तनहुँको आँबुखैरेनीमा विद्यालय नेतृत्वसम्बन्धी कार्यशाला

आँवुखैरेनी : विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा सिकाइ उपलब्धि बढाउन विद्यालय नेतृत्वको भूमिका प्रभावकारी बनाउने उद्देश्यले तनहुँको आँबुखैरेनी गाउँपालिकामा सिकाइ नेतृत्वसम्बन्धी एकदिने कार्यशाला गरिएको छ ।
सहकार्यात्मक विद्यालय सञ्जाल र आँबुखैरेनी गाउँपालिकाको संयुक्त आयोजनामा सोमबार आयोजित कार्यशालामा गाउँपालिकाअन्तर्गत सञ्जालसँग आबद्ध विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, पाठ्यक्रम व्यवस्थापक तथा सूचना अधिकृतहरूको सहभागिता रहेको शिक्षा शाखा प्रमुख निर्मला कुँवारले जानकारी गराइन् ।
…चिन्तनदेखि नेतृत्वसम्मÚ विषयमा केन्द्रित कार्यशालामा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रभावकारी व्यवस्थापन, सिकाइ उपलब्धिमा सुधार तथा विद्यालय रूपान्तरणका लागि आवश्यक शैक्षिक नेतृत्वका विषयमा छलफल गरिएको उनले जनाइन्। प्रमुख कुवाँरका अनुसार सहभागीहरूले विद्यालय नेतृत्वका विभिन्न आयाम, शैक्षिक सुधारका असल अभ्यास, कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी कार्यदिशाबारे अनुभव आदानप्रदान गरेका थिए ।
कार्यशालामा सरस्वती निकेतन माध्यमिक विद्यालयकी प्रधानाध्यापक एवं सहजकर्ता रबीना महर्जन, सहकार्यात्मक विद्यालय सञ्जालका निर्देशक राजन महर्जन, नगरपालिका व्यवस्थापक तृष्णा कँडेल, विद्यालय नेता सौरभ बतास र सिकाइ रूपान्तरण नेता टेकबहादुर कार्कीले सहजीकरण गरेका थिए ।
सहजीकरणका क्रममा विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय पक्षलाई प्रभावकारी बनाउन विद्यालय नेतृत्वले निर्वाह गर्नुपर्ने भूमिका, सिकाइ सुधारका रणनीति तथा विद्यालयमा व्यवहारतः प्रयोग गर्न सकिने असल अभ्यासबारे छलफल गरिएको थियो । विद्यालयमा भइरहेका अभ्यास, सुधारका सम्भावना र नेतृत्वका क्रममा देखिने चुनौतीबारे सहभागीहरूबीच अन्तरक्रियासमेत गरिएको थियो ।
कार्यशालाले विद्यालय नेतृत्वलाई प्रशासनिक जिम्मेवारीमा मात्र सीमित नराखी सिकाइ सुधारको नेतृत्वकर्ता तथा विद्यालय रूपान्तरणको आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ। सिकाइ सुधारका लागि नेतृत्व, प्रभावकारी नेतृत्वका लागि निरन्तर चिन्तन र विद्यालय रूपान्तरणका लागि सहकार्य आवश्यक रहेको सन्देश कार्यशालाले दिएको प्रमुख कुवाँरले जानकारी गराइन् ।
विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक तथा अन्य नेतृत्व तहका व्यक्तिको क्षमता विकास महत्वपूर्ण हुने भएकाले यस्ता कार्यक्रमले विद्यालय नेतृत्वलाई थप प्रभावकारी बनाउन तथा विभिन्न विद्यालयका असल अभ्यास आदानप्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।










