व्यास नगरपालिका : कोरोना संक्रमित विपन्न एवं मजदुर परिवारलाई आर्थिक सहयोग गरिने (९ बुँदे निर्णय सहित)
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले विपन्न एवं मजदुर परिवारका सदस्यहरु कोरोना संक्रमित भएमा आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । नगरपालिकाले संक्रमण भई उपचाररत विपन्न एवं मजदुर परिवारलाई ५ हजार रुपैयाँ उपचार एवं राहत सुविधा उपलब्ध गर्ने निर्णय गरेको छ ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो । बैठकले कोभिड-१९ को संक्रमण भई मृत्यु हुने विपन्न परिवारलाई सम्बन्धित वडाको सिफारीसमा निःशुल्क सव-वाहान र काजक्रिया खर्च वापत जनहि १० हजार रुपैयाँ सहयोग गर्ने पनि निर्णय गरेको छ ।
यस्तै, नगरपालिकाले कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचार कार्यमा खटिने कर्मचारीहरुलाई कार्य प्रकृति र त्यसको जोखिमलाई मध्यनजर गरी शुरु तलब स्केलमा २५% देखि १००% सम्म जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको नगरप्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी गराएका छन् ।
नगर कार्यपालिकाको बैठकले विपद्जन्य प्रतिकार्य योजना तयार पार्ने र गत वर्षबाढी पहिरोले घर भत्किएका ७७ जना घर परिवारलाई राहत दिने सम्बन्धमा संघीय सरकारको निर्देशिका बमोजिम तत्काल सहयोग उपलब्ध गराउने प्रकृया बारेमा सम्बन्धित निकायमा समन्वय गरी अगाडि बढाउने निर्णय गरेको बताइएको छ ।
यस्तै, आगामि वार्षिक कार्यक्रममा नगरपालिकाको नगर अस्पताल स्थापना गर्न र आफ्नै अक्सिजन प्लान्ट निर्माण गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग सहकार्यका लागि आहृवान गर्ने निर्णय बैठकले गरेको छ ।
आगामी आ.ब. २०७८/०७९ को बजेट तथा कार्यक्रमहरु तर्जुमा गर्ने सम्बन्धमा वडागत र नगरस्तरीय तयारीको बारेमा बैठकमा समिक्षा गरिएको नगर प्रवक्ता श्रेष्ठले जानकारी गराए ।
आर्थिक वर्ष २०७६/०७७ का क्रमागत योजनाहरुलाई यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने र त्यसपछि क्रमागत योजनामा उक्त आ.ब का योजनाहरु समावेस नहुने गरी आगामि वर्षको कार्यक्रम तय गर्न बजेट तथा योजना तर्जुमा समिति र पूर्बाधार विकास शाखालाई निर्देशन दिने बैठकले निर्णय गरेको छ ।
उक्त बैठकले नगरपालिका अन्तरगतका विद्यालयको वाषिर्क परिक्षाहरुको अन्तिम नतिजा २०७८ जेठ मसान्त भित्र प्रकाशन गर्ने गरी आन्तरिक परिक्षा एवं निरन्तर सिकाईको माध्यमका आधारमा मुल्याङ्कन हुने गरी विद्यालयहरुलाई परिचालित गर्न शिक्षा तथा सामाजिक विकास शाखालाई निर्देशन दिएको छ ।

बैठकमा कोभिड-१९ को असर, सचेतना र सावधानि सम्बन्धमा वडागत समिक्षा गरिएको छ । नगरपालिकाले वैशाख १३ देखि जेठ ६ गतेसम्म ६१६ जनाको पीसीआर परिक्षण गरेकोमा ४३३ जनाको प्रतिवेदन आउँदा २९१ जना संक्रमण पुष्टि भएको जनाएको छ । संक्रमित मध्ये १० जनाको मृत्यु भइसकेको र ५९ जना संक्रमण मुक्त भई २२२ जना उपचाररत रहेको बताइएको छ।
नगरपालिकाका संक्रमितहरु सामुदायीक आइसोलेसन, दमौली अस्पताल, जि.पि कोइराला स्वास प्रस्वास अस्पताल र आ-आफ्नै घरको होम आइसोलेसनमा उपचाररत रहेका र १८३ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।
यस्तै, नगरपालिकाको संयोजनमा जेठ ०५ गते भएको तनहुँ जिल्लाका अन्तरपालिका समन्वय बैठकबाट सबै पालिकाहरुको सहभगितामा गत वर्षको प्रतिबद्धता अनुसार व्यास-१० दुम्सी बजारमा रहेको आधारभुत स्वास्थ्य केन्द्रको भवनमा पीसीआर परिक्षण प्रयोगशाला निर्माण गर्न भएको निर्णय बैठकले अनुमोदन गरेको छ ।
बैठकले उक्त निर्णय कार्यान्वयनका लागि खरिद ऐन अनुसार खरीद एवं निर्माण प्रक्रिया अघि बढाउन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । यस कार्यमा तनहुँ डिसिसियमसि, गण्डकी प्रदेश सरकार, संघीय सरकार र सबै तहका जनप्रतिनिधि, सामाजीक संघ संस्थाहरुका साथै सरकारी एवं गैह्र सरकारी संघ संस्थाहरुसंग सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।










