तनहुँको व्यास नगरपालिकाले निःशुल्क स्वाब परीक्षण गर्ने, तीन महिनाको आन्तरिक आम्दानी ४ करोड बढी

- भञ्ज्याङ समाचारदाता (दमौली)
कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट नगरबासिलाई सुरक्षित गराउन लागि परेको व्यास नगरपालिकाले आगामि दिनमा पनि लक्षण देखिएकाहरुको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षण निःशुल्क गराउने योजना बनाएको छ । कोरोना महामारीको उपचार व्यक्ति स्वयंले आफ्नै खर्चमा गनुपर्ने सरकारको पछिल्लो निर्णय सार्वजनिक भएपछि नगरपालिकाले आफ्नो क्षमताले भ्याएसम्म पीसीआर परीक्षण निःशुल्क गर्ने योजना बनाएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताएका छन् ।
नगरप्रमुख न्यौपानेले भञ्ज्याङ दैनिकसंग कुरा गर्दै सरकारले गरेको यो निर्णय स्थानीय तहमा लागु गर्न कठिन भएको हुँदा सम्भव भएसम्म नगरबासिको निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने योजना बनाएको बताए ।
‘सरकारको यो निर्णय स्थानीय तहमा कार्यान्वयन गर्न कठिन छ’, नगरप्रमुख न्यौपानले भने, ‘को गरिब, को धनि सबैको समान रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउनु पर्ने जिम्मेवारी र दायित्व हाम्रो हो । सम्भव भएसम्म नगरपालिकाकै तर्फाट स्वाब नमुना संकलन गरी पीसीआर परीक्षण गर्नेछौ र अहिले पनि गर्दै आएका छौं ।’
यस्तै, रोटरी क्लवले व्यास नगरपालिकालाई उपलब्ध गराएको पीसीआर मेशीन कसरी सञ्चालन गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको नगरप्रमुख न्यौपानले बताए । उनले भने, ‘यो विषम् परिस्थितिमा हामीलाई पीसीआर मेशीन सहयोग गर्ने रोटरी क्लवलाई धन्यवाद, अब यो मेशीन दमौली अस्पतालले सञ्चालन गर्न चाहेमा उपलब्ध गराउन हामी तयार छौ । यदि अस्पतालले सञ्चालन नगर्ने भएमा आवश्यक पूर्वाधार, जनशक्तिको व्यवस्थापन गरी नगरपालिकाले नै सञ्चालन गर्ने विषयमा विज्ञहरुसंग पनि छलफल गर्र्छौ ।’
त्यस्तै, व्यास नगरपालिकाले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ४ करोड १ लाख ८६ हजार ३७२ रुपैयाँ आन्तरिक आम्दानी भएको जनाएको छ । नगरप्रमुख न्यौपानेको अध्यक्षतामा बुधबार बसेको नगर कार्यपालिकाको बैठकमा नगरपालिकाले कुल आन्तरिक आय ३ करोड १६ लाख ८६ हजार ३७२ रुपैयाँ र मालपोत कार्यालय तनहुँबाट जग्गा रजिष्ट्रेशन दस्तुर बापत ८५ लाख रुपैयाँ प्राप्त भएको जानकारी गराइएको छ ।
उक्त बैठकले नेपालको संविधात, २०७२ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार बमोजिम व्यास नगरपालिका अन्तरगत लागु हुने गरी व्यास नगरपालिका नगर प्रहरी नियमावली, २०७७, व्यास नगरपालिका सवारी साधान तथा यातायात व्यवस्थापन कार्यविधि २०७७ नियमावली र कार्यविधिहरु उपर छलफल गरी पारित गरेको प्रवक्ता एवं वडा नं. ५ का अध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी गराएका छन् ।
नगरक्षेत्र भित्र काठेपोल विस्थापन गर्ने सम्बन्धी गण्डकी प्रदेश सरकारबाट गत वर्ष प्राप्त पोलहरु गाड्ने विषयमा समिक्षा गरी विद्युत प्राधिकरण र शिशाघाट बजार व्यवस्थापन सामुदायिक संस्थासंग समन्वय गरी बाँकी पोलहरु गाड्ने र अब आउने पोलहरु ९ मिटरको माग गर्ने निर्णय बैठकले गरेको प्रवक्ता श्रेष्ठले जानकारी गराए ।
यस्तै, सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि अन्तरगत केन्द्रीय समितिबाट वडा नं. ५ र ६, २ वडाका लागि ९५, वडा नं. १-४, ७-१४ सम्मका १२ वडाका लागि २१९ समेत जम्मा ३१४ कच्चि घरहरुका लागि छाना छाउन प्रतिघर ५० हजार रुपैयाँका दरले प्राप्त हुने सहयोग रकम वितरण गर्ने सम्बन्धी कार्यविधि अनुसार असोज १५ गते १४ वडाहरुमा एकै मितिमा लाभग्राहिहरुलाई छनोट गर्ने निर्णय बैठकले गरेको छ ।
नगरपालिकमा कार्यरत सम्पूर्ण स्थायी, करार कर्मचारीहरुको कोभिड-१९ सम्बन्धी बीमा गर्न बाँकीको समेत नगरपालिकाको कोषबाट बीमा गराउने निर्णय बैठकले गरेको छ । उक्त बैठकमा कोभिड-१९ को रोकथाम तथा उपचार अन्तरगत कुल २ हजार १९६ जनाको पीसीआर परीक्षण गरिएको, २२४ जना संक्रमित पुष्टि भएको र ३ जनाको मृत्यु भएको जानकारी गराइएको छ । नगरपालिका क्षेत्रमा हाल ७४ जना सक्रिय संक्रमित रहेका, १४७ जना निसंक्रमित भई घर फर्किएका, ११६ जनाको परीक्षण रिपोर्ट आउने बाँकी रहेको र सक्रिय संक्रमित मध्ये ३८ जना होम आईसोलेसनमा बसेका बताइएको छ ।










