एआई प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण, एक जनामा क्षयरोग पुष्टि

भिमाद : तनहुँको भिमाद नगरपालिकाअन्तर्गत किहु स्वास्थ्य चौकीमा एआई प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण शिविर सञ्चालन गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाद्वरा सञ्चालन उक्त शिविरमा लक्षित समूहका १५२ जनाले सेवा लिएका छन् । परीक्षणका क्रममा एक जनामा क्षयरोग (टीबी) पोजिटिभ पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ ।
त्यसैगरी, आठ जना शंकास्पद बिरामीहरूको खकार नमुना थप परीक्षणका लागि पोखरास्थित प्रादेशिक रोग नियन्त्रण केन्द्र पठाइएको छ । स्वास्थ्यकर्मीहरूका अनुसार आधुनिक एआई प्रविधिको प्रयोगबाट छातीसम्बन्धी रोग, विशेषगरी क्षयरोगको प्रारम्भिक पहिचान गर्न सहज भएको छ। यसले समुदायमा रोग नियन्त्रण तथा समयमै उपचारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।
भिमाद नगरपालिकाले समुदायको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता प्रविधिमैत्री कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ । यसैबीच, लामो समयसम्म खोकी लाग्ने, ज्वरो आउने, तौल घट्ने जस्ता लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराउन स्वास्थ्य शाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।









