साउन १५ सम्म तनहुँमा करिब ८० प्रतिशत धान रोपाइ, प्रयाप्त वर्षा नहुँदा टारीखेत बाँझै
भञ्ज्याङ समाचारदाता/दमौली

साउन १५ बित्यो तर खेतमा रोपाइ सकिएको छैन । कृषकले असारे धान खेती सकेर साउन १५ मा खिर खाने प्रचलन छ तर यस वर्ष कृषकहरुले उत्साहका साथ खिर खाने वातावरण बनेन् । कृषि ज्ञान केन्द्र तनहुँका अनुसार साउन १५ गतेसम्म तनहुँमा करिब ८० प्रतिशतको हाराहारीमा धान रोपाइ भएको छ ।
यस वर्ष समयमै मुलफुट्ने गरी वर्षा नहुँदा अघिल्लो वर्षको हाराहारिमा पनि रोपाइ हुन सकेको छैन । गत वर्ष करिब ९० प्रतिशत खेतमा धान रोपाइ भएको थियो । तर, यस वर्ष अझै पनि प्रयाप्त पानी नपर्दा रोपाइ हुन सकेको छैन । आकाशे पानीको भरमा रोपिन टारी खेत यस वर्ष बाँझै रहने अवस्थामा रहेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए ।
तनहुँमा करिब ६ हजार ३४७ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिंचाई सुविधा रहेको छ । सिंचाई सुविधा भएका खेत तथा फाँटहरुमा धान रोपाइ भएपनि आकाशे पानीको भरमा रोपाइ गर्नुपर्ने खेत तथा फाँटहरुमा रोपाई हुन सकेको छैन । अलिअलि परेको पानीले मूल फुटेपछि गरिएको रोपाइ पनि अहिले धाँजा फाँटेर विऊ मर्ने अवस्थामा पुगेको केन्द्रका प्रमुख तिवारीले बताए । उनले भने, ‘अब रोपाइ गर्ने समय समेत घरिकि सकेको छ । कृषकहरु अझै पाउन आउँछ कि भन्ने आशमा त हुनुहुन्छ । तर, यो वर्ष प्रयाप्त पानी नपर्दा धान खेती घट्नुका साथै उत्पादनसमेत घट्ने भयो ।’
यस वर्ष खेत र बारीका कान्लाका पानीका मूल फुटेका छैनन् । भेलबाढी बग्न पर्ने खोलामा खडेरीले गर्दा आजसम्म कमिला हिँड्ने गरेको भानु-१३ का कृषक देव बहादुर गुरुङ बताउँछन् । केही वर्षअघिसम्म साउनको पहिलो सातासम्ममा रोपाइँ पूरा हुने गरेको थियो । केही वर्ष यता वर्षा अनियमित हुँदा कहिले धेरै छिटो त कहिले धेरै ढिलो रोपाइँ हुन थालेको कृषक गुरुङ बताउँछन् ।
आकाशको पानी नपरेपछि खेतका कुना र कान्लाका मूल पनि फुटेका छैनन् । सिँचाइका लागि कुलो वा नहरको व्यवस्थापन भएका, खोल्साको आसपासमा भएका खेतमा रोपाइ गरिएको छ । ‘लामो खडेरीका कारण यस वर्ष मकै खेती पनि राम्रो भएन’, कृषक गुरुङले भने, ‘यस वर्ष समयमै प्रयाप्त पानी नपर्दा धान रोपाइ पनि हुन सकेको छैन । अब समय पनि सकिएकाले यस वर्षटारी खेतमा धान रोपाइ नहुने भयो ।’
जिल्लाका विभिन्न ठाउँका कृषकले धारा वा मूलको पानी आलोपालो गरेर रोपाइँ गरिएको खेतमा पनि सिँचाइको अभावमा रोपिएको खेतपनि धाँजा फाँटेको कृषकहरु बताउँछन् । यस्तै, असार लागेसंगै पशुचौपायमा लम्पी स्कीन रोग संक्रमणका कारण गोरु विरामी पर्ने तथा संक्रमण पश्चात गोरु मरेका कारण पनि कृषकले धान रोपाइ गर्न पाएका छैनन् । जिल्लाको भानुको चुँदीफाँट र रुपाकोट, व्यासको गजौडे, शुक्लागण्डकीको मान्द्रेफाँट, भिमादको बुढुवाफाँट, व्यासको मुलपानी लगायत धान खेतीका लागि पकेट क्षेत्रको रुपमा मानिएको छ ।
यस्तै, तनहुँमा चैते धान उत्पादनमा कमी आएको छ । यसबर्ष लामो समय खडेरी परेका कारण फल राम्रो नलाग्दा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गतबर्ष दुइ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएपनि यसबर्ष एक हजार आठ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको थियो । तनहुँको कुल १ लाख ५४ हजार ६ सय हेक्टर क्षेत्रफल मध्ये ६५ हजार ५१ हेक्टर क्षेत्रफल खेतीयोग्य रहेकोमा हाल ५१ हजार ५१० हेक्टर क्षेत्रफलमा खेती गर्दै आइएको कृषि ज्ञान केन्द्र तनहुँको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
