सम्पादकीय : स्मरणमा विपी र पुष्पलाल

नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा केही यस्ता व्यक्तित्व छन्, जसको योगदान समय बित्दै जाँदा झन् उजागर हुँदै गएको छ । नेपाली कांग्रेसका संस्थापक नेता जननायक विपी कोइराला र नेपाल कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ त्यस्ता दुई शिखर व्यक्तित्व हुन् । विचार, दर्शन र राजनीतिक बाटो फरक भए पनि दुवैको साझा लक्ष्य थियो– निरंकुश शासनको अन्त्य, जनताको अधिकारको सुनिश्चितता र लोकतान्त्रिक तथा समतामूलक नेपालको निर्माण। त्यसैले श्रावण ६ गते मनाइने विपी स्मृति दिवस र श्रावण ७ गते मनाइने पुष्पलाल स्मृति दिवस केवल दुई नेताको सम्झनामा सीमित हुनु हुँदैन, बरु वर्तमान राजनीतिक यात्राको समीक्षा गर्ने अवसर पनि बन्नुपर्छ । विपी कोइरालाले २००३ सालमा नेपाली कांग्रेस स्थापना गरी राणाशासनविरुद्धको आन्दोलनलाई संगठित बनाए । २००७ सालको क्रान्तिमा नेतृत्वदायी भूमिका निर्वाह गरे र २०१५ सालको पहिलो आमनिर्वाचनपछि जननिर्वाचित प्रधानमन्त्री बने । तर लोकतन्त्रको त्यो यात्रा छोटो समयमै अवरुद्ध भयो । २०१७ सालमा राजा महेन्द्रले संसद् विघटन गर्दै राजनीतिक दलमाथि प्रतिबन्ध लगाएपछि मुलुक फेरि निरंकुश शासनतर्फ फर्कियो । लोकतन्त्रका पक्षधर नेताहरू जेल, निर्वासन र भूमिगत जीवन बिताउन बाध्य भए ।

त्यसैगरी पुष्पलालले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरी नेपाली कम्युनिष्ट आन्दोलनलाई वैचारिक आधार प्रदान गरे । उनले राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र समाजवादी रूपान्तरणको पक्षमा निरन्तर आवाज उठाए । तर उनको जीवनकालमै कम्युनिष्ट आन्दोलन अनेक धारमा विभाजित हुन थाल्यो । २०३५ सालमा भारतमा उनको निधन हुँदा उनको पार्थिव शरीर स्वदेश ल्याउनसमेत अनुमति नदिइनु तत्कालीन पञ्चायती शासनको असहिष्णु चरित्रको उदाहरण थियो । तर विचारलाई सीमामा रोक्न सकिएन । विपी र पुष्पलालका विचारले नेपाली जनताको चेतनामा लोकतन्त्रको बीउ रोपिसकेको थियो । २०४६ सालको जनआन्दोलन नेपाली कांग्रेस र वामपन्थी शक्तिबीचको सहकार्यको ऐतिहासिक परिणाम थियो । त्यस आन्दोलनले बहुदलीय प्रजातन्त्र पुनःस्थापित ग¥यो । त्यसपछि देशले अनेक राजनीतिक परिवर्तन देख्यो । सशस्त्र द्वन्द्वको अन्त्य भयो, संविधानसभा गठन भयो, राजतन्त्रको अन्त्यसँगै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो र नयाँ संविधान जारी भयो । आज मुलुक संघ, प्रदेश र स्थानीय तहसहित संघीय शासन प्रणालीमा अघि बढिरहेको छ । राजनीतिक अधिकारका दृष्टिले यी उपलब्धि ऐतिहासिक हुन् ।

तर लोकतन्त्रको मूल्याङ्कन केवल संविधान र संरचनाले हुँदैन । लोकतन्त्रको वास्तविक मापन नागरिकको जीवनस्तर, सुशासन, न्याय र अवसरको पहुँचबाट हुन्छ। यही प्रश्नमा आजको राजनीति कमजोर देखिन्छ । राजनीतिक परिवर्तन भएको तीन दशकभन्दा बढी समय बितिसक्दा पनि लाखौँ युवा रोजगारीको खोजीमा विदेशिन बाध्य छन् । कृषि, उद्योग, शिक्षा, स्वास्थ्य र उत्पादनमूलक क्षेत्र अपेक्षित रूपमा अघि बढ्न सकेका छैनन्। भ्रष्टाचार, राजनीतिक अस्थिरता, सत्ता केन्द्रित सोच र दण्डहीनताले लोकतन्त्रप्रतिको जनविश्वास कमजोर बनाइरहेको छ । सरकार फेरिने क्रम जारी छ, तर शासनशैली बदलिएको अनुभूति नागरिकले गर्न सकेका छैनन् । विडम्बना के छ भने विपी र पुष्पलालले स्थापना गरेका राजनीतिक धारका दलहरू नै आज सबैभन्दा बढी आत्मसमीक्षाको घेरामा छन् । विचारभन्दा सत्ता, संगठनभन्दा गुट, सिद्धान्तभन्दा समीकरण र जनसेवाभन्दा पदको राजनीति हाबी भएको आरोप ती दलहरूले निरन्तर खेपिरहेका छन्। लोकतन्त्रलाई बलियो बनाउने जिम्मेवारी बोकेका दलहरूभित्र लोकतान्त्रिक संस्कृतिको अभ्यास नै कमजोर बन्दै जानु चिन्ताको विषय हो ।

नेपालले आज राजनीतिक अधिकार धेरै हदसम्म सुनिश्चित गरिसकेको छ । अब आवश्यकता आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई व्यवहारमा उतार्ने हो । जनताको अपेक्षा नयाँ संविधानको कार्यान्वयनसँगै गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा, रोजगारीका अवसर, उत्पादनमुखी अर्थतन्त्र र भ्रष्टाचारमुक्त शासन हो । राजनीतिक उपलब्धिलाई जनजीवनको उपलब्धिमा रूपान्तरण गर्न नसके लोकतन्त्रप्रतिको विश्वास क्रमशः कमजोर हुँदै जाने खतरा रहन्छ । स्मृति दिवसहरू इतिहास सम्झिने दिन मात्र होइनन्, भविष्य सच्याउने अवसर पनि हुन् । विपीले लोकतन्त्रलाई जनताको स्वतन्त्रता र समृद्धिसँग जोडेका थिए भने पुष्पलालले समानता, सामाजिक न्याय र जनमुखी राज्यको परिकल्पना गरेका थिए। उनीहरूको विचार आज पनि उत्तिकै सान्दर्भिक छन्। तर ती विचारलाई भाषण, गोष्ठी र औपचारिक कार्यक्रममा सीमित राखेर मात्र उनीहरूप्रति सम्मान प्रकट हुँदैन ।

 

आजको राजनीतिक नेतृत्वले विपीको लोकतान्त्रिक उदारता, राष्ट्रिय मेलमिलापको भावना, पुष्पलालको वैचारिक प्रतिबद्धता र जनताप्रतिको उत्तरदायित्वबाट सिक्न सक्नुपर्छ । सत्ता प्राप्त गर्नु राजनीति होइन, जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु नै राजनीतिको अन्तिम उद्देश्य हो भन्ने सत्यलाई पुनः स्थापित गर्नुपर्ने बेला आएको छ । विपी र पुष्पलालको स्मृति दिवस मनाइरहँदा उनीहरूको योगदानको प्रशंसा मात्र होइन, उनीहरूले देखाएको बाटोबाट हामी कति टाढा वा कति नजिक छौँ भन्ने इमानदार समीक्षा गर्नु आजको आवश्यकता हो। इतिहासले दिएका पाठलाई आत्मसात् गर्दै लोकतन्त्रलाई अझ उत्तरदायी, सुशासित र जनमुखी बनाउन सकियो भने मात्र यी दुई महान् नेताप्रति साँचो श्रद्धाञ्जलि हुनेछ। यही नै स्मृति दिवसको वास्तविक सन्देश पनि हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker