व्यासको जन्मभूमि दमौलीको प्रचार–प्रसार गर्न एकमहिने महामिलन पर्व

व्यासको जन्मभूमि दमौलीको प्रचार–प्रसार गर्दै धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित दमौलीमा एकमहिने हिन्दू महामिलन पर्व हुने भएको छ । अठाइसौ श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरण भूमिको प्रचार–प्रसारका लागि वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा विश्व ओमकार तथा हिन्दू महामिलन पर्व हुन लागेको हो ।

महामिलन पर्व आउँदो कात्तिक १ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रतिष्ठानका उपाध्यक्ष दुर्गाभक्त अधिकारीले जानकारी दिनुभयो । व्यासभूमिलाई ओमकार तथा सनातन धर्मावलम्बीहरूको धार्मिकस्थल बनाउन एकमहिने अखण्ड हरिनाम सङ्र्कीतन एवं एक सय आठ दीप प्रज्ज्वलन गरिने उहाँले बताउनुभयो ।

उक्त कार्यक्रममा मुक्तिनाथ पीठका पीठाधीश अनन्त श्रीविभूषित स्वामी कमलनयनाचार्यको उपस्थिति रहनेछ । त्यसक्रममा पितृ उद्धारका लागि सवा लाख दीप प्रज्ज्वलन गरिनेछ । यसअघि व्यासभूमिमा शान्ति स्वरुपानन्द दामोदर बाबाको सत्सङ्कल्प र संरक्षक गोविन्द बाबाको तथा वेद अनुयायी प्रतिष्ठानको आयोजनामा १८ महिनासम्म कथावाचन भई प्रथम ऐतिहासिक १८ महिने अखण्ड हरिनाम सङ्र्कीतन एवं एक सय आठ श्रीमद्भागवत ज्ञान महायज्ञ र भूमिपूजन सम्पन्न भइसकेको छ ।

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको व्यासभूमि ओझेलमा परेको महसुस गरिएको उहाँले बताउनुभयो । उहाँ भन्नुभयो, “पूर्वीय साहित्यका महाकवि वेदव्यासले यही भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेको दाबी र विभिन्न स्रोतले प्रमाणित गरे पनि व्यासभूमिको उचित प्रसार–प्रसार हुनसकेको छैन ।”

व्यासभूमिलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित व्यास क्षेत्र विकास कोषको सक्रियतामा एक सय आठ फिट व्यासको मूर्तिका लागि आवश्यक पूर्वाधार निर्माण काम सुरु गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र व्यास नगरपालिकाबीच सम्झौता भई पहिलो चरणमा रु पाँच करोड ८४ लाख ८४ हजार ५२ को लागतमा मूर्ति अड्याउने स्तम्भ निर्माणको काम भइरहेको छ । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समपूरक अनुदान रु तीन करोड ८० लाख १४ हजार छ सय ३३ रहेको छ भने व्यास नगरपालिकाले रु दुई करोड चार लाख ६९ हजार चार सय १९ लागत साझेदारी गरेको छ ।

व्यासको जन्मभूमि दमौलीमा शिवपञ्चायन मन्दिर छ । मन्दिरको केही तलपट्टि व्यासगुफा छ । जहाँ बसेर व्यास ऋषिले चारवेद र अठार पुराणको रचना गरेको दाबी गरिन्छ । व्यास गुफाको पारिपट्टि परासर गुफा छ । परासर गुफासम्म पुग्नका लागि मादी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । व्यासगुफासम्म घुम्न आएकाहरू पुल तरेर परासर क्षेत्र पनि पुग्ने गरेका छन् ।

व्यासभूमिलाई अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउँदै धार्मिक गन्तव्य बनाउन विविध कार्यक्रम हुँदै आएको छ । विसं २०४१ मा योगी नरहरिनाथले कोटीहोम लगाउने सिलसिलामा भएको धर्मसभामा महर्षि वेदव्यासको अवतरण भूमि दमौलीस्थित शुक्लामाहेन्द्री सङ्गम भएको भनाइ व्यक्त गर्नुभएको थियो ।

करिब पाँच हजार पाँच सय वर्ष अगाडि व्यासको यस क्षेत्रमा अवतरण भएको धार्मिक विश्वास छ । व्यास ऋषिको जन्मबारेको प्रसङ्गमा दमौलीदेखि आठ किमीपूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिमपट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको थियो, माछाको रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छेकुण्ड रहन आएको बताइन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker