बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि भानुमा सरोकारवालाहरुबीच छलफल

भानु : तनहुँको भानु नगरपालिका–९ काउरेटारस्थित खेलमैदानमा निर्माण हुने बहुउद्देश्यीय कभर्डहलका सम्बन्धमा मंगलबार सरोकारवालाहरूबीच छलफल गरिएको छ ।

संघीय सरकारले चालु आर्थिक वर्षका लागि उक्त कभर्डहल निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषदमार्फत कार्यान्वयन हुने यस योजनाका लागि स्थानीय तहले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी पेस गर्नुपर्ने व्यवस्था छ । सोही प्रयोजनका लागि सरोकारवालाहरूको बैठक आयोजना गरी आवश्यक छलफल गरिएको नगरपालिकाका शिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी गराए ।

भानु नगरपालिका–९ का वडाध्यक्ष मीनबहादुर गुरुङको अध्यक्षतामा बसेको उक्त बैठकमा नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख एवं उपसचिव ध्रुवराज पौडेल, नगर प्रवक्ता तथा वडा नं. ८ का वडाध्यक्ष इश्वरबहादुर घिमिरे, नगरस्तरीय खेलकुद विकास समितिका अध्यक्ष तथा वडा नं. ३ का वडाध्यक्ष तुलकुमार गुरुङ, वडा सदस्य कृष्णराज धमनिया र चिजकुमार श्रेष्ठ, शिक्षक महेन्द्र थापा, रिदय भट्ट, दिपक थापा लगायतले कभर्डहल निर्माणका विषयमा आ–आफ्ना सुझावहरु दिएका थिए ।

बैठकमा शिक्षा अधिकारी पौडेलले केन्द्रको परिपत्र, डीपीआर निर्माण प्रक्रिया र कभर्डहल निर्माणका आवश्यक तयारीका विषयमा सहजीकरण गरेका थिए ।

बैठकले काउरेटार कभर्डहल निर्माणका लागि डीपीआर निर्माण कार्य तत्काल अघि बढाउने निर्णय गरेको छ । साथै, कभर्डहललाई बहुउद्देश्यीय स्वरूपमा निर्माण गरी फुटबलबाहेकका भलिबल, बास्केटबल, ब्याडमिन्टन, फुटसल, तेक्वान्दो, उसु, कराँते, बक्सिङ जस्ता इन्डोर खेलहरू प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्न सक्ने एरिया र दर्शकका लागि प्याराफिटसहितको आधुनिक संरचना बनाउन सिफारिस गरिएको छ ।

त्यसैगरी कभर्डहलसँगै ट्रयाकसहितको फुटबल मैदान, प्याराफिट, कार्यक्रम सञ्चालनका लागि मञ्च, खानेपानी, शौचालय, कम्पाउन्डिङ र खेलमैदानसम्म पुग्ने पहुँचमार्ग निर्माणका लागि पञ्चवर्षीय योजना स्वीकृतिका लागि प्रस्ताव गर्ने निर्णय पनि बैठकले गरेको छ। यी सबै संरचनाको अनुमानित लागत करिब १५ देखि २० करोड रुपैयाँसम्म हुने बताइएको छ ।

हाल काउरेटार खेलमैदान जिल्ला खेलकुद विकास समितिको नाममा दर्ता छ भने स्थानीय सर्वदलीय समितिबाट खेलमैदान प्रयोजनका लागि भोगाधिकार दिइएको अन्य सार्वजनिक जग्गासहित करिब ४० रोपनी क्षेत्रफल रहेको बताइएको छ ।

यी संरचनाहरू निर्माण सम्पन्न भएपछि भानु नगरपालिकामा व्यवस्थित खेलस्थलको स्थापना हुने र यसले नगर, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न सक्ने वातावरण तयार हुने नगर शिक्षा अधिकारी पौडेलले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker