पृथ्वीराजमार्गको आँबुखैरेनी–जामुने सडकखण्ड स्तरोन्नतिको काम ९५ प्रतिशत सकियो

पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी–जामुने (पूर्वी खण्ड) सडक स्तरोन्नतिको काम ९५ प्रतिशत सकिएको छ । आयोजना निर्देशनालय (ए.डि.बी) का प्रमुख चुडाराज ढकालले सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको जनाए ।
एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो सडक खण्डको लागत ६ अर्ब ३१ करोड रहेको छ । पूर्वी खण्ड अन्तर्गत आबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर लम्बाइ रहेको सडक खण्डको बजार क्षेत्रमा ६ लेन विस्तार गरिएको छ ।
मुग्लिङ–पोखरा सडकको पूर्वी खण्डको काम चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेसन कम्पनी लिमिटेडले गरिरहेको छ ।
सडक निर्माणमा सबै क्षेत्रको सहयोग भएका कारण निर्माणमा सहज भएको आयोजना निर्देशनालय (ए.डि.बी) का प्रमुख ढकालले बताए । मुग्लिङ–पोखरा सडकखण्ड नेपालकै नमूना सडक भएको आयोजना निर्देशक ढकालको भनाइ छ ।
मुग्लिङ–पोखरा सडकखण्डको पूर्वी खण्डमा चार लेनको सडक र रंगरोगनको काम सकिएको आयोजनाले जनाएको छ ।
पूर्वी खण्डमा पर्ने मादी नदी पुल निर्माणको ८० प्रतिशत काम सकिएको छ । निर्माण कम्पनीसँग २०७७ माघ १७ मा सडक स्तरोन्नतिको ठेक्का सम्झौता भएको थियो ।
मुग्लिङ–पोखरा सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नतिको थालनी गरिएको थियो । पश्चिम खण्ड (जामुने–पोखरा)को सडक विस्तार कार्यलाई पनि तीब्रता दिइएको छ ।










