फेवातालमा पानी घटाएपछि देखिएको दृश्य (तस्विर सहित)
- निशा थापा मगर (भञ्ज्याङ न्युज)
पर्यटकीय राजधानी पोखराको पहिचान बनेको फेवाताल । फेवातालको आफ्नो छुट्टै इतिहास र पहिचान छ । फेवाताल संरक्षणको लागि अहिले बाँध निर्माणको कार्य अगाडि बढाइएको छ ।
बाँध तथा नहर निर्माण गर्न भन्दै फेवातालको पानी करिब एक मिटर घटाइएको छ । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्कीका अनुसार तालबाट सोमबारसम्म ५ करोड ८० लाख पानी बगाइएको छ । कार्यालयले सुरुमा २ मिटरसम्म पानी घटाउने लक्ष्य राखे पनि एक मिटरमै बाँधको ढोका बन्द गरेको छ ।
फेवातालबाट ठूलोमात्रामा पानीको सतह घटेकाले अहिले तालको आधा भागसम्म दलदल र माटोको लेदो जम्मा भएको छ । ठूलो मात्रामा पानीको सतह घटेपछि अहिले फेवातालको धेरै भाग बगर जस्तै देखिन पुगेको छ ।
फेवातालमा २०१८ सालमा भारतीय सहयोग मिसनको सहयोगमा पहिलो पटक ४६ फिट बाँध निर्माण गरिएको थियो । बाँध बाँधेर कुल १५ हजार रोपनी क्षेत्रफलमा सिंचाइका लागि नहर निर्माण गरिएको थियो । पछि उक्त बाँध २०३१ सालमा फुटेर गएको थियो । पछि २०३४ कात्तिक १८ गते पुनः नयाँ बाँधको शिलान्यास गरिएको थियो । उक्त बाँध संयुक्त राष्ट्र संघको सहयोगमा निर्माण गरिएको थियो । उक्त बाँध निर्माण कार्य २०३५ सालमा सम्पन्न भएको थियो । ३५ सालमा बाँध निर्माण भएयता हालसम्मकै सबैभन्दा ठूलो मर्मतसम्भार गर्न लागिएको हो ।
जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका अनुसार बाँध निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ । जसमध्ये १ करोड रुपैयाँ बाँध मर्मतका लागि र १ करोड रुपैयाँ विनियोजन भएको कार्यालयले जनाएको छ ।










