तनहुँसुर मेलामा दश हजार आन्तरिक पर्यटक
सानेबहादुर नेपाली (तनहुँ)
व्यासनगरपालिका-११ स्थित ऐतिहासिकस्थल तनहुँसुरमा आयोजना गरिएको पर्यटन सम्पदा वातावरण मेलामा करीब १० हजार आन्तरिक पर्यटकले अवलोकन गरेका छन् । आइतबार र सोमबार गरी दुइ दिनको अवधिमा विभिन्न क्षेत्रबाट तनहुँसुरमा रहेको ऐतिहासिक सम्पदाको अवलोकन तथा मेला हेर्नका लागि आन्तरिक पर्यटक गएका हुन् ।
उक्त कार्यक्रममा तनहुँका विभिन्न क्षेत्र, छिमेकी गोरखा, लमजुङ, कास्कीलगायतका स्थानबाट आन्तरिक पर्यटकको आगमन रहेको आयोजक समितिले बताएको छ । बसाइँसराइले उजाड बन्दै गएको तनहुँसुर क्षेत्रलाई पुनः हराभरा बनाउन र यहाँका विविधताको प्रचारप्रसार गर्ने उद्देश्यले यही वैशाख ५ देखि ७ गतेसम्म उक्त मेला महोत्सवको आयोजना गरिएको हो ।
दोस्रो दिन सोमबारको कार्यक्रममा गण्डकी प्रदेश सभासदस्य सरिता गुरुङले तनहुँसुरको पर्यटन विकासका लागि गण्डकी प्रदेश सरकारबाट सक्दो पहल कदमी थालिने बताउनुभयो । उहाँले ऐतिहासिक सम्पदा राष्ट्रको सम्पत्ति भएकाले यसको संरक्षण सम्वर्द्धन गर्दै पर्यटकीय गन्तव्यस्थलका रूपमा परिचित गराउन लाग्नुपर्नेमा जोड दिनुभयो ।
उक्त स्थलमा पुरातात्विक विभागले तनहुँसुरमा पछिल्लो समय भएका गतिविधिको फोटो प्रदर्शनी तथा ऐतिहासिक सम्पदाको फोटो प्रदर्शनी गरेको थियो । उक्त मेलामा स्थानीय समुदायको आयोजनामा प्राङ्गारिक खानाको परिकारले पाहुनालाई स्वागत सत्कार गरिएको थियो । सेलरोटी, तरुल, भ्याकुर, गुन्दु्रक, भट्ट, मकै, सिस्नोको सुप, लोकल कुखुराको मासु, फापर, टर्की, सुँगुरको अधिकतम प्रयोग गरी पकाइएका परिवार कक्षमा समावेश गरिएको थियो ।
वडाध्यक्ष निरबहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हालै निर्वाचित बन्नुभएका तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, नवनिर्वाचित दमौली बजार एकाइका सभापति भुपाल आले, व्यास-२ का वडाध्यक्ष काशीराम श्रेष्ठलगायतका वक्ताले तनहुँसुरको मुहार फेरिने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । स्थानीय तनहुँसुर देवस्थल सामुदायिक होमस्टे र तनहुँसुर सामुदायिक होमस्टेद्वारा आयोजित मेलाको संरक्षकमा व्यास नगरपालिका र भानुनगरपालिका कार्यालय रहेका छन् भने सहआयोजकमा स्थानीय सात वटा सामुदायिक वन उपभोक्ता समिति रहेका छन् ।
पर्यटकीयस्थलमा चहलपहल घट्दै
कोभिड-१९ को संक्रमण पुनःदेखिन थालेसँगै नेपाल सरकारले भीडभाड नगर्ने, सामाजिक दूरी कायम गर्नेलगायतका निर्देशन जारी गरेपछि तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल घट्न थालेको छ ।
