संस्कार र अस्तित्व जोगाउन ब्राम्हण समाजको अठोट

दमौली : आफ्नो पहिचानको रक्षा र पुख्र्यौली विरासतको जगेर्ना गर्ने साझा संकल्पका साथ ब्राह्मण समाज नेपाल बन्दीपुर गाउँपालिकाको दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न गरिएको छ ।
समाजका अध्यक्ष बामदेव भट्टराईको अध्यक्षतामा आयोजित उक्त सभामा जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डेले वर्तमान समयको गम्भीर सन्दर्भ उठाउँदै संगठनको औपचारिक विस्तारभन्दा संस्कारको पुनर्जागरण महत्वपूर्ण रहेको धारणा राखे । उनले भने, “आजको आवश्यकता केवल संगठन खोल्नु मात्र होइन, बरु आफ्नो लोपोन्मुख संस्कारलाई पुनर्जीवित गर्नु हो ।”
कार्यक्रममा जिल्ला सचिव कृष्णहरि गैरेले व्यक्ति, समाज र राष्ट्रबीचको अन्तरसम्बन्धलाई जोड दिँदै आचरण सुधारको आवश्यकता औंल्याए । उनले भने, “जबसम्म हाम्रो आचरण सुध्रिँदैन, तबसम्म समाज बलियो हुन सक्दैन ।”
कार्यक्रममा पूर्व केन्द्रीय सदस्य गोवर्धन भट्टराई, रामचन्द्र भट्टराई र कृष्णचन्द्र भट्टराई लगायतका वक्ताहरूले नयाँ पुस्तालाई आफ्नो जरा र संस्कारसँग जोड्न नसके भविष्य चुनौतीपूर्ण बन्ने चेतावनी दिएका थिए । उनीहरूले परम्परा र आधुनिकताको सन्तुलन कायम गर्दै संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
अधिवेशनको बन्द सत्रले श्रीप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। सभाले सांस्कृतिक पहिचान, नैतिक मूल्य र सामाजिक एकताको प्रवर्द्धनलाई आगामी कार्ययोजनाको केन्द्रमा राख्दै साझा प्रतिबद्धता जनाएको छ ।










