सकारात्मक सोचका साथ अघि बढ्न मुख्यमन्त्री पाण्डेको आग्रह

गण्डकी : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सकारात्मक सोचका साथ अघि बढ्न युवाहरूलाई आग्रह गर्नुभएको छ ।
गण्डकी विश्वविद्यालयद्वारा गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय, समाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, विश्वविद्यालय अनुसन्धान आयोग, नेपाल कृषि अनुसन्धान केन्द्रसँगको सहकार्यमा ‘नेटवर्किङ माइन्ड्स फर रिसिलियन्ट फ्युचर’ भन्ने नाराका साथ आयोजित अन्तर्राष्ट्रिय सम्मेलन २०२५ को आज पोखरामा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले पछिल्ला समयमा देशमा केही भएन, केही हुँदैन जस्ता निराशाजनक अभिव्यक्तिहरू आउन थालेकाले सकारात्मक सोचका साथ अघि बढ्न युवाहरूलाई आग्रह गर्नुभएको हो ।
यही बसेर केही गर्न सकिन्छ भन्ने सन्देश डा सन्दुक रुइत जस्ता व्यक्तिले प्राप्त गर्नुुभएको सफलताबाट लिन सकिने उल्लेख गर्दै उहाँले देशमा आशा जगाउने गरी सबै लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गण्डकी विश्वविद्यलायले सन् २०२१ देखि सफलतापूर्वक वैज्ञानिक सम्मेलन गर्दै आएको बताउँदै मुख्यमन्त्री पाण्डेले यसमा विषयवस्तु केवल एक विषय मात्र नभई नवीन विचार, रचनात्मक सोच र शैक्षिक उपलब्धिहरूका लागि महत्वपूर्ण फोरम भएको उल्लेख गर्नुभयो ।
एक अर्काबाट सिक्दै यस्ता सम्मेलनबाट समृद्ध, समावेशी र दिगो भविष्य सिर्जनाका लागि सहकार्य गर्न सकिने उहाँको भनाइ छ । विश्वविद्यालयका हरेक शैक्षिक गतिविधिमा सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले स्थापनाको छोटो समयमा गण्डकी विश्वविद्यालयले आफ्नो गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाएको बताउँदै विश्वविद्यालयका हरेक गतिविधिमा सरकारको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले विश्वविद्यालयले औपचारिक शिक्षण एवम् अनुसन्धानसँगै विभिन्न नवप्रवर्तनका गतिविधिलाई अघि बढाएको जानकारी दिनुभयो ।
विशेष वक्ता प्रा डा सन्दुक रुइतले गर्ने इच्छाशक्ति भएमा असम्भव भन्ने केही नभएको बताउँदै आँखा स्वास्थ्यका क्षेत्रमा भए गरेका उपलब्धिबारे चर्चा गर्नुभयो ।
विश्वविद्यलायका रजिष्ट्रार डा कैलाश तिमल्सिनाले विश्वविद्यालय शैक्षिक क्षेत्रमा शिक्षण र अनुसन्धानको एकीकृत दृष्टिकोणमा केन्द्रित रहेको बताउँदै आफ्नै आविष्कार र आविष्कार केन्द्र स्थापना गरी नवीनतम खाज र अनुसन्धानलाई जोड दिएको बताउनुभयो ।
‘नेटवर्किङ माइन्ड्स फर रिजिलिएन्ट फ्युचर’ भन्ने नाराका साथ आयोजित सम्मेलनको मूल उद्देश्य विश्वभरका विद्वान, अनुसन्धानकर्ता, प्राज्ञ, व्यवसायी र सरोकार भएकाहरूलाई एकै ठाउँमा ल्याउने र विचार आदानप्रदान गर्ने रहेको उहाँले बताउनुभयो ।
सम्मेलनले शिक्षाविद् र चिकित्सकहरूलाई उनीहरूको अनुसन्धान निष्कर्षहरू साझा गर्न, उदीयमान प्रवृत्तिहरू अन्वेषण गर्न र उनीहरूको सम्बन्धित क्षेत्रमा चुनौती र अवसरहरू छलफल गर्नका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने डा तिमल्सिनाले विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार सम्मेलनमा कुल २४ सत्र र एक समूहगत छलफल समावेश छन् ।
गणतन्त्र कोरिया, संयुक्त राज्य अमेरिका, भारत, स्विडेन, डेनमार्क, ब्रुनाई, थाइल्याण्ड र नेपालसहित कुल आठ देशबाट प्रस्तुतकर्ता र सहभागीहरू रहेको जानकारी दिँदै डा तिमल्सिनाले सम्मेलनमा समावेश प्रस्तुतीकरणका सारहरू समावेश गरी ‘संक्षेपहरूको पुस्तक’ प्रकाशित गरिने जानकारी दिनुभयो । यो सम्मेलन अनुसन्धान र शिक्षासम्बन्धी गतिविधिहरूका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकार्यमा कोसेढुङ्गा साबित हुने उहाँको भनाइ छ ।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे, प्रा डा कैलाशनाथ प्याकुरेललगायत वक्ताले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker