बन्दिपुरका होटल व्यवसायीलाई एक दिने खाद्य स्वच्छता तालिम
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको पर्यटकीय नगरी बन्दिपुरका होटल तथा होमस्टे सञ्चालकलाई खाद्य स्वच्छता सम्बन्धी एक दिने तालिम प्रदान गरिएको छ । ‘खाद्य पदार्थमा स्वच्छता हामी सबैको प्रतिवद्धता’ भन्ने मुल नाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय तनहुँले व्यवसायीहरुलाई उक्त तालिम प्रदान गरेको हो ।
तालिममा खाद्य प्रविधि कार्यलयका प्रमुख प्रशान्त पोख्रेलले मानिसको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको खानेकुरामा गम्भीर हुन सबैलाई आग्रह गरे । उनले होटलमा बास बस्न आउने ग्राहकलाई कसरी गुणस्तरीय खानेकुरा प्रदान गर्न सकिन्छ र होटलको सरसफाइमा कसरी दुरुस्त राख्न सकिन्छ भन्ने विषयमा व्यवसायी सधै सचेत बन्नुपर्ने बताए ।
क्षेत्रीय होटल संघ बन्दिपुर बजार इकाईका सभापति संगिता प्रधानले तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतारी स्वच्छ, सफा र गुणस्तरीय खानपिनको व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन । संघका जिल्ला उपाध्यक्ष बिपिन प्रधानले सिकेका कुराहरू ब्यबहारमा उतार्दै होटल, रेष्टुरेन्ट तथा होमस्टेलाई सफा राख्नुपर्ने बताए ।
होटल व्यवसायीले गुणस्तरीय खानेकुरा दिन्छौं तर हामीले बजारमा खरिद गर्ने सामानहरू पनि गुणस्तरीय हुनुपर्ने उनले बताए । बन्दिपुर स्वदेश तथा बिदेशबाट पर्यटकहरू आउने प्रख्यात ठाउँ भएकाले पनि यहाँको गरिमालाई खस्कन नदिई गुणस्तरीय सेवा प्रवाह गर्न सहभागि व्यवसायीहरुले जोड दिएका थिए ।










