कलेस्तीस्थित वडा कार्यालय भवनमा व्यासको सार्वजनिक सुनुवाइ

दमौली : व्यास नगरपालिकाले आफ्नो सेवा प्रवाह, विकास निर्माण र नीति कार्यान्वयनको अवस्थाबारे नागरिकलाई जानकारी गराउने उद्धेश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ । चैत २० गते शुक्रबार बिहान ११ बजे व्यास नगरपालिका–७ कलेस्तीस्थित वडा कार्यालय भवनमा उक्त कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाको समन्वयमा आयोजना हुने सार्वजनिक सुनुवाइमा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय, नागरिक समाज, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहनेछ ।
व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ का लागि पारित बजेट, नीति तथा कार्यक्रमहरूको कार्यान्वयन अवस्थाबारे चौमासिक अवधिमा भएका प्रगतिको समिक्षा गरिनेछ । विकास निर्माणका योजना, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा भएका कामहरूको विस्तृत विवरण प्रस्तुत गरिने उहाँले बताउनुभयो ।
सुनुवाइ कार्यक्रममा सेवाग्राहीहरूले प्रत्यक्ष रूपमा आफ्ना गुनासा, जिज्ञासा तथा सुझाव राख्न सक्ने व्यवस्था मिलाइएको छ । प्राप्त सुझाव र गुनासालाई आगामी योजना निर्माण तथा सेवा सुधारमा समेट्ने नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा राजश्व संकलनको अवस्था, बजेट खर्चको पारदर्शिता, सेवा प्रवाहमा देखिएका समस्या तथा सुधारका पहलहरूबारे छलफल एवं अन्तरक्रिया हुनेछ । नागरिकको प्रत्यक्ष सहभागितामार्फत स्थानीय सरकारलाई थप उत्तरदायी र पारदर्शी बनाउने लक्ष्यसहित यस्तो कार्यक्रम आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत लम्सालले सार्वजनिक सुनुवाइलाई प्रभावकारी बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै नागरिकलाई कार्यक्रममा उपस्थित भई आफ्नो सुझाव राख्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक सुनुवाइले स्थानीय सरकार र नागरिकबीचको दूरी घटाउने, विश्वास बढाउने र सेवा प्रवाहलाई अझ गुणस्तरीय बनाउने महत्वपूर्ण माध्यमका रूपमा काम गर्छ ।”
व्यास नगरपालिकाले विगत वर्षहरूमा पनि नियमित रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्दै आएको र त्यसबाट प्राप्त सुझावका आधारमा विभिन्न क्षेत्रमा सुधारका प्रयासहरू अघि बढाइएको जनाएको छ ।










