विद्यालयकी लेखापालले तातो पन्युले विद्यार्थीको गाला डामिन, बालबालिका विरुद्धको कसुरमा अनुसन्धान गरिदै

भिमाद : कक्षा कोठामा हल्ला गरेको भन्दै भिमाद नगरपालिकास्थित एक निजी विद्यालयकी लेखापालले चार कक्षामा अध्ययनरत चार जना विद्यार्थीको गालामा तातो पन्युले डामीदिएकी छिन् ।
तनहुँको भिमाद नगरपालिका–६ स्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी लेखापाल सुष्मा श्रेष्ठले पन्यु तताएर विद्यार्थीको गालामा डामेर यातना दिएकी हुन् । विद्यालयका संस्थापक प्रिन्सिपल कृष्णदेव श्रेष्ठकी छोरी समेत रहेकी लेखापाल श्रेष्ठले जिस्क्याएको तथा हल्ला गरेको भन्दै ४ जना विद्यार्थीको गालामा तातो पन्युले डामेको बताइएको छ ।
विद्यालय सञ्चालक तथा प्रिन्सिपलकै छोरीबाट भएको यस्तो अमानवीय कामको अभिभावक तथा विद्यार्थीले चर्को आलोचना गरिरहेका छन् । आफ्नो प्रिन्सिपल बुबा उपस्थित नभएर विद्यालयकै ‘कमाण्ड’ सम्हालेकी श्रेष्ठले घरबाटै पन्यु ल्याई तताएर विद्यार्थीलाई डामेकी बताइएको छ । डामिएका विद्यार्थी सबै १० वर्ष उमेरका छन् ।
विद्यार्थीले हल्ला गर्न थालेपछि शिक्षक सुष्मा श्रेष्ठले सुरुमा विद्यार्थीहरुलाई पिटेकी थिइन् । सोही क्रममा एक विद्यार्थीले आफूलाई जिस्क्याएको भन्दै शिक्षकले चार विद्यार्थीको गालामा तातो पन्युले डामिदिएपछि ४ विद्यार्थीमध्ये दुई विद्यार्थीको गालामा पन्युले डामेको निलडाम बसेको छ ।
पीडित विद्यार्थीकी एक अभिभावकले भञ्ज्याङसंग मंगलबार करिब १२ बजेतिर पीडक मिसले नै फोन गरेर हजुरको बच्चा हल्ला गरेकाले मैले तातो पन्युले हिर्काएको थिएँ, धेरै त केही भएको छैन कालो टाटा बसेको छ भनेपछि आफू विद्यालय पुगेको बताइन् । उनले भनिन्, ‘यो भन्दा अघि पनि मेरो छोराले हल्ला ग¥यो भन्दै तातो पानीमा हात हाल्दिएँ भन्दै आफै ती मेडमले फोन गर्नुभएको थियो ।’
घटनाबारे अरुलाई केही नभन्नु भनेर शिक्षकले भने पनि उनले आफू चुप नबसेको ती अभिभावकले बताइन् । उनले भनिन्, ‘डामदिएको सुनेपछि म तुरुन्तै विद्यालय पुगेर सोधखोज गर्न लागे, त्यसपछि हामी नै उपचार गर्दिन्छौं, यो घटनालाई विद्यालयमै मिलाउ भन्न थाले ।’
अर्का पीडित विद्यार्थीका अभिभावकले राम्रो शिक्षा हासिल होस् भनि महँगो शुल्क तिरेर बोर्डिङमा पढ्न पठाएको छोरामाथि यस्तो कुटपिट भएको बताइन् । उनले भनिन्, ‘बच्चाहरु हल्ला गर्छन्, चकचक पनि गर्छन् । उनीहरुलाई सम्झाउनुपर्छ, बुझाउनुपर्छ यसरी कुटपिट गर्न भने हुँदैन ।’
शिक्षकले पीडित विद्यार्थीसामु माफी माग्नुपर्ने र विद्यालयबाट निकाल्नुपर्ने पीडित विद्यार्थीका अभिभावकहरुको माग छ। एक अभिभावकले भनिन्, ‘हामीलाई मिलाउन खोजिरहेका छन्। के गर्ने हामीलाई त्यति थाहा पनि छैन तर पीडकलाई कानुन बमोजिम सजय हुनुपर्छ भन्ने हाम्रो माग छ ।’
पीडक लेखापाललाई बुधबार बिहानै इलाका प्रहरी कार्यालय भिमादले पक्राउ गरेको छ । प्रधानाध्यापक श्रेष्ठले बच्चालाई सचेत गराउँछु भन्दा हुनु नपर्ने घटना भएको बताए । उनले भने, ‘ठूलो घाउचोट केही नदेखिएकाले नजिकैको आयुर्वेदिक औषधालयमा ती विद्यार्थीको प्राथमिक उपचार गरिएको छ । उपचारको सबै खर्च विद्यालयले नै बेहोरेको छ ।’ लेखापालले आफूले गल्ती गरेको र आवेशमा आएर गर्न नहुने काम गरेको कुरा विद्यालयमा बताएको विद्यालयका प्रधानाध्यापक श्रेष्ठले बताए ।
विद्यार्थीलाई सुधार गर्छु भन्दै नयाँ टेक्निक ल्याउँदा, बिग्रिएको बताउँदै प्रधानाध्यापकले भने, ‘यो हाम्रै कमजोरी हो । पीडकलाई जागिरबाट निकाल्ने छौं । यो पहिलो घटना हो, अब दोहोरिन दिने छैनौं ।’
यस्तै, विद्यालय स्रोतका अनुसार शिक्षिका र बालकहरू छिमेकी हुन् । विद्यालय जाँदा–आउँदा सँगै हुने र बच्चाहरूले लेखापाल श्रेष्ठलाई जिस्क्याउने गर्थे । बच्चाहरूले जिस्क्याउँदै ‘काली’, ‘च्याखुरी मिस’ जस्ता शब्दहरू भन्ने गरेको भन्दै उनले घरबाटै पन्यु ल्याएर तताएर डामेको एक शिक्षकले बताए ।
अवोध बालकले मुख लगायो, हल्ला ग¥यो भनेर पन्यु तताएर गाला डाम्नु बर्बर यातना भएको अभिभावकले बताइरहेका छन् । गाला डामिएका बालकका अभिभावकले विद्यालयमा जघन्य अपराध भएको गुनासो गरेका छन् ।
यस्तै, भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदीले घटनाबारे अनुसन्धान गर्नका लागि एउटा कार्यदल नै गठन गर्ने तयारी रहेको बताए । शिक्षा शाखा प्रमुख सन्दीप पौडेलको संयोजकत्वमा अध्ययन कार्यदल बनाउने तयारी भइरहेको उनले जानकारी गराए ।
घटनाको प्रकृति हेर्दा तयारीका साथ डामिएकै देखिने नगरप्रमुख सुवेदीले बताए । ‘अभिभावक प्रहरीकोमा जानुभएको छ । प्रहरीबाट पनि कानुनी कारबाहीको प्रक्रिया सुरु हुन्छ र नगरपालिकाको तर्फबाट पनि अध्ययनका लागि कार्यदल बनाउँछौं’, उनले भने, ‘ती बालक र लेखापालसमेत रहेकी सञ्चालकको छोरी जाने आउने क्रममा जिस्क्याउने गरेको बताइएको छ । तर तयारीका साथ नै घटना घटेको बुझिन्छ ।’
घरबाटै पन्यु ल्याएर तताएर डाम्नका लागि केही समय आवश्यक पर्ने भएकाले हल्ला गरेको वा जिस्क्याएका कारण विद्यालयमा तत्काल हुने कारबाहीजस्तो नदेखिएको र तयारीकै साथ डामिएको देखिएको छ ।
घटना सार्वजनिक भएपछि विभिन्न विद्यार्थी संगठनले त्यसको विरोध गरेका छन् भने नगरप्रमुख सुवेदीसँग विद्यालयहरूमा हुने कारबाहीको अनुगमन तथा कारबाहीका लागिसमेत माग गरेका छन् । केही विद्यार्थी र अभिभावकले भिमाद बजारमा घटनाको विरोधमा ¥यालीसमेत गरेका छन् ।
पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिदै
विद्यार्थीलाई पन्युले डामेर घाइते बनाउने लेखापाल विरुद्ध पाँच दिनको म्याद थप गरिएको छ । विद्यालयकी शिक्षिका एवं लेखापाल भिमाद–६ निवासी ३४ वर्षीय सुष्मा श्रेष्ठविरुद्ध प्रहरीले पाँच दिनको म्याद थप गरेको जनाएको छ ।
बालकहरूको अभिभावकबाट जाहेरी लिई निज लेखापाल एवं शिक्षिका श्रेष्ठलाई बुधबार नियन्त्रणमा लिइ बालबालिका विरुद्धको कसुरमा तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजु अधिकारीले बताए ।
मंगलबार विद्यालय समयमा होहल्ला गरेको भनी सजाय दिने क्रममा श्रेष्ठले तातो पन्युले हान्दा चार जना घाइते भएको उनको भनाइ छ । उनले भने, “नाम गोप्य राखिएको एक जना बालकलाई खाना पकाउने तातो पन्युले गालामा डाम्दा घाइते भएको भनि सामाजिक सञ्जालमा प्रशारण भए पश्चात सो घटनाको सम्बन्धमा बुझ्दा अन्य नाम गोप्य राखिएको दुई जना समेत पीडित भएको खुल्न आएको छ ।”