कुल खेतीयोग्य जमिन मध्ये करिब २१ प्रतिशत अर्थात १३ हजार ५५१ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन बाँझिएको छ । केन्द्रको तथ्याङ्क अनुसार तनहुँको १३ हजार ५८३ हेक्टर क्षेत्रफल जमिन सिंचित छ भने ६ हजार ३४७ हेक्टर क्षेत्रफल जमिनमा बाह्रै महिना सिचाई सुविधा उपलब्ध रहेको छ । ७ हजार २३६ हेक्टर क्षेत्रफलमा मौसमी सिंचाई छ भने ३७ हजार ९२७ हेक्टर क्षेत्रफल जमिनमा असिंचित रहेको छ ।
देशभर ७७ प्रतिशत धान रोपाइ
यस्तै, साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए । देशभर १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । जसमध्ये हालसम्म १० लाख ५३ हजार ४०४ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइ सकिएको केन्द्रले जनाएको छ ।
गण्डकी प्रदेशमा हालसम्म ८२ प्रतिशत भू-भागमा धान रोपाइँ सकिएको छ । गत वर्ष साउन १२ गतेसम्म यो प्रदेशमा ९६ प्रतिशत भूभागमा रोपाइँ सकिएको थियो । गण्डकी प्रदेशमा एक लाख चार हजार ६२२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । जसमध्ये हालसम्म ८५ हजार सात सय ९० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ गरिएको छ ।
यस वर्ष कोशी प्रदेशमा ८४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा ८८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको थियो । कोशी प्रदेशमा दुइ लाख ७५ हजार १३३ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ हुने गरेकामा हालसम्म दुइ लाख ३१ हजार ११२ हेक्टर क्षेत्रफलमा मात्र धान रोपिएको केन्द्रले जनाएको छ ।
मधेस प्रदेशमा हालसम्म ५९ प्रतिशत भूभागमा मात्र धान रोपाइँ सकिएको छ । गत वर्ष यही समयमा सो प्रदेशमा ८९ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको थियो । मधेस प्रदेशमा तीन लाख ५४ हजार तीन सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । हालसम्म सो प्रदेशमा दुइ लाख नौ हजार ८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ ।
बागमती प्रदेशमा हालसम्म ७२ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ । गत वर्ष साउन १२ गतेसम्म बागमती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सकिएको थियो । यो प्रदेशमा एक लाख १३ हजार ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । यसमध्ये हालसम्म ८१ हजार ४२० हेक्वटर क्षेत्रफलमा मात्र धान रोपाइँ गरिएको छ ।
लुम्बिनी प्रदेशमा ८१ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा ८५ प्रतिशत धान रोपाइँ सकिएको थियो । लुम्बिनी प्रदेशमा तीन लाख तीन सय ९२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । जसमध्ये हालसम्म दुइ लाख ४३ हजार ३१८ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ ।
कर्णाली प्रदेशमा हालसम्म ८५ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको केन्द्रका प्रमुख सञ्जेलले बताउनुभयो । गत वर्ष यही समयमा सो प्रदेशमा ७८ प्रतिशतमात्र रोपाइँ भएको थियो । कर्णाली प्रदेशमा ३८ हजार ७२७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । सो प्रदेशमा हालसम्म ३२ हजार ९१८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म ९९ प्रतिशत धान रोपाइँ सकिएको छ । सो प्रदेशमा गत वर्ष पनि यही समयमा ९९ प्रतिशत नै रोपाइँ सकिएको थियो । सुदूरपश्चिम प्रदेशमा एक लाख ७१ हजार चार सय ७६ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिन्छ । सो प्रदेशमा हालसम्म एक लाख ६९ हजार ७६१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ ।