जिल्लाको मानुङकोट, बन्दीपुर, आँधीमूल मन्दिर, छाब्दी बाराही मन्दिर, तनहुँ कालिका, अकला देवी मन्दिर, थानीमाई, छिम्केश्वरी, तनहुँसुरलगायतका धार्मिक, ऐतिहासिक र सांस्कृति क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल घट्न थालेको हो । छोटो अवधिमा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको परेवा डाँडा पुनः कोरोनाको हल्ला चल्न थालेपछि पर्यटकको आगमनमा कमी हुन थालेको छ । तनहुँको व्यास-१० स्थित ऐतिहासिक परेवा डाँडामा परेवाको मूर्ति निर्माण गरेर संरक्षण गर्न थालेपछि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।
व्यास-५ स्थित मानहुँकोट डाँडा एकाएक चर्चामा आएपछि परेवा डाँडामा पनि पर्यटकहरुको आर्कषण बढ्दै गएको थियो । उक्त वडास्थित मादीनदीस्थित पहरामा परेवा बस्ने गरेको र पछिल्लो समय लोप हुँदै गएको थियो । पछि उक्त स्थानको नाउँ नै परेवाडाडाँ हुन गएको किंवदन्ती रहिआएको छ । पछिल्लो समय गुलेली र बम हान्ने जस्ता कार्यले परेवा विस्थापित हुँदै गएकाले त्यसलाई जीवन्त राख्न व्यास नगरपालिकाले परेवाको मूर्ति निर्माण गरेर संरक्षण गर्न थालेपछि पर्यटकको चहलपहलमा वृद्धि भएको थियो ।
परेवाको मूर्ति निर्माण गरिएपछि दिनमा ८० देखि १५० सम्म जोडी आएर फोटो खिच्ने, सेल्फी लिने र टिकटक बनाउनेलगायतका कार्यका लागि जाने गरे पनि पछिल्लो समय घट्दै गएको वडाध्यक्ष तुलसीराम सापकोटाले बताउनुभयो । उहाँका अनुसार नेपाल सरकारले भीडभाड नगर्ने सामाजिक दूरी कायम गर्ने लगायतका निर्देशन जारी गरेपछि पर्यटकहरुको आगमनमा हृवात्तै घटेको हो । उक्त स्थानबाट मादीनदीको पानी कलकल बगेको आवाज, मनासलु, अन्नपूर्ण लगायतका दृश्य अवलोकन, गलेखामकोट, मानहुँकोट, काहुँडाँडा दुम्सीकोट कालिका मन्दिर, क्यामिनकोट कालिका, कलेस्ती फाँट, तनहुँ कालिका र दमौलीका केही भागलगायतका ऐतिहासिक एवं धार्मिकस्थलको अवलोकन गर्न सकिनेछ ।
‘नजिकको तीर्थ हेला भनेजस्तो भएको छ’, वडाध्यक्ष सापकोटाले भन्नुभयो, ‘यहाँको प्रचुर सम्भावना हुँदाहुँदै पनि हामीले बेवास्ता गरेका कारण ओझेलमा पर्दै गएकाले संरक्षण गरिएको हो।’ त्यसैगरी सोही स्थान नजिकै व्यक्तिको निजी खर्चमा निर्माण गरिएको फनपार्कमा समेत पर्यटकको आगमनमा कमी हुन थालेको पिजनहिल टिकटक पार्क प्रालिका सञ्चालक विवेक सापकोटाले बताउनुभयो ।
परेवा डाँडा र टिकटक पार्कमा आन्तरिक पर्यटकको उल्लेखनीय आगमन हुने गरे पनि पुनः कोरोनाको हल्लाले पर्यटकको सङ्ख्या हृवात्तै घटेको उहाँले जानकारी दिनुभयो । उक्त पार्कमा बच्चा, वयस्कदेखि वृद्धवृद्धाले मनोरञ्जन लिनसक्ने व्यवस्था छ । उहाँले कोरोनाको हल्लासँगै कर्मचारीलाई तलब खुवाउन पनि धौ धौ हुन थालेको दुखेसो पोख्नुभयो । अघिल्लो वर्ष कोरोनाले करिब सात महिना थला परेको व्यवसायी केही महिना तङ्ग्र्रिन थाले पनि पुनः उस्तै समस्या भोग्नुपर्ने देखिएको उहाँले बताउनुभयो । बन्दीपुरमा नयाँ वर्षो दिन उल्लेखनीयरूपमा पर्यटकको आगमनका साथै रमाइलोमा रम्ने गरे पनि त्यसपछि पर्यटकको सङ्खया क्रमिकरूपमा घट्दै गएको पर्यटन व्यवसायी बैश गुरुङले बताउनुभयो । रासस










