आदिकवि भानुभक्त क्याम्पसमा अग्निसमन यन्त्रसम्बन्धी अभिमुखीकरण

दमौली : तनहुँको व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा अग्निसमन यन्त्र (फायर एक्सटिङगुएसर) र यसको प्रयोग विधिसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूका साथै सोही परिसरमा सञ्चालन भइरहेको आदिकवि भानुभक्त माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागितामा उक्त अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा आगलागीका बेला अपनाउनुपर्ने सावधानी र फायर एक्सटिङगुएसरको सही प्रयोगबारे विज्ञ मनिष विकले प्रत्यक्ष प्रदर्शनीका माध्यमबाट प्रशिक्षण दिएका थिए । सहभागीहरूले फायर एक्सटिङगुएसरको प्रयोग प्रक्रिया प्रत्यक्ष अवलोकन तथा अभ्यास गर्ने अवसर प्राप्त गरेका थिए ।
क्याम्पसले विगत पाँच वर्षदेखि आगलागी नियन्त्रण तथा सुरक्षाको उद्देश्यले आदिकवि भानुभक्त क्याम्पस र सहिद चन्द्र नेपाली छात्रावाससहित पाँचवटा भवनमा फायर एक्सटिङगुएसरका सिलिन्डरहरू जडान गर्दै आएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।
क्याम्पस प्रशासनका अनुसार यस्ता अभिमुखीकरण कार्यक्रमले आगलागीका सम्भावित जोखिम घटाउनुका साथै आपतकालीन अवस्थामा सतर्कता र तदारुकता बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।










