धन्वन्तरी जयन्ती : ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

दमौली : धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसका अवसरमा ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । तनहुँको व्यास नगरपालिका–१ चारकुने स्थित जलेश्वर ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा आवद्ध २३ जना ज्येष्ठ नागरिकको बुधबार निःशुल्क स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दमौलीको आयोजना तथा नेपाल आयुर्वेद औषधी व्यवसायी संघको समन्वयमा स्वास्थ्य परीक्षण कार्यक्रम राखिएको वरिष्ठ कविराज शम्भु चापागाईले बताए । उनका अनुसार १२ जना पुरुष र ११ जना महिला ज्येष्ठ नागरिकलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने अश्वगन्ध, अमलकी चूर्ण, महानारायण तेल, अमृता चिया लगायतका औषधी वितरण गरिएको थियो ।
केन्द्रका अध्यक्ष गणेश जिसीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा व्यास–१ का वडाध्यक्ष रमेशचन्द्र हड्खले धनवन्तरी जयन्तीका विषयमा चर्चा गर्दै आयुर्वेद स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाउन जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका डा. नारायण श्रेष्ठ, डा. किरणचन्द्र पौडेल, सोमकान्त पौडेल र भोजहरी रानाभाटले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेका थिए भने, नेपाल आयुर्वेद व्यवसायी संघ सचिव माधव गिरी र किशोर पन्थले सहजीकरण गरेका थिए ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती बुधबार पूजा आराधनासहित विविध कार्यक्रम गरी मनाइएको छ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्दति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा धन्वन्तरी जयन्ती मनाउने गरिन्छ ।
देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ ।
यस दिनलाई आयुर्वेदका चिकित्सकहरूले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् । आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा वि.सं. २०५६ देखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रूपमा पनि मनाउन थालिएको हो । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेद मध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधीको प्रतीकका रूपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ। आयुर्वेद चार वेदमध्येको अथर्ववेदको उपवेद हो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker