सम्पादकीय : सम्जुर गाउँ – सहअस्तित्व, इतिहास र पर्यटनको जीवन्त पाठशाला

पर्यटनको परिभाषा केवल प्राकृतिक सुन्दरताका झिलिमिली दृश्यमा मात्रै सिमित हुँदैन । पर्यटनमा अनुभूति, इतिहास, संस्कृतिको अध्ययन र मानव सभ्यताबारे जिज्ञासाले पर्यटकलाई नयाँ ठाउँतर्फ आकर्षित गर्छ । समयसँगै बदलिने प्रविधि, जीवनशैली र परिवेशले प्राकृतिक सम्पदालाई विभिन्न रूपले प्रभावित गरे पनि इतिहास, संस्कृति र सहअस्तित्वका कथनहरू भने सदियौँसम्म जिवन्त रहन्छन् । यही जिवन्तपनलाई समेटेर तनहुँको भानु नगरपालिका पर्यटनको असाधारण गन्तव्यका रूपमा उभिन सक्छ । साहित्य, संस्कृति, धर्म, लोककथा, विविधता र इतिहासको संगम भानुमा पाइने अनगिन्ती गहिरा कथाहरू नै यहाँको पर्यटनको असली शक्ति हुन् ।

भानु–१३ स्थित सम्जुर गाउँ त्यसैको एउटा प्रत्यक्ष उदाहरण हो । यहाँको इतिहास केवल शिलालेख वा लिखित दस्तावेजमा मात्र बाँधिएको छैन । मौखिक इतिहास, बसोबासका संरचना, सांस्कृतिक अभ्यास र सहअस्तित्वका परम्पराहरूले नै सम्जुरलाई नेपालका बहु–धर्मीय ग्राम्य समाजको सुन्दर नमुनाका रूपमा चिनाउँछन् । सम्जुरको बाँकेपसल क्षेत्रमा करिब ११०० सालतिर मुस्लिम समुदायको बसोबास सुरु भएको जनश्रुति छ । त्यतिबेला ६० घरधुरी रहेको भन्दै ‘साठीघरे’ नामले समेत चिनिन्थ्यो । आज यहाँ करिब २०० घरधुरी मुस्लिम समुदायको बसोबास छ । विशेषतः तनहुँ राज्यका राजा दिग्विजय सेनको पालामा मुगल क्षेत्रसँग सम्बन्ध विस्तार भएपछि व्यापारिक आवतजावत गर्दै आएका मुस्लिम व्यापारीलाई सम्जुरमा बसोबासका लागि व्यवस्था मिलाइएकै इतिहासकारहरुले उल्लेख गर्छन् । यही व्यापार र बसोबासकै विस्तारले सम्जुरमा सातवटा मस्जिद निर्माण भए, जसले यो गाउँलाई धार्मिक–साँस्कृतिक दृष्टिले अद्वितीय बनाएको छ।

सम्जुरको बस्तीमा हिन्दु, मुस्लिम र बौद्ध समुदायलाई अलग छुट्याउन कठिन पर्नु यहाँको सांस्कृतिक मेलमिलापको प्रमाण हो । चुरौटी भाषामा तोरे, तन, होई जस्ता विशेष शब्दावली मिसाएर बोलिने भाषिक शैली होस् वा चुरा बेच्ने परम्परालाई आधार बनाएर बनेको ‘चुरेटा’ पहिचान, सम्जुरको सामाजिक बनोटले पर्यटकलाई स्थानीय इतिहाससँग सीधै जोडिदिन्छ । यहाँका मुस्लिम महिलाले हिजाब वा नकाब अनिवार्य रूपमा प्रयोग नगर्ने, पुरुषले नमाजका बेला मात्रै सेतो टोपी लगाउने, विवाह–पर्वमा एक–अर्काकै घरमा सहभागिता जनाउने, दशैँ–तिहारमा गाई–गोरुलाई सेतो–रातो–पहेलो छाप लगाई सम्मान गर्ने परम्पराले धार्मिक सहिष्णुताको उच्चतम रूप झल्किन्छ । यही सहअस्तित्वका कारण सम्जुर केवल बस्ती मात्र होइन, ‘लिभिङ म्युजियम’ जस्तै अनुभव गराउने ठाउँ बनेको छ ।

यहाँका मस्जिदहरू केवल धार्मिक थलो नभई इतिहासका मौन साक्षी हुन् । राजा मुकुन्दसेनकी रानी तिलोत्तमाले निर्माण गराएको भनिने सम्जुरको दर्गाह जामे मस्जिदजस्ता संरचनाले मध्यकालीन सम्बन्ध, व्यापारिक मार्ग र सांस्कृतिक आदान–प्रदानको कथा भन्छन् । यसैले सम्जुर धार्मिक पर्यटनका लागि जति महत्व राख्छ, इतिहास र नृ–जातिय अध्ययनका लागि त्यति नै महत्वपूर्ण अनुसन्धानस्थल पनि हो । सम्जुर गाउँको अर्को आकर्षण भनेको यहाँको प्राकृतिक सौन्दर्य हो । हरियाली वन–पाखा, मिर्लुकोटक्षेत्रका डाँडाकाँडा, चिसो पवन र चराचुरुङ्गीको आवाजले पर्यटकको मन लोभ्याउँछ । गाउँ वरिपरि फैलिएको नागबेली पहाडी श्रृंखला, शान्त वातावरण र ग्रामीण जीवनशैलीले सम्जुरलाई होमस्टे पर्यटनका लागि उत्तिकै उपयुक्त बनाएको छ । इतिहासमा रुचि राख्ने जो–कोहीका लागि सम्जुर सँगै मिर्लुङकोटको यात्रा अनिवार्य हुन्छ । १ हजार ६५४ मिटर उचाइमा फैलिएको मिर्लुङकोट केवल प्राकृतिक भ्युटावर मात्र होइन । राजा धर्मागत सेनले शासन गरेको भनिने दरबारका भग्नावशेष, रानीपोखरी, आसपासका शक्तिबलयुक्त धाम, पुलिमराङका शहिद पार्क तथा गुरुङ सांस्कृतिक बस्तीहरूले यस क्षेत्रलाई बहुआयामिक पर्यटनस्थल बनाएका छन् । दक्षिणतर्फ तनहुँका रमणीय गाउँदेखि उत्तरतर्फ हिमाल–पहाडसम्म देखिने अविस्मरणीय दृश्यले मिर्लुङकोटलाई अझै विशिष्ट बनाउँछ ।

डुम्रेबाट चन्द्रवती हुँदै र दमौलीको भोर्लेटार चोकबाट कलेस्ति–गजौडे हुँदै सम्जुर र मिर्लुङकोट पुगेपछि पर्यटकले केवल प्राकृतिक सुन्दरता मात्र अनुभव गर्दैनन् । उनीहरू सदीयौँदेखि विकसित सहअस्तित्व, धार्मिक विविधता, बसोबासका कथा र इतिहासका निर्मल पानासँग साक्षात्कार गर्छन् । पर्यटन केवल दृश्य होइन, अनुभव र कथाका माध्यमबाट जीवनका गहिरा अर्थ बटुल्ने यात्रा हो भने सम्जुर र मिर्लुङकोट त्यो यात्राको उत्कृष्ट कक्षा हुन् । हामीले पर्यटन विकासमा केवल भौतिक पूर्वाधार वा दृष्यसुन्दरतामाथि मात्र ध्यान दिँदा पर्याप्त हुँदैन । सम्जुरको उदाहरणले देखाउँछ– सहअस्तित्व, मौलिकता, इतिहास, भाषा, पहिचान र सामुदायिक सद्भाव नै वास्तविक पर्यटन–सम्पदा हुन् ।

स्थानीय बासिन्दाको योगदान, परम्पराको निरन्तरता र इतिहासप्रतिको सम्मानले गर्दा सम्जुर भानु नगरपालिकाको भविष्यको प्रमुख पर्यटन–पथको रूपमा विकसित हुनसक्छ । अब आवश्यक छ- संगठित योजना, प्रचार–प्रसार, होमस्टे व्यवस्थापन, मार्गनिर्देशन र ऐतिहासिक संरचनाको संरक्षण । सम्जुरले देखाएको सहअस्तित्वको मार्ग केवल पर्यटनको दृष्टिले महत्त्वपूर्ण छैन । यो समग्र नेपाली समाजका लागि पनि प्रेरणादायक उदाहरण हो । पर्यटनका लागि सम्जुर र मिर्लुङकोट जस्ता गाउँ केवल गन्तव्य होइनन् । ती हाम्रो पहिचान, इतिहास र संस्कृतिको जरा हो, जसलाई संरक्षण र प्रवद्र्धन गर्नु आजको आवश्यकता हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker