बाह्य आम्दानी घटेपछि व्यासमा १० करोड बजेट कटौती

दमौली : बाह्य आम्दानी घटेपछि तनहुँको व्यास नगरपालिकाले १० करोड बजेट कटौती गरेको छ । शुक्रबार दमौलीमा सम्पन्न नगरसभाको ४४औँ अधिवेशनले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि बाह्य तथा अन्य स्रोतबाट अपेक्षित राजश्व प्राप्त नहुने देखिएपछि करिब १० करोड रुपैयाँ घटाइएको संशोधित बजेट तथा कार्यक्रम पारित गरेको छ ।
नगरसभाका अध्यक्ष तथा नगर प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाको समग्र प्रगति समीक्षा प्रस्तुत गर्दै सीमित स्रोतसाधनका बाबजुद आधारभूत सेवा प्रवाह र विकास गतिविधिलाई निरन्तरता दिइएको बताए । बाह्य आम्दानीमा आएको गिरावट बजेट संशोधनको प्रमुख कारण भएको उनले जनाए ।
नगर उपप्रमुख इन्दिरा दरैले संशोधित आर्थिक विधेयक, संशोधित विनियोजन विधेयक, संशोधित राजश्व तथा व्यय अनुमान र न्यायिक समितिको प्रतिवेदन नगरसभासमक्ष पेश गरेकी थिइन्। प्रस्तुत विवरणअनुसार ४३औँ नगरसभाबाट चालु आर्थिक वर्षका लागि १ अर्ब ८१ करोड ७६ लाख रुपैयाँ आय अनुमान गरिएकोमा बाह्य तथा अन्य आय घटेपछि ९ करोड ६४ लाख रुपैयाँ घटाई कुल १ अर्ब ७२ करोड १२ लाख रुपैयाँको संशोधित आय अनुमान प्रस्ताव गरिएको छ ।
सभामा गत आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय विवरणसमेत प्रस्तुत गरिएको थियो। सो वर्ष २ अर्ब १० करोड ६५ लाख रुपैयाँको संशोधित आय अनुमान गरिए पनि करिब १ अर्ब २९ करोड रुपैयाँ मात्र वास्तविक आय भएको उल्लेख गरिएको छ। आन्तरिक आम्दानी लक्ष्य नजिक रहे पनि बाह्य तथा अन्य स्रोतमा ठूलो कमी आएको नगरपालिकाले जनाएको छ ।
खर्चतर्फ आयको अवस्थाअनुसार संशोधन गर्दै चालु खर्चतर्फ ९५ करोड ७४ लाख रुपैयाँ र पूँजीगत खर्चतर्फ ७६ करोड ३७ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसरी कुल व्यय अनुमान पनि १ अर्ब ७२ करोड १२ लाख रुपैयाँमा सीमित गरिएको छ।
नगरसभामा विधायन समितिका संयोजक रमेशचन्द्र हड्खलेले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, संशोधित वन ऐन तथा समितिको प्रतिवेदन पेश गरेका थिए । संस्थागत व्यवस्था तथा क्षमता विकास समितिका संयोजक दलबहादुराले समितिको प्रतिवेदन पेश गरे भने सदस्य बिण्णुकुमार श्रेष्ठले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन तथा दरबन्दी संरचना सभामा प्रस्तुत गरेका थिए ।
लेखा समितिकी संयोजक गौकुमारी न्यौपानेले लेखा समितिको प्रतिवेदन पेश गर्नुका साथै आर्थिक, सामाजिक, पूर्वाधार, वन, वातावरण तथा विपद् व्यवस्थापन गरी पाँचवटै विषयगत समितिका प्रतिवेदन पनि सभामा प्रस्तुत गरिएका थिए ।
नगरसभाले सबै विधेयक, प्रतिवेदन तथा प्रस्तावहरू पारित गर्नुका साथै नगर कार्यपालिका बैठकका निर्णयहरू अनुमोदन गरेको छ। कर्मचारीहरूको तलबी प्रतिवेदन, वार्षिक खरिद योजना पारित गर्दै महालेखा परीक्षकको करिब १८ करोड रुपैयाँ बराबरको सैद्धान्तिक बेरुजु सम्परीक्षण गरी नियमित गर्ने निर्णय पनि सभाले गरेको छ ।
सभामा सभासदहरूले उठाएका जिज्ञासाहरूको नगर प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल र सम्बन्धित अधिकारीहरूले सहजिकरण गरेका थिए । नगरसभाले केही नयाँ शीर्षकहरूमा कर प्रस्तावसमेत पारित गरेको छ।
४३औँ नगरसभाबाट प्रस्तावित आयभन्दा न्यून राजश्व प्राप्त हुने देखिएपछि करिब १० करोड रुपैयाँ घटाएर यथार्थपरक बजेट पारित गरिएको भए पनि वडास्तरीय योजनामा खासै असर नपर्ने नगरपालिकाले जनाएको छ । यद्यपि स्थानीय राजश्व बाँडफाँडसम्बन्धी सम्झौता नभएका केही आयोजनाहरू भने प्रभावित भई कार्यान्वयनमा नजाने बताइएको छ ।










