होटल व्यवसायी संघ तनहुँको वार्षिक साधारण सभा

दमौली : होटल व्यवसायी संघ तनहुँको शनिबार छैटौँ वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । संघका अध्यक्ष गिरीबहादुर थापाको अध्यक्षतामा आयोजित साधारण सभालाई सम्बोधन गर्दै होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष दुर्गाविलास भट्टराईले होटल व्यवसायलाई मर्यादित र व्यवस्थित पेशाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
‘व्यवसायीलाई आवश्यक सचेतनामूलक तालिम प्रदान गरी बालश्रममुक्त तथा खाद्य स्वच्छतायुक्त व्यवसाय सञ्चालन गर्नुपर्दछ’, उनले भने, ‘ज्ञानको कमीका कारण कतिपय व्यवसायी कानुनी रूपमा समेत चुक्ने अवस्था छ । त्यसैले तालिम र सचेतनामार्फत व्यवसायीलाई सक्षम बनाउन आवश्यक छ ।’
कार्यक्रममा होटल व्यवसायी महासंघका निवर्तमान केन्द्रीय सदस्य एवं संघका पूर्वअध्यक्ष प्रेमकुमार श्रेष्ठ, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठ तथा इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठ लगायतले व्यवसायिक एकता र सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
वक्ताहरुले व्यवसायीबीचको एकताले आर्थिक गतिविधि विस्तार र स्थानीय विकासमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे ।










