एसओएस गण्डकीमा ६०औं राष्ट्रिय बालदिवस मनाइयो

पोखरा : पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा ६०औँ राष्ट्रिय बालदिवस मनाइएको छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने राष्ट्रिय नारालाई आत्मसात् गर्दै विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा उक्त दिवस मनाइएको हो ।
विद्यालयमा क्रियाशील एसओएस बाल क्लबका अध्यक्ष अश्विन चिलवालको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङले बालबालिकाहरूको आधारभूत अधिकार संरक्षणका लागि सबै पक्ष संवेदनशील हुनुपर्ने बताए। आजभोलि बालबालिकाहरूमा सानैदेखि विदेश जानुपर्छ भन्ने चिन्तनको विकास हुनु दुःखद भएको बताउँदै मन्त्री गुरुङले यो देशको भविष्य उज्ज्वल पार्न सबै मिली बालबालिकामा त्यो चिन्तन हटाउनेतर्फ सोच्नुपर्ने बताए ।
बालदिवसका उपलक्ष्यमा विद्यार्थीहरूमा अन्तर्निहित अतिरिक्त क्षमता उजागर गर्ने उद्देश्यले प्राथमिक तहका विद्यार्थीहरूका बीचमा प्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले बताए । एसओएस गण्डकीले यस वर्ष हासिल गरेको उत्कृष्ट नतिजाका बारेमा सङ्क्षिप्त प्रकाश पार्दै विद्यालयले प्राप्त गरेको यो उचाइलाई कायम राख्न आगामी दिनमा विद्यालय थप उत्साहका साथ लाग्ने पनि प्रधानाध्यापक सुवेदीले जानकारी दिए ।

प्रतियोगितात्मक र अप्रतियोगितात्मक गरी कार्यक्रम दुई चरणमा विभाजन गरिएको थियो। कक्षा नर्सरीदेखि दुईसम्म अप्रतियोगितात्मक तथा कक्षा तीनदेखि माथि प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विद्यालयका बालबालिकाहरूले एकल तथा सामूहिक गायन, नृत्य, अभिनय, कविता–वाचन, नाटिका आदिजस्ता कलाप्रस्तुतिहरू प्रदर्शन गरे ।
कार्यक्रममा कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरूको एउटा समूहले स्वस्तिवाचन पनि गरेका थिए । त्यसै गरी कार्यक्रममा अर्णव सापकोटाले शास्त्रीय शैलीको ताण्डव नृत्य प्रस्तुत गरी सबैलाई मन्त्रमुग्ध तुल्याइदिए भने कक्षा ५ का विद्यार्थीहरूले ‘ऐँचोपैँचो’ र ‘लागुपदार्थ दुव्र्यसनी’ शीर्षकका दुई नाटक प्रस्तुत गरी दर्शकको मन खिचे ।

प्रतियोगितात्मक कार्यक्रममा कक्षा ५ का प्रज्ञान बरालले प्रथम, कक्षा ४ की एन्नी शाहीले द्वितीय, अनमोलरत्न मगरले तृतीय तथा अञ्जु चेपाङले सान्त्वना स्थना हासिल गरेका थिए । विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथि टकराज गुरुङ, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीद्वारा नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो ।










