तनहुँमा ९७४ जनामा डेंगी संक्रमण, संक्रमित बढेपछि आँबुखैरेनी अस्पताललाई सेवा प्रवाहमा सकस

तनहुँ । तनहुँमा मंगलबारसम्म ९७४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाको आँवुखैरेनी गाउँपालिकमा सबै भन्दा बढी संक्रमित भेटिएका छन् । कार्यालयका अनुसार जिल्लाका छ पालिकामा डेंगी संक्रमित भेटिएका छन् ।
स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आँबुखैरेनी गाउँपालिकामा ७२९ जनामा संक्रमण पुष्टि भएको छ । कार्यालयका अनुसार जिल्लाका छवटा पालिकामा संक्रमित हुनेको संख्या ९७४ पुगेको छ । एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने भएकाले कार्यालयले लामखुट्टेको टोकाईबाट सुरक्षित हुन आग्रह गरेको छ ।
स्वास्थ्य कार्यालय तनहुँका पब्लिक हेल्थ नर्स पूजा कुवँरका अनुसार आँबुखैरेनीपछि शुक्लागण्डकी नगरपालिकामा ११७ जनामा संक्रमण पुष्टि भएको छ। सदरमुकाम दमौली रहेको ब्यास नगरपालिकामा ७६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बन्दीपुर गाउँपालिकामा ४२, म्याग्दे गाउँपालिकमा ७ र भीमाद नगरपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको कुवँरले जानकारी गराइन् ।
कुवँरले भनिने, ‘सबैभन्दा बढी आँबुखैरेनीमा संक्रमण फैलिएको छ । संक्रमितको संख्या दिनहूँ थपिएका छन् ।’ अघिल्लो वर्ष सदरमुकाम दमौलीलाई डेंगी संक्रमणले अत्याएको थियो । उनले भनिने, ‘नियन्त्रणका लागि स्थानीयतहमा प्रयास भएका छन्। जनचेतना जगाउनेदेखि संक्रमितको उपचारमा सहजीकरण गर्नेसम्मका काम भएका छन ।’ तनहुँमा गत असार १ गतेपछि संक्रमित देखिन थालेका हुने ।
आँबुखैरेनी गाउँपालिकाका प्रवक्ता प्रेमबहादुर गुरुङका अनुसार अहिले गाउँपालिकामा संक्रमित दिनहुँ बढिरहेका छन् । डेंगी संक्रमित बढेपछि गाउँपालिकाले बिरामीको निःशुल्क उपचार थालेको उनले बताए । उनका अनुसार १५ शैयाको आँबुखैरेनी अस्पतालमा बिरामीको भीडभाड बढेर बेड नपुगेपछि अस्पतालभित्रको खालि ठाउँमा पनि बिरामी राखेर उपचार गरिएको छ । ‘अस्पतालभित्र भए जतिको खालि ठाउँमा बेड राखेर बिरामीको उपचार गरिरहेका छौ । अहिले पनि करिब ५० जनाको अस्पतालमा उपचार भईरहेको छ । बरन्डामा राखेर समेत उपचार गर्न बाध्य छौं’, उनले भने, ‘बिरामीको चाप थेग्न हम्मेहम्मे भएको छ । दिनहूँ ५० जनाको हाराहारीमा संक्रमित थपिन्छन ।’
संक्रमणलाई कम गर्न गाउँमा सरसफाइदेखि विभिन्न सचेतनामुलक कार्यक्रम चलाएपनि स्थानीयले सक्रियता नदेखाउँदा समस्या परेको प्रवक्ता गुरुङले बताए । ‘खाडल पुर्न र झाडि सफा गर्न पनि गाउँपालिकाको सहयोग खोजेपछि नियन्त्रणमा समस्या हुने रहेछ’। उनले भने, ‘अहिले आँबुखैरेनी नै हटस्पट बनेको छ ।’ उनका अनुुसार स्थानीय अस्पतालमा भीडभाड बढेपछि बिरामीहरु थप उपचारका लागि करिब ४५ किलोमिटर परेको चितवनका विभिन्न अस्पतालमा गएका छन् ।
चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगी सर्छ । यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ । यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ । फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम रहने स्वास्थ्यकर्मीको भनाई छ ।
डेंगी फैलाउने यो लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फुल पार्ने गर्छ । खासगरि वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा फुल पार्छ । त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन् ।
चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ । त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन् ।










