नारायणी आवि भानुको ६०औं वार्षिकोत्सव

भानु : तनहुँको भानु नगरपालिका–५ स्थित श्री नारायणी आधारभूत विद्यालय, बारीफाँटको ६०औँ वार्षिकोत्सव शनिबार सभ्य, भव्य र सहभागितामूलक रूपमा सम्पन्न गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु सिंखडाको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहमा भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामे, नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल, सामाजिक विकास समितिका संयोजक एवं वडा नं. १० का वडाध्यक्ष हरिहर उप्रेती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । स्थानीय अभिभावकहरूको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक हर्कबहादुर भण्डारी सहजिकरण गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेशराज पन्थले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
हाल कक्षा ० देखि ८ सम्म सञ्चालन हुँदै आएको यस विद्यालयमा १०९ जना विद्यार्थी अध्ययनरत छन् भने १५ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् । विद्यालयको भौतिक पूर्वाधार सुदृढ रहेको छ । ग्लष्तभम ध्यचमि क्अजयय ि९ग्ध्क्० नामक संस्थाको सहयोगमा विद्यालय परिसरमा ११ कोठे पक्की भवन, बालमैत्री कक्षाकोठा, आवश्यक फर्निचर, कार्पेटिङ, बुक कर्नर, रंगरोगन तथा सुविधासम्पन्न शौचालय निर्माण गरिएको छ । यसले विद्यालयलाई थप बालमैत्री, स्रोतपूर्ण र सिकाइमैत्री बनाएको छ ।
३० जनाभन्दा बढी बालबालिका भर्ना भएको आधारमा नगरपालिकाको नीतिअनुसार विद्यालयले थप एक जना सहयोगी कार्यकर्ता समेत प्राप्त गरेको छ । नजिकैको ढाँडखोलामा सञ्चालित बाल विकास केन्द्रको मातृ विद्यालय पनि यही विद्यालय रहेको छ । विद्यालयमा पक्की भवन, फर्निचर, विज्ञान प्रयोगशाला, पुस्तकालय तथा आधुनिक प्रविधियुक्त शैक्षिक सामग्री उपलब्ध छन् ।
भौतिक पूर्वाधार, जनसंख्या, अवस्थिति र सामाजिक संरचनाका हिसाबले सम्भावनायुक्त क्षेत्र भए पनि विद्यालयमा अपेक्षित विद्यार्थी संख्या नपुगेकोप्रति कार्यक्रममा चिन्ता व्यक्त गरिएको थियो । आगामी शैक्षिक सत्रदेखि विद्यार्थी संख्या वृद्धि हुने अपेक्षा गरिएको छ । सेवाक्षेत्रका सबै बालबालिकालाई यसै विद्यालयमा भर्ना गर्ने, अभिभावकको नियमित अनुगमन र सहभागिता बढाउने आवश्यकता औँल्याइएको छ ।
साथै कार्यरत शिक्षक, कर्मचारी, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीका छोराछोरी र नातिनातिनालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै भर्ना गर्ने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको थियो। भानु नगरपालिकाले यससम्बन्धी नीतिगत निर्णय तीन वर्षअघि नै गरिसकेको जनाइएको छ ।
विद्यालयको भौतिक विकाससँगै आन्तरिक व्यवस्थापन, सरसफाइ, बालबालिकाको आवागमन व्यवस्थापन तथा स्रोत परिचालनमा सक्रियता अनुकरणीय रहेको अभिभावकहरूले बताएका छन् ।
भानु नगरपालिकाका विद्यालयहरूमा भौतिक संरचना थप गर्नेभन्दा पनि सेवाक्षेत्रका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउने, उपलब्ध स्रोतसाधनको उच्चतम उपयोग गर्ने र कक्षाकोठा शिक्षणलाई थप बालमैत्री, प्रयोगात्मक र सहभागितामूलक बनाउने आवश्यकतामा जोड दिइएको छ । विद्यालयप्रति अभिभावकको विश्वास आर्जन गर्नु र बालबालिकाको भविष्यप्रति सरोकारवालालाई भरोसायुक्त बनाउनु आजको प्रमुख चुनौती भएको कार्यक्रममा औँल्याइएको थियो ।
कार्यक्रममा आयोजित विभिन्न अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थी कलाकारहरूले आकर्षक सांस्कृतिक प्रस्तुति समेत दिएका थिए ।










