको छ । गत वर्ष एक हजार एक सय मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ भने चालू आर्थिक वर्षमा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ ।

गत वर्ष रु ७० लाख खर्च भएकामा चालू आर्थिक वर्षमा रु तीस लाखको काम भइरहेको छ । कूल साढे दुइ किलोमिटर दूरी रहने मिनी ग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना छ । गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि रु १९ करोड लागत अनुमान गरिएको छ । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दिपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्क लगायतका संरचना निर्माण गर्ने योजना छ ।

निर्वाहमुखी कृषिमा आश्रति जनसंख्यालाई व्यावसायिक योजनाअनुसार कृषि, बागवानी र पशुपंक्षीपालनमा अगाडि बढाउने गाउँपालिकाको सोच रहेको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी बताउनुहुन्छ । त्यसका लागि गाउँपालिकाले योजना बनाएको छ । कृषि, बागवानी र पशुपंक्षीपालनको व्यावसायिक विकास गरी वार्षिक औषत प्रतिव्यक्ति आय रु ७५ हजारलाई बढाएर दोब्बर पुर्‍याउने र त्यसका लागि हरेक वडामा कम्तिमा १० उत्पादन वस्तुका आधारमा पकेट क्षेत्र निर्माण गरिने सुवेदीले जानकारी दिनुभयो ।

हरेक उत्पादन समूहका लागि वस्तुको गुणस्तरीय उत्पादनका लागि क्षमता अभिवृद्धि गरिने र उत्पादनवस्तुको सहज र गुणस्तरीय रुपमा उपभोक्ता समक्ष पुर्‍याउने गरी बजार श्रृंखलाको सबलीकरण गर्ने योजना छ । गुरुयोजनामा गाउँपालिकाले परिकल्पना गरेका सडक सञ्जाललाई मापदण्डयुक्त र वातावरणमैत्री बनाउने सोच राखिएको छ । सडक सञ्जालको लक्ष्य भनेको हरेक नागरिकलाई कम्तिमा आफ्नो घरबाट २० मिनेटको पैदलयात्रापछि मोटरयात्राको अवसर प्रदान गर्नु रहेको छ । बन्दिपुर विकास गुरुयोजना निर्माण समितिका अध्यक्ष हेमराज लामिछानेले समृद्धि र विकास सबैको चाहना भएपनि चाहनाले मात्रै पूरा नहुने भएकाले गुरुयोजना बनाएर अगाडि बढ्न खोजिएको बताउनुभयो ।

“तत्कालीन, मध्यकालिन र दीर्घकालीन योजना कार्यान्वयनका लागि बजेट, लागू गर्ने निकाय, कार्यक्रम, अनुगमन, मूल्याङ्कन र पुनःवस्तुवादी योजना निर्माण गरी सबैको उचित समायोजनमा मात्रै समृद्धि हासिल गर्न सकिन्छ,” उहाँले भन्नुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker