आँबुखैरेनी अस्पतालमार्फत तीन वर्षमा ६६ हजारभन्दा बढीलाई स्वास्थ्य सेवा

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालले स्थापनाको तीन वर्षमा ६६ हजार ७६९ जनाले स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले सोमबार स्थापनाका अवसरमा सेवा प्रदान गरेको उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
दोस्रो स्थानीय तह निर्वाचनपछि गाउँपालिका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा गरिएको प्रतिबद्धता अनुसार २०७९ मंसिर १ गते एमडिजिपी चिकित्सकसहित १५ शैयाको अस्पताल सेवा औपचारिक रूपमा सुरु गरिएको थियो ।
अस्पताल स्थापना पश्चात् छोटो अवधिमै स्थानीयदेखि छिमेकी पालिकाका नागरिकलाई भरपर्दो सेवा प्रदान गर्दै आएको अस्पतालले जनाएको छ । यसबीचमा आकस्मिक स्वास्थ्य सेवादेखि विशेष अस्पताल सेवा सहज रूपमा उपलब्ध भएपछि सर्वसाधारण महँगा सहर अस्पताल जानुपर्ने बाध्यताबाट मुक्त भएका गाउँपालिकाले जनाएको छ ।
हाल अस्पतालमा २ जना विशेषज्ञ चिकित्सकसहित अतरंग सेवा, गुणस्तरीय ल्याब सेवा, डायलाइसिस सेवा, सर्जरी सेवा, दन्त तथा आँखाको उपचार, भिडियो एक्सरे तथा एक्सरे सेवा, फिजियोथेरापी, आकस्मिक रक्तसञ्चार, फार्मेसी, हार्डजोर्नी तथा नसारोगसम्बन्धी विशेषज्ञ सेवा र २४ घण्टा आकस्मिक सेवा जस्ता सुविधा सञ्चालनमा रहेका छन् ।
सेवा विस्तार र गुणस्तरका कारण अस्पतालमा स्वास्थ्य उपचारको पहुँच सहज बन्दै गएको स्थानीयवासी बताउँछन् । अस्पताल परिवारले सुरुआतदेखि आजसम्म साथ, सहयोग र सुझाव प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै भविष्यमा अस्पताललाई अझ आधुनिक, व्यवस्थित र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।










