रसिलो सुन्तला बन्यो आम्दानीको स्रोत

भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँको देवघाट गाउँपालिका-३ छिपछिपेका भिम राना बगैंचामा उत्पादित सुन्तलाका दाना देखेर दंग छन् । अघिल्ला वर्षभन्दा यस वर्ष बोटमा ठुला र पोटिला सुन्तलाका दाना फलेपछि उनि उत्साहित छन् ।

करिव ७२ रोपनी क्षेत्रफलमा सुन्ताला खेती गरेका रानाले अघिल्लो वर्ष २७ लाख रुपैयाँ आम्दानी लिएका थिए भने अहिले सुन्तलाबाट करिव ३२ लाख रुपैयाँ घरमा भित्र्याउने लक्ष्य लिएका छन् ।

रानाका बुबाले २०२२ साल देखि नै सुन्तला खेति गर्दै आएका हुन् । उक्त समयमा उत्पादित सुन्तलाले राम्रो बजार नपाएपछि रानाका बुबा र छिपछिपे क्षेत्रका अधिकांश किसानले २०४६ सालमा सबै सुन्तलाका बोट फाडेर मकै खेती पनि गरे । रानाले भने, ‘तत्कालिन कृषि अनुसन्धान केन्द्रका प्राविधिको सुझावमा पुनः सुन्तला खेती गरेका थियौं । त्यो समयमा सुन्तला बिक्री बितरण सम्बन्धि छिपछिपे र नारायणगढको जोरकुसुम बजारबिच सम्झौता भएको थियो ।’

‘छिपछिपेबाट किसानहरु साढे दुइ घण्टा हिडेर सुन्तला बिक्री गर्न जानुहुन्थ्यो । तर उचित मुल्य नपाएपछि सुन्तला खेतिबाट आशा मरेको थियो’, रानाले भने, ‘२०६८ सालमा यहाँ उत्पादित सुन्तला काठमाडौंको कालिमाटि बजार लग्ने वातावरण बनेपछि अहिले यहाँका स्थानीय सुन्तला खेतितर्फ आकर्षित भएका छन् ।’

यस क्षेत्रका अधिकांश सुन्तला काठमाडौं लागिएपनि केही सुन्तला नारायणगढ, मुग्लिङ, दमौली लगायतका आसपासका बजार क्षेत्रमा पनि बिक्रीबितरण हुने गरेको राना बताउँछन् । ०६८ सालमा सुन्तला बिक्रीबाट एक हजार ७ सय रुपैयाँ आम्दानी भएको स्मरण गर्दै उनले भने, ‘सुन्तला बिक्री हुन थालेपछि सुन्तलाका बिरुवा पनि थपे । अहिले आम्दानी पनि बर्षेनी बढेको छ । यस पटक मौसमले साथ दिएकाले पनि सुन्तला उत्पादन राम्रो भयो ।’

यस्तै, व्यास नगरपालिका-१३ बेनिकोटका बिकास थापाले सुन्तला बिक्रीबाट राम्रो आम्दानी लिएको बताउँछन् । थापाले करिव २० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । ‘निर्वाहमुखी रुपमा रहेको सुन्तला खेतीलाई व्यवसायिक रुपमै अगाडि बढ्दा राम्रो आम्दानी लिन सफल भएका छौं’, उनले भने, ‘हामीले सुन्तलाको बगैचा सबै ठेक्कामा दिन्छौ । अघिल्लो वर्ष३ लाख ५० हजार रुपैयाँमा बेचिएको थियो भने यस वर्ष ८ लाख रुपैयाँमा बेचेका छौं ।’

आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकका सोलबहादुर चितौरेले पनि यस वर्ष सुन्तला उत्पादन राम्रो भएको बताए । ‘समयमै पानी पर्नाले सुन्तलाको बोटले आवश्यक मात्रामा सिंचाई पायो’, उनले भने, ‘मौसमले साथ दिएकाले नै अहिले सुन्तलाका दाना पनि ठुलठुला छन् । मैले त बगैंचा नै ३ लाख ५० हजार रुपैयाँमा ठेक्कामा दिइसके ।’

चितौरेले करिव ४ रोपानी क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । अघिल्लो वर्ष २ लाख ८० हजार रुपैयाँ आमदानी भएको बताउने उनी अहिले उत्पादन राम्रो भएसंगै सुन्तलाको मुल्य बढ्दा खुसी छन् । यस पटक मौसमले पनि साथ दिएको र बगैचाको स्याहारसुसार गरी समयमै मलजल गर्दा फल राम्रो लागेको व्यास नगरपालिका-१३ बेनीकोटका खेमबहादुर राना बताउँछन् । उनले भने, ‘उचित समयमा पानी पर्दा र फल लागेपछि असिना नपरेकाले पनि हाम्रो सुन्तला बचे । अहिले सुन्तलाको दाना ठूला भएकाले कृषकले माग गरेको रकम दिएर व्यपारीहरुले खरिद गरिरहेका छन् ।’

‘बेनीकोटमा सुन्तलाको उत्पादन राम्रो छ तर यसपटक भने अझै बढी उत्पादन भएको छ’, उनले भने, ‘पहिलाभन्दा अहिले किसान सचेत हुनुभएको छ । किसानहरुले सुन्तलाको बोटबिरुवालाई सानैदेखि हेरचाह, स्याहारसुसारसंगै मलजल, पानी समयमा पुर्‍याई गोडमेल गर्दा आम्दानी लिन पनि सफल भएका छन् ।’

यस वर्ष जिल्लामा सुन्तलाको उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । उनले भने, ‘केही क्षेत्रमा उत्पादन घटे पनि समग्रमा जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ ।’ उनका अनुसार दक्षिण मोडा फर्किएको क्षेत्रमा सुन्तला उत्पादन राम्रो नभएको र बोटहरु पनि सुक्दै गएका छन् । तर उत्तरतर्फको मोडामा रहेका बगैंचामा सुन्तला उत्पादन राम्रो छ । किसानहरु पहिलैबाट सचेत भएर सानैदेखि सुन्तलाका बिरुवाको स्यारसुसार गर्ने, बोटमा मालजल र गोडमेल गर्नाले उत्पादन राम्रो भएको उनले बताए ।

उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ । एक हजार ४८० हेक्टर क्षेत्रफलबाट करिव ९ हजार ५१० मेटि्रकटन सुन्तला उत्पादन भएको छ । यसपटक करिव २८ करोड रुपैयाँको सुन्तला बिक्री हुने अनुमान गरेका छौं ।’ अघिल्लो आर्थिक वर्षमा एक हजार ४६० हेक्टर क्षेत्रफलबाट ९ हजार ३१० मेटि्रक टन सुन्तला उत्पादन भएको थियो । उत्पादित सुन्तला बिक्रीबाट जिल्लामा २६ करोड ५० लाख रुपैयाँ भित्रिएको थियो ।

समुद्री सतहबाट ७ सय मिटरदेखि १२/१५ सय मिटर उचाइका क्षेत्रमा सुन्तला राम्रो उत्पादन भएको छ । जिल्लामा शुक्लागण्डकीको राइपुर, व्यास नगरपालिकाको तनहुँसुर, बेनीकोट, देवघाट गाउँपालिकाको छिपछिपे, बैदी, कोट, भिमाद नगरपालिकाको भानुमती लगायतका क्षेत्रलाई सुन्तला खेतीको पकेट क्षेत्रका रुपमा विकास गरिएको छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौंबाटै ठेकेदारहरू आएर खरिद गरी लग्ने गर्छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker