उजाडिएको मानहुँकोटमा पर्यटकको भिड देखेर दंग छिन् “मधुमाया”
'बाटो आयो, बिजुली आयो, मान्छे पनि आयो तर, पानी आएन !'
- नारायण खड्का (दमौली)
१४ वर्षको उमेरमा विवाह गरी मानहुँकोट आइपुगेकी ६० वर्षीय मधुमाया थापा यतिबेला दंग परेकी छन् । विवाह पश्चात मानहुँकोटको गाउँमा १० सन्तान जन्माएर ९ सन्तानलाई हुर्काउँदा, बढाउँदा आइपरेका दुःखपीडा अझै उनको स्मरणमा ताजै छ । बिजुली, सडक, खानेपानी, स्वास्थ्य चौकी जस्ता नागरिकका आधारभूत सेवा सहज नहुँदा बसाइ सराइले उजाडिएको मानहुँकोट क्षेत्र एकाएक चर्चित बन्यो । अहिले हजारौंको संख्यामा मानिसको चहलपहल हुँदा मधुमाया यस्तो हुन्छ भन्ने सोचेकै थिइन भन्दै दंग मात्र होइन उनी निकै रमाएकी पनि छन् ।
तनहुँको व्यास नगरपालिका-५ स्थित मानहुँमा १४ वर्षको उमेरमा विवाह गरी आएकी मधुमायाले खेतीपाती गर्दै जीवन गुजारा चलाउँदै आइन् । श्रीमानसंग बस्दै आएकी उनि समय अगाडि बढेसंगै गाउँमा यातायातका साधन चल्दा, घरमा विजुली बत्ती बाल्न पाउँदा र पर्यटकले मानहुँकोट भरिभराउँ भएको देख्दा मधुमायामा अचम्मको खुशी ल्याएको छ ।
सेवासुविधा पुग्न नसक्दा छोरानातिहरु गाउँछाडि नजिकका शहर बजार झरे । केही वर्षदेखि गाउँमा बुढाबुढिको मात्र बसोबास थियो । तर, दशै लगातै देशका विभिन्न क्षेत्रबाट मानहुँकोट घुम्न आएका आन्तरिक पर्यटकको घुइचोले उनी अहिले दङ्ग छिन् ।
दैनिक जसो हजारौंको संख्यामा मानहुँकोट घुम्न मानिसहरु आउने गरेको उनी बताउँछिन् । ‘आजभन्दा भोलि र भोलिभन्दा पर्सि पाहुँनाहरु बढ्दै आउनु भएको छ’, उनले भनिन्, ‘एकाएक यस्तो होला भनेर सोचेको पनि थिइन । पहिला थोरै आउथ्यो, दशै यता पाहुँनाहरु घुम्नको लागि आइराख्नु भएको छ तर दुइतिन दिन अलि धेरै नै पाहुँनाहरु आउनुभएको छ ।’

एकाएक मानहुँकोटमा पाहुँनाहरुको घुइचो लाग्न थालेपछि बेसी झरेका छोराबुहारीलाई पनि गाउँ फर्काउन सम्झाइएको उनले बताइन् । थापाले भनिन्, ‘सेवा सुविधाका लागि बजार झरेका गाउँका छोराबुहारीलाई गाउँ फर्किन सम्झाएका छौं । कोही त गाउँ आएर सानोतिनो व्यवसाय पनि गर्न थालेका छन् ।’
गाउँमा मान्छे आएसंगै पानी पुर्याउन दुःख भएको उनी बताउँछिन् । ‘करिव एकडेढ घण्टा लगाएर पानी बोकेर ल्याउनु पर्छ’, उनले भनिन्, ‘गाउँमा बिजुली आयो, सडक पनि आयो, उजाडिएको बस्तिमा मानिसहरु पनि आईपुगे तर पानी आउन सकेन । पानीको व्यवस्थापन भए यो गाउँ पहिलेको जस्तै हराभरा हुने थियो ।’
७० घरपरिवारको बसोवास रहेको बताइने मानहुँकोटमा अहिले ७ घरमा सिमित भएको छ । ती घर पनि कहिले ढल्ने हुन । जिर्ण बन्दै गएका छन् । खानेपानी अभावकै कारण यो गाउँ उजाडिदै गएपनि ग्रामीण पर्यटनका साथै प्राकृतिक दृष्यावलोकानका लागि उत्कृष्ट गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।
यस्तै, पहिले दैनिक जीवनचार्यको मुख्य श्रोत नै खेतीपाति रहेको र पछिल्ला समय छोरानाति बेसी झर्न थालेपछि गाउँका बारीहरु बाँझो भएको स्थानीय ५२ वर्षीया माया थापा बताउँछिन् । उनले भनिन्, ‘छोराबुहारी, नातिनातिना बजार झरे गाउँमा भएका हामी बुढाबुढिले पहिलेजसरी खेतिपाति गर्न कहाँ सक्छौं -‘
३ भाई छोरा जन्माएको बताउँदै थापाले भनिन्, ‘कान्छो छोरो यहि छ, माहिलो छोरो बैदेशिक रोजगारीमा गएको र बजार झरेको जेठो छोरोबुहारी पनि यहाँ मानिसको चहलपहल सुरु भएपछि गाउँ नै फर्किने तयारीमा छन् ।’ पर्यटकीय गतिविधि बढेसंगै गाउँमा सेवासुविधा पनि थपिए फेरि पहिलेको जस्तै हराभरा भई मानहुँकोट ग्रामीण पर्यटकीय क्षेत्रको रुपमा विकास हुन मद्दत पुग्ने उनले बताइन् ।
कोरोना भाइरसका कारण ७ महिनादेखि घरमै थुनिएर बसेका मानिसका लागि यतिबेला मानहुँकोट आकर्षामा परेको छ । दैनिक हजारका संख्यामा आन्तरिक पर्यटकहरु मानुङकोटबाट सुर्योदय, बिहानीपखाको कुहिरो, हिमाल र यहाँबाट देखिने आकर्षक दृश्य अवलोकनका लागि आउने गर्दछन् । पोखरा, काठमाडौं, नुवाकोट, पाल्पा लगायतका ठाउँबाट पर्यटकहरु आउने गरेका छन् । दमौलीबाट करिव ६ किलोमिटर दुरीमा रहेको मानहुँकोट क्षेत्रमा विशेषगरी मगर समुदायको बसोबास रहेको छ । पहिले ७० घरधुरी रहेको यस क्षेत्रका बासिन्दा सेवासुबिधाको खोजिमा बजार झर्न थालेपछि ७ घरधुरीमा सिमित बनेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए ।
‘पहिले एक/दुइ सय पर्यटकहरु मानहुँकोटमा दृश्यावलोकनका लागि आउनेमा दशैयता पर्यटकीय गतिविधि हत्तै बढेको छ’, उनले भने, ‘लामो समय घरमै बसेको भएर होला अहिले दिनमै हजारको संख्यामा पर्यटकहरु मानुङकोट आउन थाल्नु भएको छ ।’
अचानक पर्यटकको चहलपहल बढ्दा व्यवस्थापनको पाटो जटिल बन्दै गएको बताउँदै वडाध्यक्ष श्रेष्ठले भने, ‘कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै अब दिनमा ३ सय पर्यटकलाई मात्र मानहुँकोटबाट दृश्यावलोकनका लागि प्रवेश अनुमति प्रदान गरिने छ ।’ त्यस्तै, मानहुँमा सार्वजनीक शौचालय निर्माण लगायतका अन्य अत्यावश्यक भौतिक संरचना निर्माण गर्न तत्काल २५ लाख रुपैया बजेट नगरपालिकाले विनियोजन गरेको वडा कार्यालयले जनाएको छ ।
यस्तै, मानहुँको खानेपानी समस्या समाधानका पहल भइरहेको छ भने यहाँको जग्गा विकासका लागि काम पनि अगाडि बढाइएको छ । नगरपालिकाले आगामि पौष मसान्तसम्म यहाँ कुनै जग्गाको कारोबार गर्न रोक लगाएको छ ।










