देशलाई नयाँ चरणमा लैजाने जिम्मेवारी कांग्रेससँग छ : कांग्रेस उपसभापति शर्मा

दमौली : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिँदो अवस्थामा पुस्तान्तरबीचको दूरी घटाएर देशलाई विश्वासको नयाँ चरणमा लैजाने जिम्मेवारी कांग्रेससँग मात्र रहेको बताएका छन् ।

नेपाली कांग्रेस तनहुँद्वारा दमौलीमा समेबार आयोजित आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोजित बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले बदलिएको कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्ने बताउँदै कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काउने बताए ।

उपसभापति शर्माले अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटकभन्दा बढी रहन नपाउने उनको भनाइ छ । चुनावी मैदानमा गाली होइन प्रेम सम्प्रेषण गर्नुपर्ने भन्दै उपसभापति शर्माले स्वस्थ आलोचना स्वभाविक हुने, तर अरूलाई गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन नसकिने बताए ।

चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर, समाजमा भोलि निराशा जगाउने कार्य भाषण र घोषणापत्रहरू मार्फत नगर्न उनको आग्रह छ । उनले भने, ‘देशको शासनमा जे–जस्तो सुधार गर्न जरुरी छ, त्यसको केस्राकेस्रा केलाएका छौं हामीले । जेनजी विद्रोहको भावना बमोजिमको त्यो सुधार, परिमार्जन र समग्रमा परिवर्तनलाई हामी सम्भव बनाउने छौं । देश जान्दछ कांग्रेस बदलिएको छ र यो पनि देश जान्दछ । जो बदलिन सक्छ उसैले बदल्न सक्छ ।’

यस्तै, उनले चुनाव केवल दलको जित हारको विषय नभई देशलाई संकटबाट निकास दिने क्षमताको परीक्षण गर्ने समय भएको बताए । उनले भने, ‘मूल प्रश्न कुन दलले जित्ने भन्ने होइन, विषम परिस्थितिमा देशलाई कसले संयमतापूर्वक समन्वय गर्न सक्छ र कसले परिपक्व तवरबाट फूलको माला जसरी गाँस्न सक्छ र देशलाई स्वच्छ बनाएर हाँक्न सक्छ भन्ने हो ।’

उनले ऐतिहासिक तथ्यका आधारमा कांग्रेसले मुलुकलाई सही ढङ्गले अघि बढाएको उदाहरण जनतामाझ लैजान आग्रह गरे । कांग्रेस यतिबेला सभापति गगन थापालाई प्रधानमन्त्री बनाउने अभियानमा लागेको बताउँदै उनले भने, ‘त्यही अभियानको लहर तनहुँमा पनि मिसिनेछ । देशलाई नवीन सपनामा, नवीन मार्गमा लैजानुछ । यदि सही ढङ्गले देशलाई अघि बढाउन सकेनौँ भने अहिले जेनजी विद्रोह भयो । दश वर्षपछि फेरि अल्फाको विद्रोह हुनेछ । हामी त्यो अवस्था बन्न दिने छैनौँ ।’

नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. १ का उम्मेदवार गोविन्द भट्टराईले यहाँ सुशासन, समृद्धि कायम गर्दै आमनागरिकको माग पूरा गर्न प्रतिबद्ध रहेको बताए । विषम परिस्थितिलाई चिरेर देशकै जिम्मेवारी लिने गरी अगाडि बढेकाले कांगे्रसलाई मतदान गर्न उनले आग्रह गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker