देवघाटमा शव जलाउने दाउरा अभाव

दैनिक १५ वटा हाराहारी शवको दाहसंस्कार हुने देवघाटधाममा दाउरा अभाव भएको छ । तीन दिनका लागि मात्रै दाउरा मौज्दात रहेकाले त्यसपछि शव जलाउन दाउरा नहुने भएको हो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार अहिले भएका दाउराले तीन दिनलाई भन्दा पुग्दैन । उहाँले भन्नुभयो “रुखका जरा, छरिएरका टुक्राहरु सङ्कलन गर्दा मुस्किलले एक हप्तालाई पुर्‍याउन सकिएला ।” सरकारले सालको काठ ढुवानीमा रोक लगाएपछि दाउराको अभाव हुँदै आएको छ ।

सालको काठको अवैध ओसारपसार नियन्त्रणका लागि नेपाल सरकारले गत जेठ २८ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार देशभर सालको काठको ढुवानीमा रोक लगाएको थियो । विशेषगरी तराईका जिल्लामा सालको काठको अवैध ओसारपोसार रोक्न सरकारले काठ उक्त निर्णय गरेको थियो ।

देवघाट क्षेत्र विकास समितिले चितवन र नवलपरासी बर्दघाट सुस्तापूर्वको जिल्ला वन पैदावर आपूर्ति समितिबाट खरिद गरी सालको दाउरा ल्याउने गर्छ । यसअघि गत चैत ६ गते नवलपरासीबाट ५० चट्टा दाउरा रु आठ लाख ८३ हजारमा खरिद गरी १० गते ल्याउने तयारी भएकोमा सो दिन ल्याउन नसकिएको र त्यसपछि लकडाउनको कारण ल्याउन नसकिएको अध्यक्ष पौडेलले बताउनुभयो । एक चट्टा दाउराले १४ वटासम्म शव जलाउन सकिन्छ ।

यसबीचमा विभिन्न पहलपछि नारायणगढ-बुटवल सडक आयोजनाले काटेको रुखका २६ चट्टा दाउरा ल्याउनका लागि भुक्तानी गरिएको भए पनि स्थानीयवासीले अवरोध गरेपछि २० चट्टा मात्रै आएको थियो । त्यो दाउरा पनि केही दिनमै सकिन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीकी जनसम्पर्क सल्लाहकार सीता पौडेलले यस समस्याका विषयमा प्रधानमन्त्री कार्यालय र वन मन्त्रालयमा आफूले जानकारी गराएको बताउनुभयो । त्यसपश्चात् २६ चट्टा दाउराका लागि पत्राचार भएको भन्दै उहाँले थप पहलका काम आफूले गरिरहेको बताउनुभयो ।

जिल्ला वन कार्यालय नवलपरासीका प्रमुख मोहन काफ्लेले २६ चट्टामध्येको ६ चट्टा पठाउने विषयमा सहमति भएको भए पनि मन्त्रिपरिषद्को निर्णयबिना भुक्तानी लिइसकेको ५० चट्टा भने पठाउन नसकिने जानकारी दिनुभयो । समितिले चितवन र नवलपरासीबाट दाउरा ल्याउने गर्दछ । समितिका अध्यक्ष पौडेलले समितिसँग आफैमा दाउरा नहुने भएकाले अब हुने समस्याको मूलकारण सरकारको निर्णय नै हुने बताउनुभयो ।

पवित्र कालीगण्डकी र त्रिशूलीको सङ्मस्थल देवघाटमा शवको दाहासंस्कारको लागि देशका धेरै ठाउँबाट ल्याउने गरिन्छ । देशकै मध्यभागमा रहेको यस धाममा दाहासंस्कार गर्दा मृतात्माले शान्ति पाउने विश्वास छ । काठमाडौँंको पशुपतिपछि सबैभन्दा धेरै शव संस्कार गरिने देवघाटधाम नै हो । यहाँ शव जलाउन दाउरा बाहेक अन्य विकल्प छैन । विद्युतीय शवगृहको निर्माणको काम भइरहेको भए पनि सम्पन्न हुनसकेको छैन ।

देवघाटमा गत वर्ष तीन हजार २०० शव जलाइएको थियो । अघिल्ला वर्षमा यो सङ्ख्या बढिरहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार एक वर्षका लागि ३०० चट्टा हाराहारी दाउरा आवश्यक पर्दछ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker